गत भदौ २४ गते आफ्नै मुख्यालयअगाडि रहेको सिंहदरबार र सर्वोच्च अदालतल तथा चौबीसै घण्टा सेना थैनाथ हुने राष्ट्रपति कार्यालयगायत सरकारी संरचनामा आगजनी हुँदा मौन बसेको आरोप लाग्दै आएको नेपाली सेनाले फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचन भने सुरक्षित तवरले सम्पन्न गर्न मातहतका अधिकृतहरुलाई निर्देशन दिएको छ ।नेपाली सेनाको जंगी अड्डामा दुई दिनसम्म चलेको पृतनापति समन्वयात्मक बैठकको समापनाको अवसरमा सेनापति अशोकराज सिग्देलले सबैपक्षसँग समन्वय गरी सुरक्षाको वातावरण बनाउन निर्देशन दिएका हुन् ।सैनिक जनसम्पर्क निर्देशनालयले बुधबार जारी गरेको विज्ञप्तिमा प्रधानसेनापति सिग्देलले एकीकृत सुरक्षा योजनाअनुसार अन्य सुरक्षा निकाय एवं सबै सरोकारवालाहरुसँग समन्वयात्मक रुपमा कार्य गरी आसन्न निर्वाचनलाई सुरक्षित तवरले सम्पन्न गर्न निर्देशन दिइएको जनाइएको छ ।
भदौ २४ गतेको घटनामा मौन बसेको र सबैतिर आगलागी भएपछि पनि विज्ञप्ति निकालेर राति १० बजेबाट सेनाले स्थितिलाई नियन्त्रणमा लिने भन्नुलाई आम नागरिकले सेनाको भूमिकामा प्रश्न गरेका हुन् । यद्यपि उक्त प्रश्नको सेनाले खण्डन गर्ने प्रयास धेरै पटक गरेको छ । तर, आम नागरिक उक्त दिनको घटना र सेनाले खेलेको भूमिकाप्रति सहमत छैनन् । नेपालको इतिहासमै सेनाप्रति उठेको सबैभन्दा ठूलो प्रश्न यही पटक हो ।सेनाले भदौ २४ गते सैनिकहरु बाहिर आउँदा धेरै जनधनको क्षति हुने बताए पनि त्यसमा कसैले विश्वास गर्दैनन् । सेनाले सिंहदरबार, सर्वोच्च अदालत र राष्ट्रपति कार्यालयलगायत अन्य सरकारी कार्यालयहरुमा आगजनी नगर मात्र भनेको भए पनि कसैले जलाउने हिम्मत गर्ने थिएनन् । यदि सेनाले ती निकायको अगाडि आएर यी निकाय जलाउन पाइँदैन तपाईँहरुको आन्दोलन सडकमा गर्नुहोस् मात्र भनेको भए सेनाको हतियार खोस्ने हिम्मत कसैले गर्ने थिएनन् । कसैले पनि सेना लक्षित आन्दोलन गरेका थिएनन् । सेनाले गोली नभएको बन्दुक नै देखाए पनि नेपालीहरु डराउने आवस्था अहिले छ ।
यदि फागुन २१ गते हुने निर्वाचनमा प्रधानसेनापति सिग्देलले निर्देशन दिएको जसरी सेनाले राम्रो सुरक्षा प्रबन्ध ग¥यो भने सेनाप्रति उठेका प्रश्नहरु सेलाउने मात्र होइन सेनाको सुरक्षाको कारण मत हाल्न पायौँ भनेर सेना जिन्दावाद भन्नेहरुको कमी हुँदैन ।