भगवान् श्रीकृष्णले गीतामा भन्नु भएको जस्तै ‘राम्रो कर्म नै मानिसको मोक्षको द्वार हो’ तर सबै मानिसले राम्रो कर्म गर्न चाहँदैनन् । कतिपय मानिस जन्मिएपछि कहिल्यै मर्नु पर्दैन, म नै यो संसारको मालिक हुँ, म नै राजा हुँ, म नै यो सबै गर्न सक्छु, मलाई कसैले हराउन सक्दैन जस्ता कुराको सोचमा हुन्छन् । यो सोचाइ अत्यन्तै भ्रमक विचार हो । हो, मानिसले जन्मिएपछि कुनै न कुनै कर्म गर्नुपर्छ । मानिसअनुसारको कर्म यो संसारमा सबैको तय भएको हुन्छ । सबैको आ–आफ्नो पक्ष हुन्छ, आ–आफ्नो विचार हुन्छ, आफ्नै भाषा, भेषभूषा र धर्म तथा मान्यता हुन्छन् । कोही आस्तिक हुन्छन् त कोही नास्तिक हुन्छन् । जे जस्तो भए पनि मानवीय धर्म भने सबैमा हुनै पर्छ ।
समय बलवान् छ । आजको बालक भोलि ठूलो भई संसार हाक्न सक्छ भने आजको जल्दोबल्दो युवा भोलि कुनै दिन वृद्ध हुन्छ । तर समाजमा केही मानिसहरू आफूलाई मर्नै नपर्ने, म अमर छु, मलाई सबै चाहिन्छ, मेरो परिवारको आवश्यकता मात्र ठूलो हो वा आफैँ सबै धनसम्पत्ति जोडूँ भन्ने सोच राख्छन् । मेरो मात्र समस्या ठूलो, अरूको समस्या त समस्या नै होइन भन्ने ठानेर सोहीअनुरूप व्यवहार गर्छन् । तर त्यसो गर्नु भ्रम हो, एकछिनको खुसी हो ।आज सुख पाएको मानिस भोलि केही नहुन सक्छ र आज एक्लो मानिसको भोलि धेरै आफन्त पनि हुन सक्छन् । यो सबै आफूले गरेको व्यवहार र रोपेको बीउअनुसारको फल हो । भनिन्छ १२ वर्षपछि खोला पनि फर्किन्छ । हो, सही हो । आज गरेको कर्मले नै भोलिको आफ्नो जीवन कस्तो हुन्छ भन्ने निर्धारण गर्छ । फल प्राप्त हुने बीउबाटै हो, जस्तो रोपिन्छ त्यस्तै फल्छ, यो ध्रुव सत्य हो । आज कसैलाई रुवाउनु भनेको भोलि आफ्नै आँखाबाट आँसु झर्ने बनाउनु हो । कर्मको फल अवश्य भोग्नै पर्छ । तिमी असल कर्म गर्छौ भने असल फल पाउँछौ, अनि खराब कर्म गर्छौ भने अवश्य पनि त्यस्तै फल पाउँछौ । सकारात्मक सोचले गरेको असल कर्मले फल पनि सकारात्मक नै दिन्छ, अनि नकारात्मक सोच राखेर गरेको कार्यले भोलि आफैँलाई धोका दिन्छ । असल मानिससँग गरेको व्यवहारले असल फल दिन्छ भने दुष्ट मानिस र खराब सोच भएको मानिससँग गरेको व्यवहारले पनि मानिसलाई कतै न कतै खाल्डामा हाल्छ ।
त्यसैले असल सोच राख्ने, असल मानिसको संगत गर्ने, असल कर्म गर्ने गरेमा फल पनि अवश्य असल आउँछ र एक दिन नआए पनि भोलि असल फल पाइने आश हुन्छ नै । असल कर्म गर्ने र राम्रो कर्म गर्नेको नाम आज इतिहासमा पनि सुनौलो अक्षरले लेखिएको छ भने खराब कर्म गर्नेहरूको जीवनकालमै पत्ता साफ भई मृत्यु पश्चात् पनि गालीगलौज खाई खराब व्यक्तिको रूपमा सूचीकृत भएका उदाहरणहरू धेरै छन् ।त्यसैले कर्म भनेको असल गर्नु पर्छ, सोचलाई सकारात्मक राख्नु पर्छ । आफू पीडा लिएर अरूलाई केही राहत हुन्छ भने केही त्याग गर्न पनि सक्नुपर्छ ।
१. आफू खुसी हुनका लागि अरूलाई दुःख दिनु हुँदैन ।
मेरो घरमा चुलो बल्नु पर्छ भने यो संसारमा सबैको घरमा चुलो बल्ने वातावरण बन्नु पर्छ । तर मै खाऊँ, मै लाऊँ, सुखसयल मै गरूँ भन्ने भावना गरेमा क्षणिक सुख त होला तर त्यसले कतै न कतैबाट जीवनमा प्रहार गर्छ नै ।
२. सबैको समस्या एउटै ठान्नु महान् मानवको गुण हो ।
‘विद्याविनयसम्पन्ने ब्राह्मणे गवि हस्तिनि ।
शुनि चैव श्वपाके च पण्डिताः समदर्शिनः।।’ (गीता ५ः१८) हरेक ज्ञानी मानिसले कसैलाई पनि फरक व्यवहार गर्दैन । ज्ञानी मानिसले सबैलाई समान दृष्टिले हेर्छ, चाहे विद्वान् ब्राह्मण होस्, गाई होस्, कुकुर होस्, हात्ती होस् वा कमिला नै किन नहोस् । अर्थात् समाजका सबै मानिस र वर्गलाई उसले समान व्यवहार गर्छ ।
३. सबैलाई प्रेमभावले हेर्नु । सजीव–निर्जीव सबैप्रति समान प्रेमभाव राख्न सक्नु नै महान् व्यक्तित्वको चिनारी हो । यो प्रकृति सबैको हो र यहाँका सबै हामी सबैको सम्पत्ति हुन् भन्ने सोच राख्नुपर्छ । मानिसले केवल आफ्ना आफन्त, परिवार वा आफूसँग मिल्ने व्यक्तिमात्रै होइन, संसारभरिका सबै प्राणी र वस्तु, जस्तै पशुपन्छी, यहाँका वृक्ष, नदी–नालालगायत प्रकृतिका अन्य तत्वहरूप्रति पनि प्रेमभाव राख्नुपर्छ । यही प्रेमभावले व्यक्ति विनम्र, करुणामय र सहिष्णु बन्न्छ । प्रेमभाव राख्ने व्यक्ति समाजमा सद्भाव र सहकार्यको वातावरण बनाउँछ । हामीले यस्तै बन्ने प्रयास गर्नुपर्छ । यो प्रकृतिका सजीव–निर्जीव सबैलाई प्रेमभावले हेर्न सक्ने मानिस नै महान् हो ।
४. लिन मात्र होइन, दिन पनि सिक्नुपर्छ ।
हाम्रा पुर्खाले हामीलाई के सिकाए भने, अरूको खानु हुँदैन, ब्रह्मशाप लाग्दछ । यसको भनाइ हो, अर्काको सित्तै खानु हुँदैन । तर आजका मानिस खाने मात्र होइन, आफूलाई हुन्छ भने अरूको उठिबास लगाउन पनि पछि पर्दैनन् । तर अरूको लिने होइन, केही बरु आफ्नो एक पैसा वा कुनै चिज अलि बढी जाओस् त्यसलाई वास्ता नगरी अरूको खानु हुँदैन भन्ने सोचको मानिस नै असल कहलाउँछ ।
५. सहयोगी भावना हुनु पर्छ । सहयोगी भावना हुनु समाजको आधार हो । मानिस व्यक्तिगत रूपमा सक्षम भए पनि एउटै व्यक्ति समाजमा सबै कुरा गर्न सक्दैन । समाजमा धनी पनि हुन्छन्, गरिब पनि हुन्छन्, कोही सक्षम हुन्छन् त कोही असक्षम। यी सबै एकअर्कामा निर्भर हुन्छन् र हुनै पर्छ । सहयोगको भावना भएमा मात्र समाजमा समन्वय, सद्भाव र विश्वास कायम रहन्छ । यो भावना सानो कर्मबाट पनि सुरु हुन्छ—जस्तै छिमेकीलाई सहयोग गर्नु, साथीलाई सहयोग गर्नु, वा कुनै अपरिचित व्यक्तिलाई पनि सानो भए पनि सहयोग गर्नु । जीवनको सार यही सहयोग र मानवता हो । समाजमा बसेपछि सबै चाहिन्छ ।
६. त्यागी पनि हुन सक्नु पर्छ ।
‘कर्मफलत्यागं प्राहुस्त्यागं विचक्षणाः ।’
आफ्नो लागि त जो पनि बाँच्दछ, तर यो जीवन नाशवान् छ भनेर सोच राखी कर्म गर्नु पर्छ । बुद्धिमानहरूले कर्मको फल त्याग्नु नै साँचो त्याग हो भनेका छन् । आफूले त्याग गर्दा अरूलाई केही भयो भने के भयो त, त्याग गर्न पनि जान्नु पर्छ ।
७. सधैँ सकारात्मक सोच राख्नुपर्छ ।
‘उद्धरेदात्मनाऽत्मानं नात्मानमवसादयेत् ।
आत्मैव ह्यात्मनो बन्धुरात्मैव रिपुरात्मनः ।।’ (गीता ६ः५) यसले के सन्देश दिन्छ भने मानिसले जहिल्यै पनि आफ्नै प्रयासले आफूलाई उकास्नुपर्छ । अरूको आश र भरोसामा बाँच्नु हुँदैन र आफूलाई गिराउन पनि हुँदैन । हरेक मानिसको मित्र आफैँ हो भने शत्रु पनि आफैँ हो । त्यसैले आफूलाई मित्र बनाउने र सकारात्मक सोचले अघि बढ्ने गरेमा सबै राम्रो हुँदै जान्छ, किनकि जहिल्यै पनि सकारात्मक सोच र आत्मविश्वासले नै जीवनलाई माथि उकास्छ ।
८. आफ्नो स्वार्थमा मात्र पछि लाग्नु हुँदैन । हरेक मानिस स्वार्थी हुन्छन्, तर अत्यधिक स्वार्थमा लाग्नु गलत हो । आफ्नो पेट भर्न अरूको पेट काट्नु हुँदैन । आफ्ना समस्याहरू जस्तो छन्, अरूका समस्याहरू पनि त्यस्तै हुन्छन् भन्ने समझ राखेर अगाडि बढ्ने मानिस मात्र साँच्चिकै महान् हुन्छ ।
९. समाज र राष्ट्रप्रति समर्पित हुनु पर्छ । समाज र राष्ट्रप्रति समर्पित हुनु पर्छ । हामीले यही समाजबाट धेरै कुरा पाएका छौँ । राज्यको नियम कानुनमा बस्नु, कर तिर्नु, सडक नियम पालन गर्नु र राज्यका नियम उल्लंघन नगर्नु प्रत्येक नागरिकको जिम्मेवारी हो । जथाभावी फोहोर नगर्नु र भौतिक सम्पत्तिलाई पनि सुरक्षित राख्नु नागरिकको कर्तव्य हो । आफ्नो ठाउँ र जहाँ बस्छौँ त्यहाँ केही न केही योगदान दिनै पर्छ । यस्ता कुरा भए मात्र देश बलियो र समृद्ध बन्छ ।
१०. राज्यको नियम कानुन पालना गर्नु पर्छ ।
देश बने समाज बन्छ । नियम भनेको सबैका लागि उस्तै हुनु पर्छ र नागरिकले पनि देशको नियम पालना गर्नै पर्छ ।
११. आफ्नो कर्तव्यबाट पछि हट्नु हुँदैन ।
घरको कर्तव्य, कार्यालयको कर्तव्य वा जुन मानिसको जे कर्तव्य छ त्यसले त्यो अवश्य गर्नैपर्छ । बाबुले बाबुको कर्तव्य, आमाले आमाको कर्तव्य गरे जस्तै, छोराछोरीले पनि बाबुआमा प्रति कर्तव्य गर्नैपर्छ । त्यस्तै साथीले साथीको कर्तव्य, श्रीमानले श्रीमती प्रति र श्रीमतीले श्रीमानप्रति कर्तव्य हुनैपर्छ । सेवकले मालिक प्रति र मालिकले सेवक प्रति कर्तव्य जायज रूपमै हुनुपर्छ । शासक हिटलर जस्तो हुनुहुँदैन र अरू पनि चाडा हुनुहुँदैन ।
१२. कर्मशील हुनु पर्छ ।
‘कर्मण्येवाधिकारस्ते मा फलेषु कदाचन ।
मा कर्मफलहेतुर्भूर्मा ते सङ्गोऽस्त्वकर्मणि ।।’
यस श्लोकले के भन्छ भने मानिसले आफ्नो कर्तव्य निष्ठापूर्वक गर्नु पर्छ, आफ्नो काममा मेहनत गर्नै पर्छ, तर त्यसको परिणाममा अत्यधिक आशा वा चिन्ता गर्नु हुँदैन । फलको मात्र मोहले काम गर्दा मन जहिल्यै पनि अशान्त हुन्छ । त्यसैले कर्तव्य गर्दै जाने, एक दिन आउँछ भनेर बस्ने तर फलको अपेक्षामा बाँधिनु हुँदैन, फलको डर वा लोभले काम नगर्ने अवस्थातिर पनि जानु हुँदैन । व्यापारीले व्यापार, किसानले खेती, उद्योगीले उद्योगधन्दा गरी रोजगारी प्रदान गरे जस्तै, प्रशासकले प्रशासन, पुलिस र आर्मीले देश सेवा गरे जस्तै, पुजारीले पूजा गर्नु पनि कर्मशील हुनु हो । एक दिन सूर्य नउदाए के होला, एक दिन खोला नबगे के होला, केही बेर हावा नभए के होला । त्यस्तै हाम्रो जीवनमा हामीले गरेको काम जेसुकै होस् त्यो गर्नै पर्छ । पाइलटले विमान नचलाए, ड्राइभरले गाडी नचलाए, श्रमिकले श्रम नगरे, किसानले उत्पादन नगरे, शिक्षकले नपढाए, गुरुहरूले ज्ञान नदिए समाज कस्तो होला । त्यसैले जसको जे कर्तव्य हो त्यो मानिसले आफ्नो कर्म गर्न कहिल्यै पछि पर्नु हुँदैन । आफूले गरेको कामको सम्मान आफैँले गर्ने र अरूको कामलाई पनि सानो नठान्ने प्रवृत्ति सबैको हुनुपर्छ।
१३. खुसी हुन सिक्नु पर्छ ।
मानिसको जीवनमा धेरै उतारचढाव आउँछन् तर त्यसलाई अत्यधिक पीर र चिन्ता मानेर बस्यो भने प्रगति हुँदैन । गर्ने कर्तव्य आफूले अनिवार्य गर्नैपर्छ ।
१४. धैर्यवान् हुनु पर्छ ।
दूधलाई मोह बनाउन पनि समय लाग्दछ, अन्न फलाउन पनि बीउ राखी रोपेर गोडमेल गरी केही महिनामा मात्र फल लाग्दछ र कतिपय फल त एक वर्ष नभई फल्दैन । यसको अर्थ के हो भने मानिसले कुनै पनि काम थालेपछि एकैछिनमा केही भएन भनेर आतिनु हुँदैन । धैर्य गर्न सिक्नु पर्छ, अवश्य एक दिन फल मिल्दछ । तर मिलेको फलमा सन्तुष्टि हुनै पर्छ, तर कर्म गर्न भने छोड्नु हुँदैन ।यसैगरी, व्यक्तिगत नियम हुन्छन् । शरीरलाई छाडा छाड्यो भने रोगको घर हुन्छ, घरलाई छाडा छाड्यो भने घर बिग्रिन्छ । हामी धर्मलाई मान्छौँ तर धर्मले सिकाएको कुरा मान्दैनौँ । हामी राम र कृष्ण मान्छौँ तर राम र कृष्णले दिएको सन्देशलाई पालन गर्दैनौँ। धार्मिक नियम हुन्छन् तर मान्दैनौँ ।
धर्मले मानिसलाई एउटा बाटोमा हिँड्न सिकाउँछ, धर्मले ज्ञान दिन्छ, धर्मले नैतिक आचरण सिकाउँछ तर हामी दर्शन गर्छौँ, भगवान् पुकार्छौँ खाली आफ्नो लागि, संसारको लागि केही गर्न चाहँदैनौँ । ‘समस्त लोकाः सुखिनो भवन्तु’ भनेर कहिल्यै हेर्दैनौँ ।हामी भागिरहेका छौँ, हामी दौडिरहेका छौँ तर केका लागि थाहा छैन । दौडिँदा अरूलाई कुल्चिन्छौँ, अरू मरून् तर आफैँ अगाडि पुग्न सकौँ भनेर हिँडेका हुन्छौँ । तर हामीलाई थाहा छैन कि सबैलाई कुल्चेर अगाडि बढ्दा आफ्नो प्रगति हेर्ने कोही हुँदैन र त्यो बेला एक्लै हुनुपर्छ ।संसार सबैको साझा घर हो । यहाँ सबैलाई बाँच्न पाउने अधिकार छ । यो हावा स्वच्छ नै होस्, यो जल निर्मल नै होस्, यो आकाश स्वच्छ नै होस् । यी प्रकृतिका उपहारहरू आउने सन्ततिले पनि देख्न सकून् । सबैको जय होस्, सबै हाँस्न सकून् । म होइन, मेरो वरिपरिका सबैले एउटा असल कर्म गरी असल आभा आओस् जसले सकारात्मक नै सकारात्मक होस् । कसैले दिएको पीडामा कोही बाँच्न नपरोस् ।