बीमा कम्पनीहरूको कुल बीमाशुल्क आर्जन १८ दशमलव एक प्रतिशतले बढेको छ । गत साउनदेखि पुससम्म १४ निर्जीवन र १४ जीवन बीमा कम्पनीले कुल एक खर्ब २० अर्ब ९४ करोड ३३ लाख तीन हजार रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेका हुन् । यो रकम गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १८ दशमलव एक प्रतिशत अर्थात् १८ अर्ब ४५ करोड ९९ लाख ४१ हजार रुपैयाँले बढी हो । गत वर्षको ६ महिनामा यस्तो रकम कुल एक खर्ब दुई अर्ब ४८ करोड ३३ लाख ६२ रुपैयाँ संकलन भएको थियो । नेपाल बीमा प्राधिकरणका अनुसार पुस मसान्तसम्ममा जीवन बीमा कम्पनीहरूले मात्र कुल ९६ अर्ब ६४ करोड तीन लाख ४२ हजार रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेका छन् । यो रकम गत आवको सोही अवधिको तुलनामा १९ दशमलव शून्य पाँच प्रतिशतले बढी हो । गत आवको सोही अवधिमा जीवन बीमा कम्पनीहरूले कुल ८१ अर्ब १७ करोड ६८ लाख ४३ हजार रुपैयाँ आर्जन गरेका थिए ।
त्यसैगरी निर्जीवन बीमा कम्पनीहरूले पनि चालू आवको पुुस मसान्तसम्ममा कुल २४ अर्ब ३० करोड २९ लाख ६१ हजार रुपैयाँ कुल निर्जीवन बीमा शुल्क संकलन गरेका छन् । यो रकम गत आवको सोही अवधिको तुलनामा १४ दशमलव शून्य छ प्रतिशतले बढी हो । गत आवको सोही अवधिमा निर्जीवन बीमा कम्पनीहरूले २१ अर्ब ३० करोड ६५ लाख १९ हजार रुपैयाँ बीमाशुल्क आर्जन गरेका थिए । चालू आवको पुस मसान्तसम्ममा कुल सक्रिय जीवन बीमालेखको संख्या उल्लेख्यरूपमा बढे पनि निर्जीवन बीमा कम्पनीहरूमा कुल बीमालेखको संख्या तुलनात्मकरूपमा कम देखिएको छ ।जीवन बीमा कम्पनीहरूमा चालू आवको पुस मसान्तसम्ममा एक करोड ६२ लाख ५० हजार एक सय ३६ वटा सक्रिय जीवन बीमालेको संख्या रहेको छ । यो संख्या गत आवको सोही अवधिको तुलनामा १५ दशमलव ७३ प्रतिशतले बढी हो ।
गत आवको सोही अवधिमा जीवन बीमा कम्पनीहरूले कुल एक करोड ४० लाख ४१ हजार तीन सय ५३ वटा सक्रिय जीवन बीमालेखको संख्या रहेको थियो । प्राधिकरणका अनुसार चालू आवको पुस मसान्तसम्ममा जीवन बीमा कम्पनीहरूमा कुल जारी बीमालेखको संख्या भने ३६ लाख ८८ हजार ५५ रहेको छ । यो संख्या गत आवको सोही अवधिको तुलनामा २८ दशमलव ९३ प्रतिशतले बढी हो । गत आवको सोही अवधिमा जीवन बीमा कम्पनीहरूमा जारी बीमालेखको संख्या २८ लाख ६० हजार चार सय तीन रहेको थियो । कुल निर्जीवन बीमालेखको संख्या भने चालू आवको पुस मसान्तसम्ममा १६ लाख ५० हजार ४१ वटा पुगेको छ । यो संख्या गत आवको सोही अवधिको तुलनामा पाँच दशमलव ९२ प्रतिशतले बढी हो । गत आवको सोही अवधिमा कुल निर्जीवन बीमालेखको संख्या १५ लाख ५७ हजार सात सय ९० रहेको थियो । ‘बीमाको दायरामा आएको कुल जनसंख्या प्रतिशत ५० प्रतिशत पुगेको छ । यो संख्या म्यादी, लघु म्यादी र वैदेशिक रोजगार जीवन बीमालेखसहित हो’, प्राधिकरणले भनेको छ । यो संख्या गत आवको सोही अवधिको तुलनामा छ दशमलव ३८ प्रतिशतले बढी हो । गत आवको सोही अवधिमा बीमाको दायरामा आएको कुल जनशंख्या ४३ दशमलव ६२ प्रतिशत रहेको थियो ।