काठमाडौं। यूएईमा रहेका नेपाली श्रमिकहरूमा शारीरिकभन्दा बढी मानसिक समस्या देखिने गरेको यहाँका चिकित्सकहरुले बताएका छन् ।नेपाली राजदूतावास, अबुधाबीले यूएईका अबुधाबीलगायत अन्य इमिरेट्सका विभिन्न अस्पतालमा कार्यरत नेपाली चिकित्सकहरूसँग आयोजना गरेको अन्तरक्रियामा उनीहरुले श्रमिकहरूमा शारीरिक र मानसिक दुवै प्रकारका समस्या देखिने गरेको भएपनि मानसिक स्वास्थ्य समस्या तुलनात्मक रूपमा बढी रहेको औंल्याए । कार्यक्रममा यूएईमा लामो समयदेखि चिकित्सक पेसामा आबद्ध करिब २५ जना नेपाली चिकित्सकहरूको उपस्थिति रहेको थियो । चिकित्सकहरूका अनुसार नेपाली श्रमिकहरुमा उच्च रक्तचाप, हृदयघात, मिर्गौलासम्बन्धी समस्या, मानसिक तनाव तथा डिप्रेसन, कार्यस्थल र ट्राफिक दुर्घटना तथा महिलासम्बन्धी विविध स्वास्थ्य समस्या प्रमुख रूपमा देखिएका छन् । यस्ता समस्याको न्यूनीकरणका लागि नियमित स्वास्थ्य परीक्षण, सचेतना अभिवृद्धि र समयमै उपचार आवश्यक रहेको चिकित्सकहरूले बताएका छन् ।
छलफलमा स्वास्थ्यप्रति बेवास्ता गर्ने प्रवृत्ति, रोग लुकाउने बानी, खाडी मुलुकको वातावरणीय प्रभावबारे अपर्याप्त जानकारी, स्वास्थ्य बीमाबारे अनभिज्ञता तथा भाषागत समस्याका कारण धेरै नेपाली श्रमिकहरू समयमै अस्पताल नपुग्ने गरेको उल्लेख गरिएको थियो । चिकित्सकहरूले कम्तीमा हरेक ६ महिनामा एक पटक स्वास्थ्य परीक्षण गराउन, पर्याप्त पानी पिउन, अत्यधिक मदिरा सेवन त्याग्न वा नियन्त्रण गर्न तथा आफ्नो स्वास्थ्य बीमाबारे जानकारी राख्न सुझाव दिएका छन् । उनीहरूले यूएईमा रहेका नेपाली चिकित्सकहरूले नेपाली समुदायको उपचारमा हरसम्भव सहयोग गर्दै आएको र आगामी दिनमा पनि सहयोग जारी राख्ने प्रतिबद्धता व्यक्त गरेका छन् । साथै, राजदूतावासले स्वास्थ्यसम्बन्धी जनचेतनामूलक कार्यक्रमलाई तीव्रता दिनुपर्ने, मानसिक रोगीको उपचारका लागि नेपाल सरकारसँग समन्वय गरी टेलिमेडिसिन सेवा शीघ्र सञ्चालन गर्न पहल गर्नुपर्ने सुझाव दिएका छन् ।
नेपालबाट यूएई आउनुअघि श्रमिकहरूको स्तरीय स्वास्थ्य परीक्षण सुनिश्चित गर्नुपर्ने, प्रस्थानपूर्व अभिमुखीकरणमा स्वास्थ्य, बीमा, यूएईको हावापानी, सडक सुरक्षा तथा दुर्घटनासम्बन्धी विस्तृत प्रशिक्षण समावेश गर्नुपर्नेमा पनि जोड दिइएको थियो । कार्यक्रमलाई यूएईका लागि नेपाली राजदूत तेजबहादुर क्षेत्रीले यूएईस्थित नेपाली चिकित्सकहरूले चिकित्सा क्षेत्रमा तथा नेपाली समुदायप्रति पु¥याएको योगदानको प्रशंसा गर्दै प्राप्त सुझावहरूको कार्यान्वयनमा दूतावास प्रतिबद्ध रहेको बताए । उनले आगामी दिनमा स्वास्थ्यसम्बन्धी जनचेतनामूलक कार्यक्रम सञ्चालनका लागि सबै इमिरेट्समा कार्यरत नेपाली चिकित्सकहरूको सक्रिय सहयोग र समन्वय आवश्यक रहेको उल्लेख गरे । यूएईमा कार्यरत नेपाली श्रमिकहरूले भोगिरहेका शारीरिक तथा मानसिक स्वास्थ्य समस्याहरू, तिनका समाधान र रोकथामका उपायबारे विस्तृत तथा सघन छलफल गर्न कार्यक्रमको आयोजना गरिएको नेपाली राजदूतावास, अबुधाबीले जनाएको छ ।