विराटनगर । मोरङको गोठगाउँस्थित पूर्वाञ्चल विश्वविद्यालय परिसरमा अन्तर्राष्ट्रिय सम्मेलन सुरू भएको छ । पूर्वाञ्चल विश्वविद्यालयले आयोजना गरेको सम्मेलन आईतवारसम्म चल्नेछ ।इनभिजिनिङ दि हिमालयन फ्युचर ः पाथवे टु सस्टेनाबिलिटी एन्ड डेभेलोपमेन्ट शीर्षकमा भएको सो सम्मेलनमा एक सय ९४ वटा अनुसन्धानमूलक लेखहरु समावेश गरिएको छ । कला, कानुन र शिक्षा, व्यवस्थापन, इन्जिनियरिङ, विज्ञान र प्रविधि, मेडिसिन एन्ड हेल्थ साइन्ससहित पाँचवटा विषयमा छलफल हुनेछ । सम्मेलनको उद्घाटन विश्वविद्यालयको अनुुदान आयोगका अध्यक्ष प्राध्यापक डा. देवराज अधिकारीले गरेका थिए । कार्यक्रममा उनले अन्तर्राष्ट्रिय सम्मेलनको महत्वका बारेमा जानकारी गराएका थिए । यस्ता सम्मेलनले विकासमा, व्यवस्थापनमा, अन्तर्राष्ट्रिय सम्बन्धमा, विश्वविद्यालयहरुबीचको सम्बन्धमा ठूलो महत्व राख्ने अधिकारीले बताए । उद्घाटनका दिन तीनवटा प्लेनरी सेसन र एउटा टेक्निकल सेसन सञ्चालन भएका थिए ।
पहिलो सत्रमा सिनासका कार्यकारी निर्देशक प्राध्यापक डाक्टर मृगेन्द्रबहादुर कार्की र नर्वेका प्राध्यापक स्टेन डब्ल्यु. वालेस मूख्य वक्ता थिए । दोस्रो सत्रको मुख्य वक्ताको रुपमा चुलालोङकम विश्वविद्यालय थाइल्याण्डका प्राध्यापक डाक्टर किटाइङ आङसुली, स्टेट युनिभर्सिटी अफ इन्टर्नल अफेयर्स पोल्याण्डका प्राध्यापक राफल लिजुट र नर्थ वेष्ट युनिभर्सिटी दक्षिण अफ्रिकाका प्राध्यापक लुसिस बोटेज रहेका थिए भने तेस्रो सत्रको प्रमुख वक्ताको रुपमा काठमाण्डौं विश्वविद्यालयका प्राध्यापक डाक्टर सुदन झा, बीएमएल युनिभर्सिटी भारतका प्राध्यापक अनिरुध अग्रवाल र एशिया प्यासिफिक ग्लोबल अलाइन्स फर ब्याङ्किङ अन भ्यालुज नेदरल्याण्डका उपेन्द्र प्रसाद पौड्याल थिए ।