काठमाडौं प्रहरीले महाशिवरात्रि पर्वका अवसरमा पशुपतिनाथको दर्शनार्थ सहभागी हुने भक्तजनहरुलाई गरगहना लगाएर नजान आग्रह गरेको छ ।भक्तजन तथा सामानको सुरक्षाका लागि प्रहरीले गरगहना लगाएर नआउनेसहित विभिन्न १३ बुँदे अनुरोध जारी गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एवं प्रहरी उपरीक्षक पवनकुमार भट्टराईले जानकारी दिए । चोरी तथा लुटपाटका घटना हुनसक्ने भएकाले बहुमूल्य गरगहना नलगाउन, महत्वपूर्ण र महँगो सरसामान लिएर नआउन अनुरोध गरिएको हो । मन्दिरमा झोला नल्याउन, पशुपति क्षेत्रको मापदण्ड बमोजिम प्लास्टिकका झोला, कप, प्लेटलगायत सामग्रीको प्रयोग निषेध गरिएकाले निषेधित सामानको प्रयोग नगर्न, दूध, गङ्गाजललगायत सामाग्रीका लागि फुट्ने कांँच (सिसा)का भाँडा प्रयोग नगर्न पनि अनुरोध गरिएको प्रहरी उपरीक्षक भट्टराईले बताए । प्रहरीले भक्तजनको सुविधाका लागि तोकिएको कक्षमा जुत्ताचप्पल (दर्शन मार्गअनुसार छुट्टाछुट्टै स्थानमा जुत्ताचप्पल कक्षको व्यवस्था) राखेर मात्र मन्दिर प्रवेश गर्न, पशुपतिनाथको दर्शन गरिसकेपछि छिटोभन्दा छिटो मन्दिर परिसर बाहिर निस्किनु भई घुइँचो हुन नदिनका लागि आवश्यक सहयोग र समन्वय गर्न पनि अनुरोध गरेको छ ।
त्यस्तै पशुपतिनाथ मन्दिर प्राङ्गणमा सबै प्रकारका मोबाइल फोन, क्यामरालगायत सामग्रीको प्रयोग निषेध गरिएको तथा छालाका सामान, जुत्ताचप्पल, ज्याकेट, कम्मरपेटी लगाएर मन्दिरमा प्रवेश निषेध भएकाले त्यस्ता सामान तोकिएको सुरक्षित स्थानमा राखेर मात्र दर्शन गर्न पनि भनिएको छ । प्रहरीले पाकेटमारादेखि सावधान रहन र आफ्नो सामानको सुरक्षा आफैँ गर्न, कुनै पनि तीर्थयात्री अस्वस्थ भएमा स्वास्थ्य शिविरमा सम्पर्क राख्न, कुनै सामान वा व्यक्ति हराएमा वा कुनै समस्या आइपरेमा तुरुन्त प्रहरी शिविर वा खोजखबर कक्षमा सम्पर्क राख्न पनि अनुरोध गरेको छ ।मन्दिर र मेला क्षेत्रलाई स्वच्छ र सफा राख्न जथाभावी फोहोर नगर्न, निर्दिष्ट स्थानमा रहेका शौचालयको प्रयोग गर्न, शारीरिक रूपमा अशक्त, ज्येष्ठ नागरिकलाई सहज दर्शनका लागि सहयोग गर्न, मन्दिर दर्शनका लागि कुनै प्रकारको विशेष टिकट वा पासको व्यवस्था नगरिएकाले पङ्क्तिबद्ध भएर दर्शन गर्न तथा पङ्क्तिबाट दर्शन गर्दासमेत अरूको अधिकारको हनन हुने व्यवहार नगर्न अनुरोध गरिएको प्रहरी उपरीक्षक भट्टराईले जानकारी दिए ।
पशुपति क्षेत्रमा साधुसन्त र भक्तजनको चहलपहलमहाशिवरात्रि पर्वका अवसरमा पशुपति क्षेत्रमा साधुसन्त एवं टाढाबाट आउने भक्तजनको चहलपहल बढेको छ । देश, विदेशबाट आएका साधुसन्त एवं भक्तजनका कारण पशुपति क्षेत्रमा मेला लागेको हो ।
महाशिवरात्रिका अवसरमा निःशुल्क स्वास्थ्य शिविर, निःशुल्क भोजन सेवा, खानेपानी, चियालगायत सेवा गर्नेको पनि घुइँचो छ । कतिले सेवा सुरु गरिसकेका छन् भने कतिले सेवाको तयारी गरेका छन् । महाशिवरात्रिको तयारीका लागि पशुपति क्षेत्र विकास कोषका पदाधिकारी एवं कर्मचारी स्थलगत रूपमै खटिएर काम गरिरहेका छन् ।
हंसमण्डप क्षेत्रको स्थलगत अनुगमनमा खटिनुभएका कोषका कोषाध्यक्ष श्रीधर सापकोटाले यस वर्ष सफाइमा विशेष ध्यान दिइएको बताए । पशुपति क्षेत्रमा आएका साधुसन्त र भक्तजनका लागि प्रभावकारी व्यवस्थापनमा कोष लागिरहेको छ । यस वर्ष चार हजारदेखि चार हजार पाँच सयसम्म साधुसन्त आउने अनुमान गरिएको उनले बताए । गत वर्षभन्दा यस वर्ष साधुसन्त बढी आउने अनुमान गरिएको कोषले जनाएको छ ।पशुपति क्षेत्रमा सेवा दिइरहेका स्वयंसेवी संस्थाको दृष्टिमा भने यस वर्ष विगतमा भन्दा कम मानिस शिवरात्रिको अघिल्लो दिन पशुपति क्षेत्रमा आएका छन् । हंसमण्डपमा भोजन सेवामा खटिएका विनोद लीला अग्रवालले शनिबार विगत वर्षभन्दा कम भक्तजन आएको बताए । यही फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका कारण पनि मानिसको आवागमन कम भएको हुनसक्ने उनको अनुमान छ । महाशिवरात्रिका लागि पशुपति क्षेत्रलाई विशेष रुपमा सिँगारिएको छ । फूलमालाले विशेष रुपमा सिँगारेर आकर्षक बनाइएको छ ।पशुपति क्षेत्रस्थित राममन्दिरमुनिको नदी किनारमा सफाई गरिएको छ । पशुपति क्षेत्रको राममन्दिर, आर्यघाटसँगै यहाँको नदी किनारमा सरसफाइ गरिएको हो । सफाइमा कोषका सञ्चालक परिषद् सदस्य रामेश्वर सङ्गतसहित कर्मचारी, काठमाडौं महानगरपालिका–११ का अध्यक्ष हीरालाल तण्डुकार, महानगर वातावरण विभागका प्रमुख सरिता राई, महानगर टेकुका प्रमुख मीनबहादुर थापासहित कर्मचारी, अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समितिका कर्मचारीलगायत जनप्रतिनिधि एवं स्थानीयवासीको सक्रियतामा शनिबार त्यस क्षेत्रमा सफाइ गरिएको हो । सफाइमा त्यस क्षेत्रबाट कुहिने र नकुहिने लगभग १८ मेट्रिकटन फोहर व्यवस्थापन गरिएको छ ।