चिनियाँ सरकार (सि जिन पिङ)को नेपालनीति हेर्ने फ्यु यू हाइको एउटा लेखले यतिखेर राष्ट्रिय राजनीतिको सत्ताधारी जमात (१२बुँदे दिल्ली सम्झौता)बाट लादिएको ०७२ को संविधान (पक्षधर)को सातोपुत्लो गएर होस गुम भएको छ । दास मानसिकता या कविलाई चेतनाबाट माथि उठ्न नपाएका कांग्रेस (गिरिजा लिगेसीको देउवा कांग्रेसका एआई उत्तराधिकारहरू विषेश महाधिवेशन क्याप्चर) एमाले, माओवादी, मधेशवादीदेखि पञ्चायतकालमा नानीमैया दाहाल उदाएकी जस्तै उदाएका घण्टी, लौरो, बल्ब आदि इत्यादि दलहरूका २५÷३० लाख के–कति क्रियाशील सदस्यहरू छन् तिनले अन्दाज र आकलन गर्न नसके पनि नेपाल नीतिमा चीनले जुन कोल्टे फेरेको छ त्यो धेरै नै अर्थपूर्ण छ । आम नेपाली मतदाताले समेत सजिलै बुझ्ने गरी उसले प्रस्ट शब्दमा भनेको छ, ‘सच्चिएर जोगिने कि गल्ती दोहो¥याइरहेर सक्किने नेपाल आफैँ निर्णय गरोस् ।’गल्तीको एउटा उदाहरण रुस–अमेरिकाको युक्रेन युद्धमा देउवा, ओली, प्रचण्डले कुन बुद्धिले अमेरिकाको पक्ष लिएर रुसको विरोध गरेका । जब कि सीमा जोडिएका दुई विशाल छिमेकी भारत र चीन रुसको साथमा छन् । विगत ३० वर्षका यस्ता गल्तीहरूको गिन्ती गरेर साध्य छैन । नेपालजस्तो (भौगोलिक पृष्ठभूमि) मुलुकले आजको विश्व राजनीतिको शक्ति सन्तुलनमा अमेरिकाको पक्ष लिएर चीन, रुस, भारतले विरोध गरिरहेका युक्रेन युद्ध साथमा उभिनुलाई भात खाने चेतना ठान्न मिल्दैन । घाँस खाने चेतना र कविलाई चेतनामा अलिकति मात्र फरक हुन्छ । त्यति धेरै फरक हुँदैन । घास खानेले काँचै खान्छन् कविलाई चेतना पकाएर खान जान्दछन् । शिक्षामन्त्री भएका बखत महावीर पुनले मन्त्रालयको भव्य बैठक कक्षमा किचन (चुलो) स्थापना गरेर पत्रकारहरूलाई बोलाएर असला माछाको झोलमा चोबेर कोदो र फापरको मिक्स ढिँडो खाँदै जिब्रो फट्कार्दै गरेको दृश्य टीभीको पर्दामा भाइरल गरेका जस्तै ।यसरी नेपालको विदेश नीतिमा देउवा, ओली, प्रचण्ड आदि इत्यादिका विगत ३० वर्षका गल्तीहरू थामी नसक्नु भएर नै चीन आफ्नो नीतिमा कोल्टे फेर्न बाध्य भएको हो । यसमा मेरो दृष्टिले चीनले धेरै ढिलो गरेको छ । जुन दिन नेपालमा गणतन्त्र अलात लादियो त्यही दिनदेखि पंक्तिकारले लेख्दै बोल्दै आइरहेको हो कि नेपाल सकाउने षड्यन्त्र लादिएको ०७२ को संविधानका मतियारहरू दलहरू चीनले नेपालनीतिमा कोल्टे फेरेपछि त्यस कोल्टे फर्काइको चेपुवामा परेर कच्याककुचुक हुनेछन् । मेरो यस्तो विश्लेषण ठहरको ऐतिहासिक तथ्य के हो भने आज नेपाल एउटा सार्वभौम स्वाभिमानी राष्ट्रका रूपमा जसरी जोगिएको छ त्यसको जमिन र जग चीन फ्याक्टर हो र यस फ्याक्टरका चिनियाँ नायक माओत्सेतुङ र नेपाली नायक राजा महेन्द्र हुन् ।
इतिहास शिरोमणि बाबुराम आचार्यको एउटा पुस्तक छ– अब कहिले यस्तो नहोस् । नेपाली राजनीतिको वर्तमान दशा र दिशा एकहदसम्म छर्लङ्ग हुनको लागि त्यो पुस्तक धेरै उपयोगी छ । त्यो पुस्तकको प्राइमरी स्कुलसम्म पाठ्यक्रम पुग्नुपर्नेमा विसं ०२८ सालमा नयाँ शिक्षानीति लागू भएर बाइबलका कथाकुथुङ्ग्रीका पाठ्यक्रमले प्राथमिकता पाएपछि देश र जनताका आत्मा र वाणी बेकेका यस्ता पुस्तकहरू ओझेलमा पर्ने या हराएर जाने खतरा बढेको छ । यसका लागि पाठ्यक्रम निर्माता भिसीका दाबेदार प्राडाहरूले भोलि इतिहासको कटघरामा अवश्य दण्डित हुनु नै पर्नेछ । त्यतातिर यहाँ धेरै गइनँ । अहिलेसम्म नेपाल जोगिएको मुख्य फ्याक्टर चीन र त्यसका नायक माओ र महेन्द्र भन्ने प्रस्तुत आलेखको मूल विषय मैले त्यसै पुस्तकबाट लिएको हुँ ।
नेपाल चीन सम्बन्धको सनातनी इतिहास पनि अध्ययन गर्दा गाढा र गौरवशाली नै भेटिन्छ । पृथ्वीनारायण शाहको एकीकरण अभियानमा उनको मृत्युपछि राजा भएका प्रताप शाहका पालामा घटेको एउटा घटनाले त्यस यताको नेपाल हेर्ने चीन नीतिको मूलधार प्रस्ट हुन्छ । गद्दी आरोहण भएका प्रताप शाहले उल्टोमतिको सिकार भएर पिताको क्रिया बसेकै बखत भाइ बहादुर शाहलाई जेल हाले । जब कि पृथ्वीनारायण शाहको उत्तराधिकारका असली हकदार बहादुर शाह भन्ने त्यसयताको इतिहास लेखनमा पाठ्यक्रम बनिसकेको छ । बाउको किरिया बसेकै बखत जेल हालिनु ठूलो अन्याय भयो भनेर बहादुर शाहले तिब्बतका अम्बान (आजका भाषाका मुख्यमन्त्री) मार्फत चीनका बादशाहसमक्ष गुहार पु¥याए । त्यसबखत चीनका बादशाहसमक्ष गुहार पु¥याउनु या अन्य कुनै कूटनीतिक डिल (व्यवहार) गर्न सोझै पाइँदैन थियो । तिब्बतका अम्बानमार्फत नै कुरो पु¥याउनु पर्दथ्यो । जवाफमा बादशाहको सम्बोधन आयो– ‘नेपालका युवराजलाई सुनाइदिनु, नेपाल हाम्रा कुलदेवताको वासस्थान देश हो हामी त्यहाँको आन्तरिक राजनीतिमा कुनै हस्तक्षेप गर्न चाहन्नौँ ।’ वादशाहको यस्तो जवाफ (सम्बोधन)ले चीनले नेपाललाई आफ्ना कुलदेवताको बासस्थान मन्दिरको रूपमा हेर्दोरहेछ भन्ने प्रस्ट देखिन्छ । ‘आफ्ना कुलदेवताको मन्दिर भनेपछि निर्माण प्रगतितर्फ नै लागिन्छ र बिगार्न भत्काउन खोज्नेलाई सिध्याइन्छ ।’
बहादुर शाहका पालादेखि नेपाललाई हेर्ने यो चीन नीति माओत्सेतुङ तेङसिआओपिङुम्म यथावत् कायम रहेको अध्यक्ष माओले राजा महेन्द्रसँग गरेको हार्दिक सहयोगको व्यवहार र तेङसिआओपिङले नेपालका जननायक बीपीसँग हार्दिक मित्रताको व्यवहार देखाएकोबाट प्रस्ट हुन्छ ।अब आउँछु नेपाल जोगिएको चीन फ्याक्टरका नायक अध्यक्ष माओ र राजा महेन्द्र रहेका ऐतिहासिक तथ्य सन्दर्भमा । यो अध्यायको प्रारम्भ हुन्छ ०७ साल फागुन ७ गतेको ‘प्रजातन्त्र दिवस’ त्यो ‘प्रजातन्त्र दिवस’ नभएर ‘भारततन्त्र दिव’ रहेको तथ्य प्रमाणबाट । भारतीय प्रधानमन्त्री जवाहरलाल नेहरूले श्री ३ मोहन शमशेरलाई प्रधानमन्त्री बनाउने शर्तमा बीपी (कांग्रेस) र राजालाई थाहै नदिई ‘सन् ५०को नेपाल–भारत मैत्री सन्धिी’ (झु्क्याएर असमान)मा हस्ताक्षर गराएका थिए । यसैलाई त्यतिखेर राजा त्रिभुवनले ‘राणाको जेलबाट नेहरूको जेलमा आइपुगेको छु’ भनेका पाठ्यक्रम उपलब्ध छ । कथित ‘प्रजातन्त्र दिवस’ पछि पहिलो काम नेहरुले प्रधानमन्त्री बनाइएका मातृका प्रसाद कोइरालाको हस्ताक्षरबाट नेपालका १५ पहाडी जिल्लाका १८ ठाउँमा भारतीय सैनिक क्याम्प किलो गाडेर (नेपाल आमाको छाती) चीनतिर बन्दुक तेर्याउँदै परेड खेल्न थालियो । यो भनेको नेपालको ‘सार्वभौमिकता’ पूर्णरुपमा भारतको ‘मुट्ठीको माखो’ बनेको प्रमाण हो । विसं २०२७ सालसम्म पूरै १९ वर्ष नेपालको ‘सार्वभौमिकता’ भारतको ‘मुट्ठीको माखो’ अवस्थामा रहनु यसैलाई मैले ७ फागुन प्रजातन्त्र दिवस नभएर भारततन्त्र दिवस भनेको हुँ ।राजा महेन्द्रले पञ्चायती व्यवस्था ल्याएपछि बीपीले १५ सालको चुनावी घोषणापत्रमा लेखेअनुसार विकासका तीनवटा क्षेत्रलाई प्राथमिकतामा राखेका थिए । पहिलो शिक्षा दोस्रो कृषि र तेस्रो यातायात । पाँच कक्षासम्म अनिवार्य निःशुल्क शिक्षा र भूमि सुधार कार्यक्रम लागूपछि अब यातायातको पालो थियो । यो विसं २०२४ सालको कुरो हो । १५ प्रतिशत हिमाली भेग र चुरे भाभरसहित १६ प्रतिशत तराई भाग भनेपछि ६८ प्रतिशत पहाडी भेगमा राजमार्ग नखुल्दासम्म यातायातमा काम भएको ठान्न मिल्दैन थियो ।
त्यसका लागि चीनको कोदारी राजमार्गसँग अरनिको राजमार्ग जोडिनु अपरिहार्य हुन्थ्यो । लमजुङका खगेन्द्रजंग गुरुङलाई अध्यक्ष माओसँग भेटको कार्यक्रम मिलाउन चीन पठाइयो । ‘मलाई यतिखेर भारतको कुनै प्रन्ताध्यक्षसँग भेट गर्ने फुर्सद छैन’ भन्दै माओले गुरुङलाई ठाडै फर्काइदिए । चीनको नेपालप्रतिको त्यस्तो धारणा थाहा पाएर राजा महेन्द्रलाई एक प्रकारले शकजस्तो भयो । नेपालको तुलना भारतको कुनै प्रान्त (प्रदेश)सँग हुनु महेन्द्रलाई यो सह्य कुरो थिएन । अध्यक्ष माओले राजा महेन्द्रलाई भेट दिनैपर्ने खालको अर्को प्रस्तावपछि एयरपोर्टदेखि नै रातो कार्पेट ओछ्याएर स्वागत भयो । ठूलो छाती भएका माओत्सेतुङ राजा महेन्द्रको स्वागत गर्न आफैँ एयरपोर्टमा उपस्थित भए । माथि नै उल्लेख भइसक्यो कि चीनका लागि राजा महेन्द्र आफ्ना कुलदेवताको वासस्थान मन्दिरबाट आएका पाहुना थिए । अमेरिकाका राष्ट्रपति र भारतका प्रधानमन्त्रीले पाउने आदर सम्मानभन्दा बढी राजा महेन्द्रले पाए ।
यसमा कोदारी राजमार्ग पाउँदा भारतको अवरोधमा ‘माओ विचारधारा कार चढेर आउँदैन’ भन्ने जवाफ दिनुपरेको जस्ता अन्य प्रसङ्ग यहाँको अभीष्ट विषय होइन । मूल सन्दर्भ ‘नेपाल अस्ति जन्मेको भारतको एउटा प्रान्त कसरी भयो ?’ भन्ने राजा महेन्द्रको प्रश्नमा अध्यक्ष माओले दिएको जवाफ यस आलेखको अन्तर्य सार हो । ‘जतिखेरसम्म नेपालका १५ पहाडी जिल्लाका १८ ठाउँमा गाडिएका भारतीय सैनिक पोस्ट उखेलिँदैनन् त्यतिखेरसम्म मैले चीनले मात्र होइन दुनियाँका कुनै पनि राष्ट्रले नेपललाई सार्वभौम ठान्न मान्न मिल्दैन ।’ अध्यक्ष माओको यस जवाफमा महेन्द्रसँग कुनै उत्तर थिएन । माओसमक्ष टाउको निहुराएर लज्जित महसुस हुनु सिवाय अर्को उपाय थिएन । साँच्चै भन्ने हो भने नेपाल रहुञ्जेल इतिहासमा बाँचिरहने राजा महेन्द्रको त्यसै क्षण नै पुनर्जन्म भएको थियो । यस्तो पुनर्जन्मलाई मरेर बाँच्नु पनि भनिन्छ ।माओत्सेतुङले सार्वभौमिकताबारेमा त्यस्तो भन्दा ‘१७ सालको कदम ठीक नभएको पनि सल्लाह दिएका थिए । चीनबाट फर्केपछि पहिलो काम राजा महेन्द्रले बीपीहरूलाई जेलबाट छोडिदिए । ‘तिमीहरूलाई भारतीय सैनिक पोस्ट उखेल्न गाह्रो हुन्छ । सक्दैनौँ । त्यसमा मलाई पनि एक÷दुई वर्ष लाग्न सक्छ तबसम्म जनताको थप विश्वास जित्ने काम गर ती सैनिक क्याम्प भारत फिर्ता पठाइसकेपछि १७ सालको कदम फिर्ता लिन्छु ‘बीपीले कुरो नबुझेर बेफ्वाकमा इन्दिरा गान्धीको आठ वर्ष लेन्डुपदोर्जे कहर झेल्नु भयो त्यो अर्कै अध्यायको विषय हो ।मुख्य काम १९ वर्षदेखि १८ ठाउँमा गाडिएका भारतीय सैनिक पोस्ट उखेल्नु सानो चुनौतीको विषय थिएन । सैनिक बलले भारतसँग भिड्नु कल्पनाभन्दा बाहिरको कुरो हुन्थ्यो । महेन्द्रले कूटनीतिक चातुर्यको बाटो समाए । सन् ६२ (विसं २०१९)को चीन भारत युद्धमा भारत नराम्रोसँग हारेको माओत्सेतुुङसमक्ष नेहरु गुहारको अवस्थामा पुगेका थिए । माओत्सेतुङको आड देखाउन चिनियाँ पक्षधर चिनारी बनाएका किर्तिनिधी विष्ट प्रधानमन्त्रीलाई आदेश गरेर एकै छिमलमा १७ वटा क्याम्प उखेलिए । एउटा जोगिएको कालापानी पोस्ट कालक्रममा महाकाली सन्धिमा बेचियो । गनिमत आज ती १७ वटा सैनिक पोस्ट नउखेलिएका भए कालापानी भारतको नक्साभित्र पुगेजस्तै पूरै नेपाल भारतको नक्साभित्र पुगिसक्ने परिणामले त त्यही देखाइरहेको छ । यसैलाई मैले नेपाल जोगिनुको चीन फ्याक्टर भनेको हुँ । अस्तु ।