काठमाडौं । रिलायन्स स्पिनिङ मिल्स लिमिटेडले नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से)ले गरेको आफ्नो कम्पनीको सेयर सूचीकरणमा तीव्र असन्तुष्टि व्यक्त गरेको छ । कम्पनीले शुक्रबार विज्ञप्ति जारी गर्दै नेप्से सूचीकरणका क्रममा अवलम्बन गरिएका आधार र अभ्यास समेत विपरीत रहेको ठहर गर्दै असन्तुष्टि व्यक्त गरेको हो ।
नेप्सेले शुक्रबार रिलायन्स स्पिनिङ मिल्स लिमिटेको प्रति सेयर अंकित तथा चुक्ता मूल्य एक सय रुपैंयाँ अंकित मुल्य कायम भएको एक करोड ९० लाख कित्ता साधारण सेयर सूचीकरण गरेको थियो । कम्पनीले सर्वसाधारण समक्ष ग्लोवल आइएमई क्यापिटल लिमिटेड (धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक) मार्फत साधारण सेयर खुल्ला बिक्री आव्हान गरेको थियो ।
यसरी सर्वसाधारण सेयरधनीहरुमा वितरण गरिएको १९ लाख २६ हजार छ सय कित्ता (१० दशमलव १४ प्रतिशत) र कम्पनीका संस्थापक सेयरधनीहरुले लगानी गरेको एक करोड ७० लाख ४३ हजार चार सय कित्ता (८९ दशमलव ८६ प्रतिशत ) सेयर समेत गरी जम्मा एक करोड ९० लाख कित्ता (१०० प्रतिशत ) साधारण सेयर धितोपत्र सूचीकरण विनियमावली, २०७५ बमोजिम मिति २०८२/१०/२९ गतेको निर्णयानुसार सूचीकरण गरिएको जानकारी नेप्सेले दिएको थियो । कम्पनीको सुचीकृत सेयरको दोस्रो बजार कारोबार यही फागुन चार गतेबाट हुने छ भने कारोबारको लागि एक सय रुपैंयाँदेखि तीन सय रुपैंयाँसम्मको ओपनिङ रेञ्ज दिएको छ । यही बिषयमा रिलायन्सले आपत्ती जनाएको हो ।
कम्पनीले बिज्ञप्ती जारी गर्दै भनेको छ, नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले तोकेको यस कम्पनीको सेयरको पहिलो कारोबार मूल्य सीमा (ओपनिङ रेन्ज) प्रति ध्यानाकर्षण भएको छ । सेयरको ओपनिङ रेञ्ज रु.१०० देखि रु. ३०० निर्धारण गरिएको जानकारी प्राप्त भएको छ, अंकित मूल्यको तीन गुणासम्म मात्र हो । यो सीमा यसअघि अन्य कम्पनीहरूको सूचीकरणका क्रममा अवलम्बन गरिएका आधार र अभ्याससमेत विपरीत रहेको कम्पनीको बुझाइ छ ।
कम्पनीलाई नेपाल धितोपत्र बोर्डले बुक बिल्डिङ विधिसम्बन्धी निर्देशिका बमोजिम कम्पनीलाई सेयर निष्कासनको अनुमति दिएको थियो । बुक विल्डिङ आधुनिक विधि भएकाले यसमार्फत निष्काशित सेयरको सूचीकरण सम्बन्धमा आवश्यक कानूनी तथा नीतिगत व्यवस्था गर्नुपर्ने नियामक निकायको जिम्मेवारी हो । यस कम्पनीले बुक बिल्डिङ विधि सामान्य विधिभन्दा फरक रहेको हुँदा सेयर सूचीकरणको प्रारम्भिक मूल्य निर्धारणको आधारसमेत फरक हुनुपर्ने ध्यानाकर्षण गराएको थियो । अन्ततः सोको सुनुवाइ नभएपछि कम्पनी सेयर सूचीकरण गर्न बाध्य भयो । यद्यपि कारोबारको सुरु मूल्य जतिसुकै निर्धारण गरिएता पनि हामी आदरणीय लगानीकर्ताहरूलाई कम्पनीको वास्तविक वित्तीय स्थितितर्फ ध्यानाकर्षण गराउन चाहछौँ, कम्पनीले भनेको छ । कम्पनीको प्रतिसेयर मूल्य रु. ९१२ काल्पनिक आधारमा नभई विज्ञ वित्तीय संस्थाहरूले कम्पनीको वित्तीय प्रक्षेपण तथा सम्भाव्यता समेतलाई मध्यनजर गरी तोकेको वास्तविक मूल्य हो । नेप्सेले नै योग्य संस्थागत लगानीकर्ताहरूबीच सिलबन्दी बोलपत्रमार्फत रु. ६०८ देखि रु. ९१२ सम्मको सेयर खरिद मूल्य सीमा कायम गरेको यहाँ स्मरणीय छ । संस्थागत लगानीकर्ताद्वारा तय भएको मूल्यमा बुक बिल्डिङ निर्देशिका बमोजिम १० प्रतिशत घटाएर आमसर्वसाधारण लगानीकर्ताको लागि रु.८२०।८० कायम भएको थियो, कम्पनीले बिज्ञप्ती मार्फात भनेको छ ।
कम्पनीको वर्तमान वित्तीय स्थिति समेतले रु. ९१२ लाई समर्थन गर्दछ । कम्पनीको २०८२/०८३ को दोश्रो त्रैमासिक (अपरिष्कृत) वित्तीय विवरण अनुसार कम्पनीको प्रतिसेयर नेटवर्थ रु. ४९० ५४ रहेको छ । तसर्थ, कम्पनीको वित्तीय अवस्था र सम्भाव्यताको उचित विचार गरी निर्णय गर्न सबै लगानीकर्तासँग अनुरोध गर्दछौँ, कम्पनीले विज्ञप्तिमार्फत भनेको छ ।