काठमाडौं । नेपाली राजदूतावास, मस्कटले नेपाल र ओमानबीच निर्यात, व्यापार तथा लगानी प्रवर्द्धन गर्ने उद्देश्यले अन्तरक्रिया कार्यक्रम आयोजना गरेको छ । उक्त कार्यक्रममा ओमानमा रहेका नेपाली उद्योगी–व्यवसायीहरू सहभागी भएका थिए ।
कार्यक्रमको ओमनका लागी नेपाली राजदूत डोरनाथ अर्यालले नेपाल–ओमान द्विपक्षीय सम्बन्धलाई थप सुदृढ बनाउन व्यापार तथा लगानीको भूमिका अत्यन्त महत्वपूर्ण रहेको बताए । सहभागीहरूलाई दुवै देशमा रहेका व्यापार तथा लगानीका अवसरहरूको खोजी गर्न आग्रह गर्दै नेपाल सरकारको लगानी आकर्षणसम्बन्धी प्राथमिकताहरूका बारेमा जानकारी गराएका थिए । साथै, उनले जनवरीमा भएको एक महिना लामो मस्कट नाईट फेष्टिवलमा राजदूतावासले नौ वटा स्टलहरू स्थापना गरी सहभागिता जनाएको बताए । उक्त महोत्सवमा नेपाली परम्परागत खाना (मोःमो), चिया तथा कफीको वितरण गरिनुका साथै विविध नेपाली उत्पादनहरूको प्रदर्शनी गरिएको थियो । यस पहलले नेपाली व्यवसायहरूको प्रवद्र्धनका लागि महत्वपूर्ण मञ्च प्रदान गरेको थियो । उक्त महोत्सव बीस लाखभन्दा बढी दर्शकहरूले अवलोकन गरेका थिए ।
कार्यक्रममा सहभागीहरुले नेपाल र ओमानमा रहेका विभिन्न क्षेत्रका व्यापार तथा लगानीका सम्भावनाहरू तथा भावी रणनीतिहरूबारे आफ्ना धारणा राखेका थिए । कार्यक्रममा गौतम श्रेष्ठले शेयर बजारसम्बन्धी आफ्नो अनुभव तथा ज्ञानमा केन्द्रित प्रस्तुतीकरण गर्दै नेपाल र ओमान दुवै देशमा शेयर लगानी गर्न नेपाली समुदायलाई प्रोत्साहित गरे । नेपाली राजदूतावास, मस्कटले यस्ता कार्यक्रमहरू मार्फत व्यापार तथा लगानी प्रवर्द्धन गर्ने कार्यलाई आगामी दिनहरूमा पनि निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेको छ ।