काठमाडौं । पश्चिमाञ्चल अटोमोबाइल्स डिलर्स एसोसिएसनले वाडा अटो शो २०२६ को आयोजना गर्ने भएको छ । पोखरामा चैत्र ११ देखि १५ गतेसम्म वाडा अटो शो हुने आयोजकले जनाएको छ ।
एसोसिएसनले पहिलो संस्करणको सफलतापछि सवारी साधन क्षेत्रमा रहेका आधुनिक प्रविधि विकासतर्फ सवारी धनी, सम्भावित ग्राहक एवं आम सर्वसाधारणको रुचिलाई ध्यानमा राखेर दोस्रो चरणको वाडा अटो शो गर्न लागेको जानकारी दिएको हो । प्रदर्शनीको व्यवस्थापन ग्लोबल एक्स्पोजिसन एन्ड मेनेजमेन्ट सर्भिसेज (जेम्स इभेन्टस्)ले गर्ने छ भने स्टल बुकिङ्ग छिट्टै खोलिने जनाइएको छ । नेपाली नयाँ वर्ष २०८३ को पूर्व आगमनमा नेपालको सुन्दर नगरी एवं पर्यटकिय राजधानी पोखरामा आयोजना हुन लागेको प्रर्दशनीमा साना, मझौला तथ ठूला सवारी साधन, पार्ट पुर्जा, लुब्रिकेन्ट, टायर, वित्तिय संस्था, तथा अन्य सबै सरोकारवाला व्यवसायी कम्पनीहरूको भव्य सहभागीता हुने आयोजकको अपेक्षा छ ।
नयाँ वर्ष २०८३ लाई मध्यनजर गरी सहभागी कम्पनीहरूबाट ल्याइने विभिन्न किसिमका आकर्षक अफरहरू, ईभी तथा आईसी इन्जनका नयाँ–नयाँ ब्रान्डहरू एवं अन्य थुप्रै मनोरञ्जनात्मक तथा सूचनामूलक कार्यक्रमहरू समावेश गरिने जनाइएको छ ।