काठमाडौं । लिट्मस इन्डस्ट्रिज लिमिटेडले भारतको पावर ग्रीड कर्पोरेसन अफ इन्डिया (पीजीसीआईएल)बाट उच्च क्षमताको विद्युत् प्रसारण लाइन आपूर्तिसम्बन्धी महत्वपूर्ण सम्झौता हासिल गरेको छ ।
सम्झौताअनुसार लिट्मस इन्डस्ट्रिजले ४०० केभी एसीएसआर मूस कन्डक्टर दुई हजार सात सय ९९ किलोमिटर उत्पादन तथा आपूर्ति गर्नेछ । यी कन्डक्टरहरू नेपालको डिडिङ्ग–ढल्केबर र भारतको बथनाहा सीमापार विद्युत् प्रसारण लाइन परियोजनामा प्रयोग गरिनेछ । उक्त प्रसारण लाइन नौ सय मेगावाट क्षमताको अरुण–३ जलविद्युत् आयोजनासँग सम्बन्धित छ । नेपालमै पहिलो पटक चार सय केभी एसीएसआर मूस कन्डक्टर उत्पादन हुन लागेको हो । यसले देशको प्रविधिक तथा औद्योगिक क्षमतामा महत्वपूर्ण उपलब्धि हासिल गर्ने कम्पनीले जनाएको छ ।
पीजीसीआईएल भारतको केन्द्रीय विद्युत् प्रसारण निकाय हो, यसले देशको अन्तर्राज्यीय तथा सीमापार विद्युत् प्रसारण सञ्जाल सञ्चालन गर्ने गरेको छ । यस स्वीकृतिसँगै लिट्मस इन्डस्ट्रिज सीमापार विद्युत् प्रसारण परियोजनाका लागि चयन हुने एकमात्र नेपाली उत्पादक बनेको छ । परियोजना स्वीकृत गर्नुअघि पावर ग्रीड कर्पोरेसन अफ इन्डियाले लिट्मस इन्डस्ट्रिजको कारखानाको गहन मूल्यांकन गरेको थियो । यस क्रममा उत्पादन प्रक्रिया, उत्पादन क्षमता, गुणस्तर नियन्त्रण तथा परीक्षण प्रणाली, साथै समग्र कारखाना पूर्वाधारको समीक्षा गरिएको थियो । यस गहन मूल्यांकनपछि लिट्मस इन्डस्ट्रिजलाई परियोजनाका लागि कन्डक्टर आपूर्ति गर्न योग्य एकमात्र नेपाली उत्पादकका रूपमा स्वीकृति प्रदान गरिएको हो ।
कम्पनीका अनुसार ढल्केबर–बथनाहा प्रसारण लाइन नेपालका महत्वपूर्ण ऊर्जा आयोजनामध्ये एक अरुण–३ जलविद्युत् आयोजनासँग सम्बन्धित मुख्य सीमापार संयोजन हो । नौ सय मेगावाट क्षमताको यो आयोजनाले नेपालको ऊर्जा सुरक्षालाई सुदृढ बनाउने अपेक्षा गरिएको छ । यसले औद्योगिक विकासलाई सहयोग गर्ने र नेपाल–भारतबीचको विद्युत् व्यापार विस्तार गर्ने विश्वास गरिएको छ । लिट्मस इन्डस्ट्रिजसँग ठूला प्रसारण परियोजनामा काम गरेको प्रमाणित अनुभव छ । यसअघि कम्पनीले हेटौंडा–ढल्केबर–इनरुवा प्रसारण लाइन परियोजनाका लागि नेपाल विद्युत् प्राधिकरणलाई चार सय केभी एसीएसआर मूस कन्डक्टर तीन हजार छ सय किलोमिटर आपूर्ति गरिसकेको छ । कम्पनीका अनुसार यो परियोजना नेपालका अत्यन्तै महत्वपूर्ण आन्तरिक प्रसारण मार्गहरूमध्ये एक हो ।