वीरगन्ज (पर्सा) । पर्साको पकहाँमैनपुर गाउँपालिकाबाट सशस्त्र प्रहरी बल नेपाल पर्सा र नेपाल प्रहरीको संयुक्त टोलीले कार चालकसहित १६० किलो गाँजा बरामद गरेको छ ।
पर्साको पकहाँमैनपुर गाउँपालिकाको मधुवनीचोकतर्फ आइरहेको प्र३–०१–००२च ५४३२ नम्बरको सुजुकीको स्वीफ्ट कारका चालक बुद्धिलाल घलानसहित संयुक्त टोलीले सोमबार सो परिमाणको गाँजा बरामद गरेको हो ।
गाँजासहित पक्राउ परेका चालक घलानलाई आवश्यक कारबाहीका लागि इलाका प्रहरी कार्यालय पोखरिया पठाइएको सशस्त्र प्रहरी बल नेपाल नम्बर १३ गण हेडक्वाटरका गणपति तथा सशस्त्र प्रहरी उपरीक्षक मोहनबहादुर क्षेत्रीले जानकारी दिए ।
सशस्त्र प्रहरीका अनुसार चालक घलानको साथबाट २२ हजार ५०० नगद र रियलमी कम्पनीको स्मार्टफोनसमेत बरामद भएको छ । गाँजासहित भेटिएका घलानले कारको डिक्कीबाट प्याकिङ गरेको गाँजा फ्याँक्ने क्रममा उनलाई पक्राउ गरिएको गणपति क्षेत्रीले बताए ।