दीपेन्द्र सिंह ऐरीको आक्रामक अर्धशतकमा नेपालले आईसीसी टी–२० विश्वकप २०२६ अन्तर्गत आफ्नो चौथो खेलमा स्कटल्याण्डलाई ७ विकेटले पराजित गरेको छ। १२ वर्षपछि विश्वकपमा जित निकालेको नेपालले १७१ रनको लक्ष्य १९।२ ओभरमा ३ विकेट गुमाएर पूरा गर्‍यो। मुम्बईस्थित वानखेडे स्टेडियममा टस जितेर बलिङ रोजेको नेपालले सुरुवातमा दबाब झेले पनि डेथ ओभरमा उत्कृष्ट प्रदर्शन गर्दै स्कटल्याण्डलाई ७ विकेटमा १७० रनमा रोक्यो।स्कटल्याण्डका लागि ओपनर माइकल जोन्सले ७१ रन बनाए। उनले जर्ज मुन्सेसँग पहिलो विकेटका लागि ८० रनको साझेदारी गरे। ब्रान्डन म्याकमुलेनले २५ रन जोडे। तर अन्तिम पाँच ओभरमा नेपालका बलर हाबी भए। सोमपाल कामीले ४ ओभरमा २५ रन दिएर ३ विकेट लिए भने नन्दन यादवले २ विकेट लिए। कप्तान रोहित पौडेल र कुशल भुर्तेलले समान १–१ विकेट लिए। जवाफी ब्याटिङमा कुशल र आसिफ शेखले पावरप्लेमै ५६ रनको साझेदारी गर्दै बलियो आधार बनाए। कुशलले ४३ र आसिफले ३३ रन बनाए। ९८र३ को अवस्थामा पुगेपछि दीपेन्द्र र गुल्सन झाले इनिङ्स सम्हाले। दीपेन्द्रले २३ बलमा ४ चौका र ३ छक्का प्रहार गर्दै लगातार दोस्रो अर्धशतक पूरा गरे भने गुल्सन २४ रनमा अविजित रहे। स्कटल्याण्डका बलर माइकल लिस्कले ३ विकेट लिए पनि टोलीलाई जित दिलाउन सकेनन्। रिची बेरिङटन, म्याथ्यु क्रस र मार्क वाटले अन्त्यतिर केही योगदान दिए पनि ठूलो स्कोर बनाउन सकेनन्।फिल्डिङमा सन्दीप जोराले महत्वपूर्ण क्याच लिँदै टोलीलाई सहयोग गरे। यसअघि नेपाल इंग्ल्यान्ड, इटली र वेस्ट इन्डिजसँग पराजित हुँदै समूह चरणबाट बाहिरिसकेको थियो। नेपालले यसअघि सन् २०१४ मा बंगलादेशमा भएको विश्वकपमा डेब्यु गर्दा हङकङ र अफगानिस्तानलाई हराएको थियो। त्यसयता विश्वकपमा जितविहीन रहेको नेपालले अन्ततः प्रतीक्षाको अन्त्य गरेको हो। यो जितले नेपालको विश्वकप यात्रा सुखद रूपमा टुंगिएको छ र आगामी अन्तर्राष्ट्रिय प्रतियोगिताका लागि टोलीलाई ठूलो आत्मविश्वास दिएको छ।