काठमाडौ । उद्योगी व्यवसायीको समस्या समाधान गर्न निजी क्षेत्रबाटै ठोस कदम चालिनु पर्नेमा जोड दिइएको छ । मोरङ उद्योग व्यापार संघ र चितवन उद्योग वाणिज्य संघका पदाधिकारीबीच विराटनगरमा भएको औपचारिक भेटघाटमा निजी क्षेत्रको सहकार्य आवश्यक रहेकोमा जोड दिएका हुन् ।
मोरङ उद्योग व्यापार संघका अध्यक्ष अनुपम राठीले दुवै संघका साझा एजेन्डाका विषयहरूमा ऐक्यबद्धताका लागि जोड दिनुका साथै दुवै संघबीचको द्विपक्षीय सम्बन्ध थप प्रगाढ बनाउने, निजी क्षेत्र बीचको सहकार्य र आपसी सम्बन्ध सुदृढीकरण, व्यापार प्रवद्र्धन तथा क्षमता अभिवृद्धि कार्यक्रमहरू सञ्चालन गर्नुपर्ने बताए । त्यसैगरी, संघका निवर्तमान अध्यक्ष तथा नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य नवीन रिजालले नेपालको समसामयिक आर्थिक अवस्था, राजनीतिक परिस्थिति, लगानी वातावरण, निजी क्षेत्रले भोगिरहेका चुनौतीहरू तथा सुधारका सम्भावनाबारे विस्तृत छलफल गर्दै मुलुकको विद्यमान अवस्था सुदृढिकरणका लागि निजी क्षेत्रबाटै ठोस कदम चालिनु पर्ने बताए । उनले निजी क्षेत्रका राष्ट्रियस्तरका एजेन्डा र नीतिहरूको सुधार, जिल्ला/नगर उद्योग वाणिज्य संघहरूबीच अझ प्रभावकारी सहकार्य लगायतका विषयहरूलाई सम्बोधन गराउन महासंघको नेतृत्व अझ सशक्त रूपमा अघि बढ्नु पर्ने बताए । चितवन उद्योग वाणिज्य संघका अध्यक्ष चिरञ्जीवी सुवेदीले दुवै संघ बीचको आपसी सहकार्यलाई निरन्तरता दिँदै उद्योग, व्यापार तथा उद्यमशीलताको दिगो विकासका लागि संयुक्त पहल गर्ने प्रतिबद्धता जनाए ।