विषम परिस्थितितर्फ लागको विदैशिक लगानीका लागि एउटा भरपर्दो सन्देश सामग्री पाइएको छ । यसलाई सकेसम्म प्रयोग गरौँ । यसले लगानीको वातावरण बनाउन केही न केही मद्दत गर्छ । खासगरी बितेको करिब आधावर्षदेखि वैदेशिक लगानीका सन्दर्भमा गलत प्रकारको सन्देश फैलिएको छ । खासगरी जेन–जी आन्दोलनका क्रममा निजी क्षेत्रको ठूलो क्षति भयो । विभिन्न अध्ययनहरूले यस्तो प्रत्यक्ष क्षतिको अंक करिब आधाखर्ब रुपैयाँको छ भनेका छन् । आन्दोलन जेन–जीको नाममा भयो । त्यसबाट अहिले धमाधम नयाँ भन्ने दलहरूले फाइदा उठाउँन खोजिरहेका छन् । निर्वाचनमा आफ्ना पक्षमा मत पार्न यो आन्दोलनको नेतृत्व उनीहरूबाटै भएको भनेर बताइआइएकै छ । तर त्यसो हो भने यति ठूलो क्षति कसले गरायो त ? भन्ने प्रश्नले उत्तर पाएको छैन । न यति ठूलो क्षतिवापत कोही दण्डित भएका छन् । यसकारण पनि केही–केही बाहेक औद्योगिक क्षेत्रलाई पहिलेको अवस्थामा ल्याउन सकिएको छैन । यस्तो बेला नेपालले लगानी बढाऔँ भनेर अपिल गर्ने ठाउँ नै गुमाएको अवस्था खडा भएको बुझाउँछ । खासगरी वैदेशिक लगानीका सन्दर्भमा यो सामान्य कुरा होइन ।
यस्तो बेला लगानीका सन्र्दभमा हालै एउटा तथ्यांक सार्वजनिक भएको छ । त्यो हो लगानीकर्ताले नेपालको औद्योगिक तथा व्यावसायिक क्षेत्रमा गरेको लगानीको लाभ अंशवापत १० अर्ब रुपैयाँभन्दा बढी फिर्ता लगेका देखिनु । निश्चय नै आर्थिक वर्षको छ महिना विषम अवस्थामा गुज्रिएको छ । तर पनि यो समयमा विदेशी लगानीकर्ताले नेपालबाट १० अर्ब ३३ करोड ४५ लाख रुपैयाँ लाभांश लगेछन् । सम्बन्धित सरकारी निकायका अनुसार गएको साउनदेखि पुससम्मको छ महिनामा विदेशी लगानीकर्ताले लगानी प्रतिफल स्वरूप लैजाने लाभांश १० गुणाले बढेको पाइएका छ । अघिल्ला वर्षहरूको तुलनामा लाभांश बढ्नु भनेको लगानीका लागि सकारात्मक सन्देश पनि हो । जस्तो गत आर्थिक वर्षको छ महिनामा एक अर्ब ६१ करोड ६० लाख रुपैयाँमात्र विदेशी लगानीकर्ताले लाभांश लगेका थिए । यस वर्ष पुसको एक महिनामा मात्र पाँच अर्ब ३० करोड ४५ लाख रुपैयाँ लाभांश वितरण भएको तथ्यांकले देखाउँछ । अघिल्लो आर्थिक वर्षमा १० अर्ब १८ करोड ७६ लाख रुपैयाँ लाभांश वितरण भएको थियो । त्यो अंक चालु वर्षको छ महिनामै पुगेको छ । विभागका अनुसार सेवा, पर्यटन र सञ्चार प्रविधमा लगानी गरेबापत ठूलो लाभांश जाने गरेको छ । कृषि तथा वन पैदावरमा आधारित, ऊर्जामूलक, सूचना, प्रसारण तथा सञ्चार प्रविधि र उत्पादनमूलक उद्योग तथा व्यवसाय बढी नाफा हुने क्षेत्रमा पहिचान भएका देखिन्छ ।
अरू जेहोस् यतिबेला नेपालको वैदेशिक लगानीको क्षेत्रलाई खाँचो परेको कुरा हो गुमको साख फर्काउनु र लगानी गरेबापत विदेशीहरूले निरन्तर लाभांश लैजाने वातावरण रहेको जानकारी गराउनु । नेपालमा साना र मझौला उद्योगमा वैदेशिक लगानी ठूलै मात्रामा हुने गरेको स्थिति छ । जेन–जी आन्दोलनले पु¥याएको क्षतिको ठूलो पक्ष भनेको लगानीको क्षेत्र सुरक्षित छैन भन्ने हो । स्वदेशी लगानीकर्ताहरूले त्यस्तै महशुस गरिरहेका छन् । सिंहदरवार जलाउनेलाई त केही भएन भने जाबो निजी क्षेत्रको एउटा उद्योगको कसले वास्ता गर्ला भन्ने प्रश्न निरुत्तरित छ । ठूला नेताका घर–सम्पत्ति नष्ट भएका तर्फपनि राज्यले उचित रुपमा ध्यान दिएको देखिँदैन । यस्तो बेला वैदेशिक लगानीकर्ताहरूले ठूलो–ठूलो अंकमा लाभांश रकम लगेका कुरा वास्तवमा नै अधिक प्रचारयोग्य हुन् । यो समयमा सबैभन्दा धेरै लाभांश लैजानेमा भारतीय उद्योगी तथा व्यवसायीहरू रहेका बताइएको छ भने आयरल्यान्ड, अस्ट्रेलिया, बेलायत, पाकिस्तान, मौरिसस, सिगांपुर, बंगलादेशलगायतका उद्योगी तथा व्यवसायीहरू पनि अधिक लाभ लिनेमा पर्छन् । यदि लगानी खोज्ने हो भने सम्बन्धित निकायले यो कुरालाई निर्धक्कसँग भन्न सक्नुपर्छ ।