काठमाडौं । इन्टरनेशनल करिकुलम एसोसिएसन (आईसीए)ले संस्कृति इन्टरनेसनल स्कुलकी संस्थापक निर्देशक दीप्ति आचार्यलाई सन् २०२५–२०२६ का लागि आईसीएको राजदूतमा नियुक्त गरेको छ ।
विद्यालयहरूलाई सहयोग गर्दै आएको विश्वव्यापी संस्था आईसीएले आचार्यलाई नेपाल तथा छिमेकी देशहरूको लागि प्रतिनिधि तोकेको हो । आचार्यले आईसीएअन्तर्गत सञ्चालित अन्तर्राष्ट्रिय प्रारम्भिक वर्ष पाठ्यक्रम, अन्तर्राष्ट्रिय प्राथमिक पाठ्यक्रम/अन्तर्राष्ट्रिय मध्य वर्ष पाठ्यक्रममार्फत सिकाइ सुधारमा प्रतिबद्ध शिक्षकहरूको सञ्जाल विस्तार र सुदृढ गर्न भूमिका खेल्नेछिन् । आचार्यको नेतृत्वमा सञ्चालित संस्कृति इन्टरनेसनल स्कुल दक्षिण एसियामा प्रतिष्ठित अन्तर्राष्ट्रिय प्राथमिक पाठ्यक्रम मान्यता प्राप्त गर्ने पहिलो विद्यालय बन्न सफल भएको थियो । राजदूतका रूपमा नियुक्त भएपछि उनले अन्य विद्यालयहरूलाई पनि मार्गदर्शन गर्ने, तालिम सञ्चालन गर्ने तथा अन्तर्राष्ट्रिय पाठ्यक्रमहरूको गुणस्तरीय कार्यान्वयनलाई क्षेत्रभर प्रवर्द्धन गर्ने भूमिका निर्वाह गर्ने जनाइएको छ ।
आईसीएको यस ‘आईसीए एम्बासडर’ कार्यक्रमले सिकाईमा सुधार दर्शनलाई उत्कृष्ट रूपमा बुझेर प्रभावकारी कार्यान्वयन गरेका अनुभवी शैक्षिक नेतृत्वकर्ताहरूलाई छनौट गर्ने गरेको छ । आचार्यको कार्यकाल अन्तर्राष्ट्रिय विद्यालयहरूको सञ्जाल सुदृढ बनाउने तथा शिक्षण विधि र नेतृत्वका उत्कृष्ट अभ्यासहरू प्रवद्र्धन गर्नेमा केन्द्रित रहनेछ ।