काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थललाई गन्तव्य बनाएका दुई फरक कम्पनीका विमानहरू बुधबार डाइभर्ट भएका छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका अनुसार एक आन्तरिक र अर्को अन्तर्राष्ट्रिय विमान कम्पनीका जहाजहरू डाइभर्ट भएका हुन् । इस्ट्यानबुलबाट काठमाडौं आएको टर्किस एयरलाइन्सको जहाज जीपीडब्लुएस वार्निङका कारण काठमाडौं अवतरण नगरी बंगलादेशको ढाका जानुपरेको थियो । त्यस्तै प्राविधिक कारणले बुद्ध एयरको विराटनगरबाट काठमाडौंका लागि उडेको जहाज पनि अन्ततः विराटनगर नै फर्किएको थियो ।
विमानस्थलका प्रवक्ता सन्तुष्ट कुमार बस्नेतले टर्किस एयरलाइन्सको जहाज जीपीडब्लूएसको वानिङका कारण ढाका गएर केही समस्या नदेखिएपछि पुनः काठमाडौं नै फर्किएको जानकारी दिए । उनका अनुसार कहिलेकाहीँ डाँडा, रुख नजिक आएको अलर्ट गराउने र इरर देखाउने गर्छ । टर्किस एयरलाइन्सको टीके७२६ कलसाइनको जहाजमा पनि बुधबार त्यस्तो देखिएपछि थप प्रिपरेसनका लागि जहाज ढाका गएको उनले जानकारी दिए ।
ढाकामा प्राविधिक परीक्षणपछि सामान्य देखिएपछि जहाज काठमाडौंमै फर्किएको उनको भनाइ छ । ‘जीपीडब्लूएस वार्निङ साइन हुन्छ । कहिलेकाही डाँडा, रुख नजिक आयो भने अलर्ट देखाउँछ’, उनले भने, ‘टर्किस (जहाज)मा त्यही भएको हो । थप प्रिपरेसन र प्रिकसनका लागि ढाका गएर नर्मल चेकपछि जहाज काठमाडौंमै फर्किएको हो ।’जीपीडब्लूएस अर्थात् ग्राउन्ड प्रोक्सिमिटी वार्निङ सिस्टम भनेको जहाजको महत्वपूर्ण सुरक्षा प्रणाली हो । यसले पाइलटलाई जहाज कुनै वस्तुको नजिक पुगेमा अलर्ट गराउँछ । राडार अल्टिमिटर, जीपीएस र टेरेन डेटाबेस प्रयोगद्वारा असुरक्षित उडान मार्गहरू पत्ता लगाई सम्भावित दुर्घटना (कन्ट्रोल्ड फ्लाइट इनटु टेरेन–सीएफआईटी) बाट जोगाउन मद्दत गर्ने उनको भनाइ छ । त्यस्तै बुधबार नै बुद्ध एयरको जहाजमा पनि प्राविधिक समस्या देखिएपछि विराटनगर नै फर्किएको बस्नेतले जानकारी दिए ।