गुल्मी जिल्लाको छत्रकोट गाउ“पालिका वडा नं ३ हर्दिनेटाका मधुकृष्ण पौड्याल हाल देवदह नगरपालिका रुपन्देहीका प्रमुख प्रशासकीय अधिकृत छन् । २०८१ सालमा आन्तरिक प्रतिस्पर्धाबाट उपसचिव पदमा पदोन्नती भई लुम्बिनी प्रदेश सरकार मातहत केही अवधि कार्यसम्पादन पौड्याल हाल आठ महिनादेखि देवदह नगरपालिका रुपन्देहीमा प्रमुख प्रशासकीय अधिकृतको रुपमा कार्यरत छन् । उनै प्रमुख प्रशासकीय अधिकृत पौड्यालस“ग आर्थिक दैनिकका लागि पोसकान्त पोखरेलले गरेको कुराकानीको सम्पादित संक्षिप्त अंश
देवदहमा ठूलो संख्यामा पुर्जा नभएका जग्गाहरू छन् । उक्त क्षेत्रमा वैधानिकता दिन वा लालपुर्जा वितरण प्रक्रियालाई गति दिन नगरपालिकाले हालसम्म के–कस्ता ठोस कदम चालेको छ ?
देवदह नगरपालिका क्षेत्रमा रहेका जग्गाधनी प्रमाण पूर्जा विहिन नागरिकहरूलाई पूर्जा वितरणका लागि भूमि समस्या समाधान आयोगले आफ्नो काम अगाडी बढाइरहेको छ । हालसम्म अव्यवस्थित बसोबासीहरूको लागि ७८६ वटा पुर्जा वितरण भइसकेको छ भने आवेदन संकलन १६२८६ र १२५० हेक्टर जग्गा नापजाँच भइसकेको छ । यसमा नगरपालिकाले आफैँले करारमा जनशक्ति तथा अन्य सामग्री समेतको व्यवस्थापन गरी नापजाँच तथा तथ्याङ्क संकलन विवरण तयारी तीव्रताका साथ गरिरहेको छ ।
जग्गाको निस्सा पाएका तर पुर्जा नपाएका नागरिकका लागि तिरो (कर) व्यवस्थापन र बैंकिङ कारोबारमा सहजीकरणका लागि नगरपालिका कसरी अगाडी बढेको छ ?
जग्गाको निस्सालाई आधार मानेर भूमीकर निर्धारण गरिएको छ भने सोही कर तिरेको रसिदका आधारमा काम कारबाही अगाडी बढिरहेको अवस्था छ । बैकिङ कारोबारका लागि घरहरूको हकमा अभिलेखिकरण गराई सोही बमोजिम नै सहजीकरण भइरहेको छ ।
गौतम बुद्धको मावली स्थलको रूपमा विश्वभर परिचित देवदहलाई लुम्बिनी सर्किटसँग जोडेर पर्यटकको बसाइ लम्ब्याउन कति सम्भव छ ? त्यसका लागि नगरपालिकाले के कस्ता कार्यहरू गरेको छ ?
देवदह नगरपालिकाले यस क्षेत्रलाई गौतम बुद्धको मावली स्थलको रुपमा ऐतिहासिक, धार्मिक, सांस्कृतिक तथा पुरातात्विक महत्वसमेतलाई विकास गर्न बुद्ध परिपथका अन्य नगरपालिकाहरू सँगको सहकार्यमा विश्वमा समेत प्रचार प्रसार गरिरहेको छ भने पर्यटकीय स्थलका रुपमा विकास गरी लुम्बिनी आउने पर्यटकहरूलाई यस क्षेत्रमा भित्र्याउने र बसाई लम्ब्याउने गरी विभिन्न पुरातात्विक क्षेत्रहरूको उत्खनन तथा संरक्षण र पूर्वाधार विकासका लागि एसियाली विकास बैंकको ऋण अनुदानमा सहरी उत्थानशीलता तथा जीवनयापन सुधार आयोजना संचालनमा रहेको छ भने विश्व बैंकको ऋण सहयोगमा वृहत् लुम्बिनी क्षेत्र विकास आयोजनाको सम्बन्धमा छलफल तथा आयोजना स्वीकृतिको चरणमा रहेको छ ।
पुरातात्विक क्षेत्रहरूको संरक्षण र उत्खननमा संघीय सरकार र लुम्बिनी विकास कोषसँग नगरपालिकाको समन्वय कत्तिको छ ?
यस देवदह क्षेत्रका पुरातात्विक क्षेत्रहरूको उत्खनन तथा संरक्षणमा संघीय सरकारको खासै चासो रहेको देखिँदैन तर नगरपालिकाको आफ्नै लगानीमा लुम्बिनी विकास कोषको सहयोगमा विभिन्न स्थानमा उत्खननका कार्यहरू भएका छन् ।
नगरपालिकाको दीर्घकालीन गुरुयोजनाका मुख्य प्राथमिकताहरू के–के छन् ? बजेट कार्यान्वयनमा मुख्य बाधक बनेका तत्वहरू छन् कि छैनन्् ?
खास गरी नगरपालिकाका प्राथमिकताका क्षेत्रहरू स्वास्थ्य, शिक्षा, कृषि, पर्यटन र पूर्वाधार नै हुन् । तर बजेट तथा योजनाका आधारमा हेर्नेहो भने पूर्वाधार प्रथम स्थानमा देखिन्छ । बजेट तर्जुमामा सामाजिक तथा आर्थिक क्षेत्रमा भन्दा पूर्वाधारको क्षेत्रमा बढि विनियोजन तथा खर्च हुने गरेको देखिन्छ ।
पछिल्लो समय देवदहमा बढ्दो सहरीकरणसँगै फोहोरमैला व्यवस्थापन मुख्य चुनौती बनेको छ । यसको दिगो समाधानका लागि नगरपालिकाले के गरेको छ ?
सहरीकरण बढ्दै जानु विकसित मुलुकको विभिन्न सूचकहरू मध्येको सूचक पनि हो तर सँगसँगै विभिन्न चुनौतिहरू पनि थपिने हुन्छ नै । फोहोरमैला व्यवस्थापनको दिगो समाधान सायद एकमात्र स्थानीय तहको एकल प्रयासले सम्भव पनि हुँदैन । यसको लागि कम्तिमा पनि सिमाना जोडिएका पालिकाहरू र समग्रमा जिल्लाभित्र वा अन्तरजिल्ला समेतका पालिकाहरूसँगको सहकार्य आवश्यक देखिन्छ । देवदह नगरपालिकाले हाललाई अस्थायी रुपमै व्यवस्थापन गरिरहेको छ ।
विकास निर्माणका काममा हुने ढिलासुस्ती र गुणस्तरहीनतालाई रोक्न नगरपालिकाले अनुगमन संयन्त्रलाई कसरी प्रभावकारी बनाइएको छ ?
नगरपालिकाले आफूले कार्यान्वयन गर्दै आएका विकास निर्माणलगायतका अन्य कार्यक्रमहरूको अनुगमनको लागि नगर उपप्रमुखको संयोजकत्वमा रहने अनुगमन तथा मूल्याङ्कन समिति नै सक्रिय रहेको छ । यसले निरन्तर अनुगमन गर्दछ । गुणस्तरीय निर्माणका लागि नगरपालिकाले आफ्नै ल्याब स्थापना गरी ल्याब परीक्षणका आधारमा गुणस्तरमा कमी देखिएमा सुधार्न लगाउने गरेको छ ।
स्थानीय युवाहरूलाई रोजगारी सृजना गर्न र कृषि क्षेत्रको व्यावसायीकरणका लागि नगरपालिकाले कस्ता कार्यक्रमहरू ल्याएको छ ?
विभिन्न प्रकारका सीपमूलक तालिमहरू संचालन गर्दै कृषि क्षेत्रमा आधुनिकीकरण, यान्त्रिकरणका लागि कृषकहरूको आवश्यकता र मागका आधारमा विभिन्न प्रकारका आधुनिक कृषियन्त्र उपकरणहरू, विउ विजनहरू उपलब्ध गराउँदै आएको छ ।
नगरपालिकाको बेरुजु अधिक देखिन्छ । आर्थिक अनुशासन कायम गर्न नसक्नु र असारे विकासमा बजेट सिध्याउने प्रवृत्तिलाई रोक्न कस्ता कदमहरू चाल्नु भएको छ ?
आर्थिक अनुशासन कायम गर्न नगरपालिकाले आन्तरिक नियन्त्रण प्रणाली तर्जुमा गरी कार्यान्वयन गरिरहेको छ भने नगरसभामा समेत लेखा समिति रहेको छ । असारमा विकास बजेट सिध्याउने प्रवृत्ति नेपालकै रोग जस्तो देखिएको छ । समयमा काम सकिएर पनि भुक्तानीको लागि ढिला फाइल पेश गर्दा पनि बजेट खर्च अन्तिम चौमासिकमा बढि हुने गरेको देखिएको छ । यसलाई एकैपटकमा निर्मूल पार्न नसकिने भएकोले उपभोक्ता समितिले गर्ने कार्यहरूलाई समय सीमा तोकेर सम्झौता गराइ कार्यान्वयन गर्ने र ठेक्काबाट सम्पादन गर्ने कार्यहरूलाई प्रथम चौमासिक भित्र बोलपत्रसम्बन्धी कामहरू गरिसक्ने गरी अगाडि बढेका छौँ ।
नगरपालिकाका सूचनाहरू पारदर्शी छैनन् । सूचनाको हक प्रयोग गर्दा पनि विवरण पाउन कठिन छ भन्ने जनगुनासो सुनिन्छ त्यसको वास्तविकता के हो ?
वास्तविकता त्यस्तो होइन । सूचना मागेको विषयमा उपलब्ध गराउन सकिनेमा उपलब्ध गराउँदै आएको छ भने कतिपय सूचना माग्ने वित्तिकै विवरण तयार गर्न नसकिने भएकोले केही ढिला भएको हुन सक्छ तर नदिएको भन्ने चाँहि सत्य होइन ।
बुटवलको छिमेकी हुनुको लाभ देवदहले लिन सकेको पाइँदैन । देवदह केवल बुटवलको ‘आवासीय डम्पिङ’ मात्र बन्दै गएको छ, यहाँको आफ्नै पहिचान र व्यवस्थित सहरीकरणका लागि तपाईँको योजनाके छ ?
बुटवलको छिमेकी हुनुको नाताले प्राप्त हुने लाभ यस देवदहले लिइनै रहेको छ । बजार, स्वास्थ्य सेवा सुविधाहरू, यातायात, रोजगारी, उद्योगजस्ता क्षेत्रहरूमा यस नगरपालिकाले लाभ लिइरहेको छ । यो क्षेत्र बुटवलको आवासिय डम्पिङ्ग होइन नजिकको राम्रो र उपयुक्त विकल्प बनिरहेको छ । नयाँ सहरको विकास हुने क्रममा रहेकोले यस क्षेत्रलाई व्यवस्थित सहर बनाउन भवन संहिता पालना, फराकिला, चौडा तथा उज्याला सडक, खानेपानी, विद्युत् जस्ता सेवाहरू, नगर अस्पतालसहितका स्वास्थ्य सेवाहरू उपलब्ध गराउँदै नगरपालिका अगाडी बढेको छ ।
धेरै स्थानीय तहहरूमा योजना छनौट गर्दा पहुँचवाला र नेताका खल्तीका योजनालाई प्राथमिकता दिने तर वास्तविक आवश्यकतालाई लत्याउने गरेको जनगुनासो सुनिन्छ देवदहमा त्यसको अवस्था कस्तो ?
योजना छनौट पक्कै पनि आवश्यकता र मागका आधारमा नै हुने हो । यस नगरपालिकामा पनि त्यसै अनुरुप नै बस्तीस्तरबाट योजना छनौट हुँदै कार्यपालिका तथा नगरसभामा पुगेर टुङ्गिन्छ । पहुँचको भरमा योजना छनौट हुनु र टुक्रे योजनामा बजेट विनियोजन हुनु समग्रमै समस्या हो जस्तो लाग्छ ।
डिजिटल सेवामा नगरपालिकाको प्रगति के कस्तो छ ?
नगरपालिकाले आफ्ना सूचनाहरू वेभसाइटमा अद्यावधिक गर्ने गरेको छ । राजश्व संकलन पूर्ण रुपमा विद्युतीय माध्यमबाट अनलाइन प्रणालीमा हुने गरेको छ भने करदाताले क्यूआर स्क्यान गरी कर तिर्न सक्ने व्यवस्था मिलाएको छ । भुक्तानी पूर्ण रुपमा बैंकिङ प्रणालीमा आवद्ध रहेको छ ।
प्रशासनिक प्रमुखको हैसियतले काम गर्दा सीमित स्रोत–साधन र असीमित जनअपेक्षा बीचको सन्तुलन मिलाउन कति कठिन छ ?
स्थानीय तहमा आफ्नो कार्य सम्पादन गर्नुको सौन्दर्यता नै यही हो कि कतिपय विषयहरू आम नागरिकलाई समय दिएर ध्यानपूर्वक समस्या तथा माग सुन्दा पनि धेरै हदसम्म समाधान गर्न सकिन्छ । वास्तवमा आम नागरिकका अपेक्षाहरू असिमित छन् तर प्राथमिकता निर्धारण गरी तत्कालको आवश्यकता सम्बोधन गर्न सके नागरिकलाई खुसी पार्न सकिन्छ ।
अन्त्यमा, देवदहलाई विकसित सहरको रुपमा स्थापित गर्न यहाँका योजना के के छन् ? नागरिक र सरोकारवालासँग के अपेक्षा छ ?
भू–उपयोग योजनासहित व्यवस्थित बस्ती विकास, कृषियोग्य भूमीको संरक्षण तथा उपयोग, सुन्दर, सफा, फराकिला, उज्याला सडक, फोहरको उचित व्यवस्थापन तथा उद्यमशिलता विकास र रोजगारी सिर्जना नै विकसित सहरका सूचकहरू हुन् । ती सूचकहरूको विकासको क्षेत्रमा आफ्नो ज्ञान, सीप, क्षमता तथा समय लगाउने गरी आफूले काम गर्ने योजना रहेको छ । यस कार्यमा देवदह बासी सम्पूर्ण नागरिकहरू तथा सम्पूर्ण सरोकारवालाहरूको पूर्ण सहयोगका साथै हाल नगरपालिकाले सम्पादन गरिरहेको कार्यहरूको सम्बन्धमा विकाउमात्र नभई टिकाउ हुने खालको आलोचनात्मक तथा रचनात्मक सुझावको अपेक्षा गर्दछु ।