रामवीर मानन्धर नेपाली कांग्रेसमा प्रवेश गरेका छन्। राष्ट्रियसभा गृहमा आयोजित एक कार्यक्रमबीच गगन थापा ले उनलाई पार्टीमा स्वागत गर्दै सदस्यता प्रदान गरेका हुन्।मानन्धर यसअघि नेकपा एमालेका नेता तथा पूर्वराज्यमन्त्री रहिसकेका छन्। २०७० र २०७४ सालको प्रतिनिधिसभा निर्वाचनमा काठमाडौं–७ बाट विजयी भएका उनले २०७९ सालको निर्वाचनमा भने बागी उम्मेदवारी दिएका थिए। त्यसयता केही समय निष्क्रिय रहे पनि उनी पुनः एमालेमा सक्रिय भएका थिए। २०७० सालको निर्वाचनमा उनले कांग्रेसकी प्रमिला डंगोल र माओवादी केन्द्रकी हिसिला यमी लाई पराजित गर्दै प्रतिनिधिसभामा स्थान बनाएका थिए। त्यस्तै २०७४ मा राप्रपाका विक्रम थापा लाई हराउँदै दोस्रो पटक विजयी भएका थिए। लामो समय एमालेमा सक्रिय राजनीतिमा रहेका मानन्धरको कांग्रेस प्रवेशलाई काठमाडौंको राजनीतिक वृत्तमा अर्थपूर्ण रूपमा हेरिएको छ। कांग्रेसले आगामी राजनीतिक रणनीतिमा शहरी क्षेत्रमा प्रभाव विस्तार गर्ने सन्दर्भमा उनको प्रवेशलाई महत्वपूर्ण उपलब्धिका रूपमा व्याख्या गरेको छ।