देश विकास हुन, शिक्षा, प्रविधि, राजनीतिक स्थिरता र विश्व व्यापारमा अगाडि हुनु पर्दछ । नेपाल कृषिप्रधान देश भनिए पनि अधिकांश जनता अझै परम्परागत खेतीमै अल्झिएर बसेका छन् । आजको दिनसम्म पनि अन्य मुलुकबाट तरकारी तथा फलफूल आयात गर्नुपर्ने बाध्यता छ । भण्डारणको अभाव, सही तरिकाले नभएको वितरण प्रणाली र राज्यको कृषिलाई हेर्ने ठोस कदम नभएकोले जनताहरू र कृषकहरू अत्यन्त पीडामा बस्नुपरेको बाध्यता छ । कृषिलाई उद्योगको रूपमा हेर्नुपर्ने, किसानलाई प्राथमिकता दिनुपर्ने, सहज रूपमा मल र बीउ बिजनको उपलब्धता हुनुपर्ने, सहज बजार व्यवस्था हुनुपर्ने लगायत किसानलाई उचित बीमाको व्यवस्थापन तथा कृषि ऋणलाई सहजीकरण हुनु पर्नेमा खाली गफकै भरमा सत्ता हाक्ने प्रवृत्तिले देशका आजका युवाको भविष्य कतातिर भन्ने प्रश्न आज गम्भीर विषय बनेको छ ।
संसारमा जुन देशमा धेरै कृषि योग्य जमिन छन् त्यो देश आज कृषिमा मात्र निर्भर नभई औद्योगिकीकरणतर्फ उन्मुख भएर विकसित राष्ट्रमा अगाडि बढिसकेको अवस्था छ भने नेपाल न कृषिमा आत्मनिर्भर छ न त उद्योग अनि व्यापारमा, न त खानी उत्खनन छन्, न त उत्पादन क्षेत्रमा नै अगाडि छ । सबै अर्थतन्त्र आयातमुखीमा चलेको छ, अझ कृषिमा समेत आयातमुखी हुनु लाजमर्दो कुरा हो किनकि जुन देशलाई कृषि प्रधान भनिन्छ । नेपालको कुल जमिनमध्ये जम्मा २८–३०% (खेतीयोग्य र चरन) जमिनमात्र कृषि योग्य जमिनमा लिइएकोमा आज जथाभावी घर बनाउन अनुमति दिने, खेती योग्य जमिनको पहिचान राजाकै पालामा भए पनि त्यसलाई मस्याउने कामले कस्तो नेतृत्व हामीले पायौँ र कस्तो प्रजातन्त्र र लोकतन्त्र पायौँ भन्ने कुरा प्रष्ट देखिन्छ । भएका उद्योग बन्द गराउनु, कृषिलाई प्राथमिकता नदिनु र कृषि पेशालाई हेलत्वमा राख्नु के आउने पिँढीलाई बर्बाद गर्न खोज्नु त होइन भन्ने प्रश्न गहिरो रूपमा उठेको देखिन्छ, साथै अनियन्त्रित सहरले त नेपालको छवि धमिलो पारेको छ, तथापि हामी यति सुन्दर र शान्त राष्ट्र भनेर चिनिने देशमा ।
नेपालका अधिकांश ठाउँमा भित्त, पाखो, डल जमिनमा समेत अनियन्त्रित घर बन्यो र बन्ने क्रम जारी छ, साथै नदी किनारासमेत मासिँदै गएको देखिन्छ । यसले गर्दा खेती र चरनको जमिन कम हुँदै गई रहेको छ । फलस्वरूपः खाद्य उत्पादन पनि घट्दै गएको छ र चरन क्षेत्रमा समेत समस्या आएको छ ।
नेपालमा केही विकास देखिए पनि, विकाससँगै जमिनको नाश हुनु विनाश हो । खेतीयोग्य जमिनमा घर बनाउन अनुमति दिनु भनेको भोलिको पिँढीलाई धोका दिनु हो । माटोलाई मार्नु हो, भोलिको लागि आजै अस्तित्व मेटाइदिनु हो, यदि हामी हाम्रो सन्तानलाई माया गर्छौँ भने वातावरण र माटो जोगाउनु आजका मानिसको कर्तव्य हो ।
शिक्षाले शिक्षित बनाउनु तर, त्यो शिक्षाले देश विकासमा टेवा नदिनु र त्यो शिक्षा व्यवहारिक नहुनुले हामी प्रविधीमा पनि कति पछाडि परेका छौंँ भन्ने प्रष्ट हुन्छ ।
आज धेरै देश मानव रहित रोबोटले काम गर्ने भइसक्दा नेपाल भने उही झगडा र राजनीतिक अस्थिरताको साथै पुरानै ढर्राले पढाउनुले भोलिका युवाले यो मार्केटमा कसरी कम्पिटिसन गर्छन् भन्ने सवाल उठेको छ र देश विकास गर्न, नयाँ उद्योग धन्दा गर्न साथै टेक्नोलोजिकल काम गर्न, नयाँ प्रविधि बनाउन र चलाउन कसरी सम्भव छ भन्ने पनि सवाल उठ्दछ । देशको आर्थिक विकास, योजना, प्रविधि र व्यवस्थापनमा जुन सिद्धान्त प्रयोग हुन्छ, त्यही सिद्धान्त कृषिमा पनि लागू गर्न सकिन्छ ।
लाखौँ युवा आज रोजगारीको नाममा विदेशिनु पर्ने बाध्यता किन भयो र नेपालमा २१% जमिन खेतीयोग्य हुँदा पनि त्यति पनि कति जग्गा बाँझै हुनु भनेको के नेपालमा लाजमर्दो कुरा होइन र? छिमेकी मुलुक भारतमा लगभग ६०% खेतीयोग्य जमिन हुनु र त्यसमा अत्यन्त वैज्ञानिक ढंगबाट खेती हुनु, किसानको समस्या राज्यले सुन्नु तथा युवालाई देशमै रोजगारी सिर्जना गरी देशमै बस्ने वातावरण बनाउनुले आज भारतको अर्थतन्त्र कहाँबाट कहाँ पुगिसकेको छ, तर नेपाल यति सानो देश पर्यटन र कृषिमा मात्र विकास गरी उत्पादनमा पहल गरेको भए आज देश कहाँ पुग्ने थियो होला ?
म जे पढाउँछु, जस्तो पढाउँछु तर देशमा बेच्न सक्ने, र देशको उन्नति प्रगति हुनुको साथै आफ्नो पनि गुजारा चल्ने काम देशमै पाइने भए न नेपाली इजरायल जानु पथ्र्यो, न त खाडी मुलुक नै । एकातिर श्रम गर्ने मानिसको कमी हुँदै छ भने अर्को तिर श्रम गर्न हरेक दिन हजारौँ युवा विदेशिनुपर्छ ।
विदेश जानु, सिप सिक्नु र पैसा कमाउनु नराम्रो होइन तर आफ्नो देशको मानिस रोजगारी नपाएर अरुको देशमा भौतारिनपर्नु चाहिँ लज्जास्पद विषय हो ।
संसारको महाशक्ति राष्ट्रमध्ये एक अमेरिका नेपालभन्दा लगभग ६७% ठूलो देशमा त ४४–४५% जमिन कृषि योग्य छ र त्यसलाई एकदम वैज्ञानिक ढंगबाट खेती गरिएको देखिन्छ । जुन देशमा सैन्य शक्तिदेखि, विश्वको सबैभन्दा ठूलो न्म्ए भएको देशमा, कला र संस्कृतिदेखि, फिल्म र संगीतमा पनि अग्रणी छ र पनि कृषिमा उन्नत खेती गरी सबैभन्दा बढी मकै, सोयाबिन, गहुँ, कपास उत्पादन गरी विश्व बजारमा निर्यातसमेत गरी अग्रणी स्थानमा रहेको छ । त्यतिमात्र नभई, मासु उत्पादन, ऊर्जा, दूध र अण्डासमेत अमेरिकामा अग्रणी रूपमा उत्पादन हुने हुनाले, यसले के देखाउँछ भने विकसित राष्ट्रमा खेती गर्दैनन् होइन, पशुपालन र अण्डा उत्पादन गर्दैनन् होइन, झन् विकसित राष्ट्रमा धेरै खेती भई, पशुपालन गरी आत्मनिर्भर छन् भन्ने दर्शाउँछ ।
त्यस्तै गरी आफ्नो क्षेत्रफलअनुसार धेरै खेतीयोग्य जमिन हुनेमा बंगलादेश (७२%), डेनमार्क (६२%), भारत (६०%), युक्रेन (५८%), नेदरल्यान्ड (५४%), कम्बोडिया (४९%), थाइल्यान्ड (४५%), भियतनाम (४६%), पाकिस्तान (४४%) पर्दछन् । जसले वैज्ञानिक खेतीलाई समेत ध्यान दिएका छन् ।
विश्वका ठूला देशको हेर्ने हो भने खेतीयोग्य जमिन र चरन क्षेत्र गरेर निम्न तथ्यांक देशको वर्गकिलोमीटरसमेत देखिन्छः
* रूसः १७,०९८,००० Km² (१३%)
* क्यानडाः ९,९८४,००० Km² (६–७%)
* अमेरिकाः ९,८३३,००० Km² (४४–४५%)
* चीनः ९,५९७,००० Km² (५६%)
* भारतः ३,२८७,००० Km² (६०%)
* नेपालः १,४७,५१६ Km² (२८–३०%)
नेपाल क्षेत्रफलका हिसाबले विश्वमा करिब ९३औँ स्थान वरिपरि पर्छ । छिमेकी राष्ट्र भारतको १५ लाख वर्ग किलोमीटर जग्गा खेतीयोग्य छ र नेपालको ३४,००० वर्ग किलोमीटर जग्गा खेतीयोग्य छ । तर भारतले कृषि क्रान्ति नै गरी बढी उत्पादन गर्छ भने नेपाल अझै पछाडि छ । तेही पनि त आशा लाग्दो पक्ष के छ भने, जनसंख्याअनुसार नेपालले अझै छिमेकी राष्ट्र र विश्वका ठूला राष्ट्रबाट सिकेर आधुनिक खेती गरेमा आत्मनिर्भर हुने देखिन्छ ।
कृषि योग्य जमिन मासिदै गएको छ, बसाइँ सराइको कारण पहाडी भेग धेरै ठाउँमा मानव विहीन हुँदै गइरहेका छन्, जहाँ जे फल्छ त्यो खान प्रोत्साहन नगरी आयातित खानेकुरामा जोड दिन थालिएको छ । सहर केन्द्रित मानसिकता बढ्दै गएको छ, युवाको जोश जाँगरमा कमी आउन थालेको छ र राज्यले पनि युवा लक्षित कार्यक्रम र कृषि उद्योग र पर्यटनमा जोड दिने खालका नीति ल्याए पनि त्यसलाई कार्यान्वयन उचित ढंगले गराउन सकेको छैन । हुने खाने र पहुँच हुनेले अनुदान लिने र खास गर्ने भन्नेले चाहि केही सुविधा पाएको छैन । युवाहरू निराशातिर उन्मुख हुन थालेका छन् । व्यवसाय गर्नेलाई राज्यले उचित प्रोत्साहन गर्नुको सट्टा निराश बनाएको छ । साना उद्योग र कृषिजन्य उद्योग, भण्डारण व्यवस्था र ढुवानी व्यवस्था गतिलो छैन । प्याजसमेत छिमेकी राष्ट्रबाट आउने अनि फलफूल पनि छिमेकी राष्ट्रबाट आउने तर आफ्नै खेतीयोग्य जमिन बाँझो राख्नुले देशको अर्थतन्त्र आयातमुखी भएको छ ।
त्यसैगरी पेट्रोलियम पदार्थ, फलाम, सुनको साथै गाडीको पार्टपुर्जा लगायत खाद्यान्न पनि नेपालमा आयात गर्नुपर्छ । जसले गर्दा व्यापार घाटा बढेको छ । २०८१÷०८२ मा नेपालको व्यापार घाटा, आयात करिब १.८०४ खर्ब रुपैयाँ र निर्यात करिब २७७.३ अर्ब रुपैयाँ हुँदा कुल व्यापार घाटा करिब १.५२७ खर्ब रुपैयाँ पुगेको थियो । यसले पुँजी बाहिर जाने र युवा बेरोजगार बढ्ने प्रष्ट देखाउँछ ।
एकातिर आफ्नो व्यापार व्यवसाय नहुनु, ऊर्जावान युवा देशबाट विदेश पलायन हुनु, भएका उद्योग धन्दा बन्द गराइनु र नयाँ ठूला, मझौला र साना उद्योगको विकास हुन नसक्नु र राजनीतिक खिचातानीले युवामा निराशा छाउनुले देशको भविष्य र जनताको भविष्य के हो भन्ने प्रश्न उठ्न बाध्य भएको छ ।
अब सबैले इतिहास पढ्ने बेला आएको छ । के सबै पुराना कुरा नराम्रा थिए त? भन्ने केलाउने बेला आएको छ । प्रविधि नहुँदा गर्न खोजेको के थियो, नेपालमा कस्ता उद्योग खुलि सकेका थिए, जग्गालाई कसरी वर्गीकरण गरिएको थियो, वन जंगल जोगाउन र देशको छवि उच्च राख्न कस्ता काम गरिएका थिए त्यो केलाउने बेला आएको छ । आज नेपालमा गणतन्त्र आएपछि पनि देशमा कस्ता विकास भए, त्यसको लेखाजोखा गरी, कसरी जनतालाई उद्यमी बनाउने, अब भएको जग्गा र माटोलाई कसरी बचाउने, पहिले जस्तै औद्योगिक क्षेत्र कहाँ हो, बस्ती विकास कहाँ गर्ने, चरन क्षेत्र कहाँ हो सबै निर्णय गरी, सभ्य र भव्य नेपाल बनाउन सबै सम्बन्धित निकाय लाग्नै पर्दछ र नेपाललाई एक शान्त र समृद्ध राष्ट्र बनाउनै पर्दछ । यसले नेपाली जनता हरूको भविष्य कतातिर जाने भन्ने प्रश्न उठाएको छ र सोच्न बाध्य पनि बनाएको छ ।