काठमाडौँ । शिखर पावर डेभलपमेन्ट कम्पनीले साधारण सेयरको बिक्री आह्वान गरेको छ । पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि निष्कासन गरेकोमा उक्त सेयरको बाँडफाँटपछि कम्पनीले सर्वसाधारणको लागि सेयर बिक्रीको आह्वान गरेको हो ।
कम्पनीले जारी पुँजी ९८ करोड रूपैयाँको ३२ दशमलव ६५ प्रतिशत अर्थात् एक सय रुपैयाँ अंकित मूल्य कायम रहने गरी ३२ करोड रूपैयाँ बराबरको ३२ लाख कित्ता सेयर निष्कासन गर्ने अनुमति पाएको थियो । जसमध्ये नौ लाख ८० हजार कित्ता साधारण सेयर वातावरणीय प्रभाव मूल्यांकन प्रतिवेदनमा भएको विवरण तथा विद्युत् उत्पादन अनुमतिपत्रको आधारमा आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाहरूका लागि, दुई लाख २२ हजार कित्ता सेयर नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति प्राप्त गरी विदेशमा रोजगार गरी रहेका नेपालीहरुका लागि र एक लाख ११ हजार कित्ता सेयर सामूहिक लगानी कोषहरूका लागि निष्कासन गरी बाँडफाँट गरिसकेको छ ।
दोस्रो चरणमा भने कम्पनीमा कार्यरत कर्मचारीहरूका लागि ४४ हजार चार सय कित्ता छुट्याइ बाँकी रहेको प्रतिकित्ता एक सय रुपैयाँ अंकित मूल्यका १८ करोड ४२ लाख ६० हजार रूपैयाँ बराबरको १८ लाख ४२ हजार छ कित्ता सेयर सर्वसाधारण लगानीकर्ताहरूका लागि निष्कासन गर्न लागेको हो । यो सेयरमा न्यूनतम १० कित्ताका लागि आवेदन दिनुपर्नेछ भने अधिकतममा १० हजार कित्ताका लागि आवेदन दिन सकिनेछ । सेयर खरिदका लागि यही फागुन २२ गतेसम्म आवेदन दिन सकिने छ । सो समयसम्म सम्पूर्ण कित्ताको लागि आवेदन नपरेमा बिक्री अवधि चैत एक गतेसम्म लम्बिने छ । कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धक ग्लोबल आईएमई क्यापिटल लिमिटेड रहेको छ ।