नयाँदिल्ली । भारतीय अर्बपति मुकेश अम्बानीको समूहले आगामी सात वर्षमा कृत्रिम बौद्धिकतासम्बन्धी पूर्वाधारमा १ खर्ब १० अर्ब अमेरिकी डलरसम्म लगानी गर्ने भएको छ । ब्लुमबर्गका अनुसार पछिल्लो समय दू्रतगतिमा विकास भइरहेको एआई प्रविधिमा भारतीय धनाढ्य लगानी गर्न अग्रसर भएका हुन् ।
अम्बानीको रिलायन्स इन्डस्ट्रिज लिमिटेड र यसको दूरसञ्चार सेवा प्रदायक रिलायन्स जियो इन्फोकम लिमिटेडले एआईको लागत घटाउने प्रयासस्वरुप यो लगानी गर्न लागेका हुन् । बिहीबार नयाँ दिल्लीमा भइरहेको इन्डिया एआई इम्प्याक्ट समिटमा अम्बानीले यसबारे बताएका हुन् । ‘भारतले अब भाडामा एआई चलाउन सक्दैन । त्यस कारण हामी नाटकीय रुपमा डेटा लागत घटाएजसरी एआई लागत घटाउनेछौँ’, अम्बानीले भने । सन् २०१६मा रिलायन्स जियोको सस्तो डेटा र निःशुल्क कलमा भएको प्रवेशतर्फ उनको संकेत थियो । यसअघि नै अर्का धनाढ्य गौतम अदानी र टाटा ग्रुपले पनि एआईमा एक खर्ब डलर लगानी गर्ने बताइसकेका छन् । नरेन्द्र मोदी सरकारले भारतलाई एआई र क्लाउड कम्प्युटिङको हब बनाउने प्रतिबद्धता जनाएको छ ।