रौतहट , नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी)का सहसंयोजक माधव कुमार नेपालले रौतहटको गौरमा देखिएको पछिल्लो तनावप्रति गम्भीर चिन्ता व्यक्त गर्दै साम्प्रदायिक सद्भाव कायम गर्न दुवै समुदायलाई संयमता अपनाउन अपिल गरेका छन्।
शनिबार पत्रकारसँग कुराकानी गर्दै उनले हिन्दु र मुस्लिम समुदाय एक–अर्काका परिपूरक भएको उल्लेख गर्दै कुनै पनि परिवारको जीवन र सुरक्षामा जोखिम आउन नहुने स्पष्ट पारे।
“हिन्दु होस् वा मुस्लिम, जुनसुकै परिवारको जीवन र सुरक्षा जोखिममा पर्नु हुँदैन। यस्तो अवस्था कुनै पनि हालतमा स्वीकार्य छैन,” उनले भने, “म दुवै समुदायलाई संयमता अपनाउन आग्रह गर्न चाहन्छु।”रौतहट–१ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार समेत रहेका नेपालले सदियौँदेखि मिलेर बसेका समुदायहरूबीच आपसी सम्मान र सहकार्य अझ सुदृढ हुनुपर्ने बताए। “एक–अर्काको धर्म, संस्कृति र चाडपर्वको सम्मान गर्नु नै अहिलेको आवश्यकता हो,” उनले भने।
देखिएको समस्याको समाधान आपसी संवादबाट मात्रै सम्भव हुने उल्लेख गर्दै उनले उत्तेजनामा आएर सद्भाव खलबल्याउने कुनै पनि गतिविधि नगर्न आग्रह गरे।स्थिति सामान्यीकरणका लागि सरकारसँग पनि उनले विशेष अपिल गरेका छन्। आफूले गृहमन्त्रीसँग प्रत्यक्ष कुराकानी गरेर तत्कालका लागि निषेधाज्ञा लागू गर्न सुझाव दिएको जानकारी दिँदै उनले जनकपुरका प्रहरी नायब महानिरीक्षक, रौतहटका प्रमुख जिल्ला अधिकारी तथा प्रहरी उपरीक्षकसँग निरन्तर समन्वय भइरहेको बताए।
“कसैको घरमा क्षति नपुगोस्, कसैको इज्जत र प्रतिष्ठामा आँच नआओस् भन्नेमा सचेत रहन आग्रह गरेको छु,” उनले भने।गौरमा देखिएको तनाव साम्प्रदायिक सद्भावमा असर नपरोस् भन्ने उद्देश्यले राजनीतिक नेतृत्व र प्रशासनबीच समन्वय तीव्र बनाइएको उनले बताए।