जनकपुरधाम । गुणस्तर तथा नापतौल कार्यालय जनकपुरधामले चालु आर्थिक वर्ष २०८२/८३ को सात महिनामा एक हजार १५३ व्यवसायी तथा उद्योगीलाई कारबाही गरेको छ ।
नापतौल इजाजतपत्र नलिई आफूखुसी नापतौल यन्त्रको प्रयोग गर्ने, उपभोक्तालाई ठग्गी गर्ने, तथा तोकिएको समयमा नवीकरण नगराउनेलाई कारबाही गरिएको कार्यालय प्रमुख सुनिलकुमार यादवले जानकारी दिए । सोही अवधिमा कार्यालयले ६२६ व्यवसायीलाई नयाँ नापतौल इजाजतपत्र तथा एक हजार ३९७ व्यवसायीको नापतौल यन्त्रको नवीकरण गरेको छ । सो अवधिमा अनुगमन, नवीकरण, कारबाही तथा इजाजतपत्र प्रदान गरेबापत २५ लाख ४६ हजार ६०४ रुपैयाँ राजस्व संकलन भएको कार्यालय प्रमुख यादवले जानकारी दिए । गत आर्थिक वर्षमा नौ सय १७ वटा नयाँ व्यवसायी तथा औद्योगिक प्रतिष्ठानलाई व्यवसायिक कारोबारका लागि नापतौल यन्त्र सञ्चालन गर्न कार्यालयले इजाजतपत्र प्रदान गरेको थियो । धनुषा, महोत्तरी, सर्लाही, सिन्धुली र रामेछाप गरी पाँच जिल्ला कार्यक्षेत्र रहेको सो कार्यालयले ती जिल्लाका व्यवसायीलाई नयाँ नापतौल इजाजतपत्र प्रदान गर्दै आएको छ । साथै कार्यालयले पाँचै जिल्लामा नापतौलसम्बन्धी अनियमितता गर्नेलाई कारबाही गर्नुका साथै अनुगमन तथा निरीक्षण र नापतौल यन्त्रको इजाजतपत्र दिँदै आएको जनाएको छ ।
उक्त अवधिमा नापतौलमा ठगी गर्ने तथा लामो समयदेखि नापतौल यन्त्रको नविकरण नगराउने दुई हजार ४३ उद्योगी तथा व्यवसायिक फार्मलाई कारबाहीका साथै जरिवाना गरिएको कार्यालय प्रमुख यादवले बताए ।