पश्चिम नेपाल सेती–महाकालीका एक प्रख्यात वकिल तथा व्यापक परिचित राजनीतिकर्मी हुनुहुन्छ : भोजराज भट्ट ।
वि.सं. २०१७ साल यताको नेपाली जनआन्दोलनमा नेपाली काँग्रेस र एमालेमा लागेर सिद्धान्त विचारधाराको मूल्य र मान्यतामा अडिग रहेर राजनीति गर्न खोज्दा अधिराज्यका कस्ता कस्ता युवाहरू विखलबन्दमा परेर भूमिकाच्यूत भए ? एउटा स्वान्त सुखाय अध्ययन अनुसन्धान (रिसर्च) गर्ने क्रममा मेरो उहाँसँग राजधानीमा (हाल यतै बसोबास) भेट हुन पुग्यो । मेरो अध्ययन पद्दतिलाई एउटा सबल पक्ष उहाँमा काँग्रेस–एमाले दुवै पार्टीलाई भित्रैसम्म पुगेर (आन्द्राभूँडी) जानेको, भोगेको, जुधेको साक्षात्कार अध्ययन अनुभव ठहर रहेछ । २२ वर्ष काँग्रेसको सक्रिय राजनीतिमा रहँदा बीपी, गणेशमान सिंह, कृष्णप्रषाद भट्टराइको भरपर्दो विश्वासिलो, १५÷२० वर्ष एमालेमा सक्रिय रहँदाको सुरुवात वामदेव, माधव नेपाल, खड्ग ओलीले कर्के आँखा लगाइरहने मदन भण्डारीका दाहिना हात । जब बीपीको देहावसानपछि काँग्रेसले बीपी विचार कुल्चेर पतनको बाटो लियो र एमालेले मदन भण्डारीको हत्यापछि विदेशी स्वार्थका एनजीओ परिचालित (होली वाइन) पार्टीमा रुपान्तरण भयो त विरक्तिएर कमलमणि (मदनपुरस्कार गुठी) ले ‘शुद्धाशुद्धि मिलाएर ल्याउनुहोस्, पुरस्कार पाउनुहुन्छ’ भनेका जस्ता १२÷१५ पुस्तक लेखन प्रकाशन गरिसक्नु भएको साहित्यकार कहलिन थाल्नुभएको थियो । यस्ता ऐतिहासिक तथ्यका साक्षीपात्र भेटिनु ‘हाम्रो समयले खोजेको नवजागरण नायक’ भेटिएको जस्तो मनमा भावना उब्जेको थियो । यस्तो उपलब्धीलाई मैले ‘स्वान्त सुखाय’ भन्ने गरेको छु ।
रगतमा काँग्रेसी जीन
रगतमा काँग्रेसी जीन भन्नुको मेरो तात्पर्य चाहिँ के हो भने एउटै परिवारबाट काँग्रेस इतिहासका दुई शिखर नेतृत्व शिवराज पन्त र द्वारिका देवी ठकुरानीको भोजराज भट्टजी सहोदर भदा र मामली भाइ हुनुहुन्छ । शिवराज पन्त ०७ सालको क्रान्तिमा पश्चिमाञ्चल कमाण्डर भएर १६ सालको बीपी क्याबिनेटमा खाद्य, कृषि, वनमन्त्री र ०१७ सालपछि बीपीसँगै सुन्दरीजल जेलमा । द्वारिका देवी ठकुरानी बीपी क्यबिनेटमा नेपालकी प्रथम महिला मन्त्री, ८ वर्ष निर्वासन । सहिद दिवानसिंह राईको विभत्स हत्या देखेर मृत्युसंस्कारमा गडबडी हुने ठानेर आफ्नो क्रिया आफैँ गर्नुभएकी सिद्धान्तनिष्ठ काँग्रेसभित्रकी एक आदर्श नारी नेतृत्व । भोजराज भट्टको शिशुकालले यी भेट्रान दुई शिखर राष्ट्रिय नेतृत्वका काखमा सु गर्दै खेल्ने अवसर पाएको थियो । डोटी गौँडाका (सिलगढी) श्री ३ चन्द्र शमशेरको सैनिक कमान्डरले जबरजस्ती घर–घडेरी हडप गरेको अन्यायका विरुद्ध न्याय खोज्दै राजधानी आइपुगेर मुद्दा लडेर जितेर चन्द्र शमशेरसँग हात मिलाएर सेती–महाकाली लगायत सारा पश्चिमाञ्चलमा एक नम्बरका वकिल भनेर प्रख्याति कमाउनु भएका वासुदेव भट्ट हजुरबा । चन्द्र शमशेरसँग मुद्दा जितेर पुनः घरजम हुन पाएको त्यही घर घडेरीमा वि.सं. २०१५ मंसिरमा जन्म भएको हो । हजुरबाको त्यो लिगेसीले कालक्रममा वकालत पेशामा जोडिँदा थामीनसक्नु सफलता सम्पन्नताको कथा यहाँ यति मै बिट मारेँ । यति जानकारी पछि ‘रगतमा काँग्रेसी जीन’ मेरो भनाइलाई प्रमाण प्रष्ट हुन्छ ।
वि.सं. २०२८ सालमा डोटी गौँडा सिलगढीबाट हाइस्कुल पढ्न कैैलाली धनगढी आउनुभएका १२ वर्षका भोजराज भट्ट समक्ष काँग्रेसी जीन जुरमुराउने घटना हुन पुग्यो । ‘नयाँ शिक्षा नीति’ लागुको विरोधमा देशव्यापी विद्यार्थी आन्दोलन (काँग्रेसको भातृसंस्था नेविसंघ) उमेर पुगेका विद्यार्थी नेता गिरफ्तार हुँदा उमेर नपुगेकाले स्कुलबाट नाम काट्ने मात्र भयो । पाँच कक्षा अगाडिको पढाइमा अवरोध हुँदा शिवराज पन्त, द्वारिका देवी ठकुरानी लगायत सारा परिवारवृत्त चिन्तित हुनु स्वाभाविक थियो । शिवराज पन्त जेलमा । द्वारिका देवी ठकुरानी निर्वासनमा । अराष्ट्रिय तत्वका रूपमा पञ्चायत प्रशासनले सारा काँग्रेसी परिवार जनलाई टार्गेट गरिरहेका पृष्ठभूमिमा भट्टको अगाडिको पढाइ अन्धकारमा पर्नु ठूलो पारिवारिक चिन्ताको विषय भइरहेको थियो । शायद प्रारब्धकै खेल हुनुपर्छ, त्यो समय भट्टजीको जीवनमा नवजागरणको विजारोपण हुने एउटा ऐतिहासिक घटना हुन पुग्यो । त्यसै समय वकिल वासुदेव भट्टका परिवार खोज्दै योगी नरहरिनाथ महाराज धनगढी आइपुग्नु भयो । १२ वर्षका विद्यार्थी नेता भोजराज भट्टका स्कुलबाट नाम काटिएको दुःखका सबै विवरण सुन्नुभयो । र भन्नुभयो— ‘भोली धर्मसभामा तिम्रा यी दुःखका सबै कुरा सुनाऊ’ । भूतपूर्व मन्त्रीहरू, राष्ट्रिय पञ्चायत सदस्यहरू (सांसद), अञ्चलाधीश, सीडीओ, न्यायधीश, सेना प्रहरीका हाकिमहरू, पत्रकार, ठूला घराना उद्योगपति, व्यापारी, नागरिक समाजका अगुवा आदि इत्यादि योगी महाराजको प्रवचन सुन्न आएका श्रोता थिए । भोजराज भट्टले बोल्न थालेका तीन मिनेट पनि हुन पाएको थिएन कि— ‘यो धर्म सभा हो । अन्यायका कुरा गर्न प्रशासनमा आउनु’ भन्दै अञ्चलाधीशले माइक खोसिदिए । त्यो देखेर योगी नरहरिनाथलाई सह्य भएन । ‘मेरो १५ मिनेट उनलाई बोल्न दिनु’ भन्दै अञ्चलाधीशलाई हकार्नुभयो । अञ्चलाधीशको त्यो सत्ता ढलेको देखेर सारा पश्चिमाञ्चलमा ‘वकिल वासुदेव भट्टका नाती’ भन्ने चिनारीको हाइट १२ वर्षको उमेरमै उपलब्ध भयो । त्यस बखतसम्म वीरेन्द्र राजा भइसकेका थिए । वीरेन्द्रलाई लेखेका एउटा चिठ्ठीमा हस्ताक्षर गराएर योगीजी विदा हुनुभयो । त्यसको एक महिनाको अन्तरालमा अञ्चलाधीश आफैँ स्याँ स्याँ र फ्याँ फ्याँ गर्दै फिस माफीसहितको स्कुल भर्नापत्र लिएर आयो । यसको अर्थ स्कुल भर्नाको ‘तोक’ राजा वीरेन्द्रको थियो । पारिवारिक संस्कारअनुसार फिस माफी कुनै थारु परिवारका गरिब विद्यार्थीका लागि छोडिदिनुभयो । राजनीतिक नवजागरणका हिसाबले भट्टजीको जीवनको त्यो घटना एउटा सगरमाथा छुने उडानको वेग थियो । त्यो वेग राजधानी ल क्याम्पस पढ्न आइपुगेपछि ०३६ सालको विद्यार्थी आन्दोलनमा ठोकियो । आन्दोलनको सन्दर्भमा बीपी, भट्टराइ, गणेशमानसँग परामर्श लिन बलबहादुर के.सी. आदि इत्यादि विद्यार्थी नेताहरूलाई जस्तो नाम टिपाएर कुर्नु पर्दैन थियो । किचन र बेडरुमसम्म पुग्न खुला छुट थियो । उपत्यका आसपास र काठमाडौँ, भक्तपुर, पाटनका विद्यार्थी सभाहरूमा भाषण गर्न अहिलेका बालेनलाई जस्तै हारालुछ हुन्थ्यो । ०३८ सालको चुनाव बहिस्कारमा कृष्णप्रषाद भट्टराइले ५००।– रूपैयाँ गोजीमा हाल्देर सेती अञ्चलको जिम्मा दिएर पठाउनु भएको सय दुई सय हुलदङ्गा जमात खडा गरेर निर्दलवादीका आमसभामा माइक क्याप्चर गरेर त्यही माइकबाट वहिस्कार भाषण गर्ने शैली महाकालीसम्म चर्चित भएको थियो ।
पढाइ सकेर वकालत पेशा प्रारम्भ गर्दा वकिल वासुदेवको नातीको चिनारीले सेती महाकाली अञ्चलका थारु समाजका मुद्दाहरूको थामीनसक्नु ओइरो लाग्यो । धनगढी बजारमा सबैभन्दा चिटिक्क परेको व्यवस्थित घर कस्को ? भोजराज भट्टको । समाजमा एउटा भलादमी सबैका सहयोगी प्रीय व्यक्तित्व स्थापित भइसकेको थियो । रगत भित्रको काँग्रेसी जीन चीलाएर काठमाडौँमा गणेशमान सिंहको लौरो उठ्ने भएपछि धनगढीमा मेयरको उम्मेदवारी दिनुभयो । गिरिजाको मानिस हुन नसक्दा पार्टीको टिकट पाउनुभएन । उल्टो अन्तरघात भएर चुनाव हार्नुभयो । जब यो गुनासो लिएर गणेशमान, भट्टराइ समक्ष पुग्नुभयो त कुनै प्रतिक्रिया पाउनुभएन । काँग्रेस निरिह, अशक्त बीपी विचारको संवर्धन क्षमता च्यूत भइसकेको थियो । यस्तै पृष्ठभूमिमा धनगढीबाट काठमाडौँ आउने क्रममा एयरपोर्टमा मदन भण्डारीसँग जम्काभेट भयो ।
एमालेमा पुरुषार्थ
फ्लाइट (उडान) क्यान्सिल हुँदा एक रात धनगढीमा मदन भण्डारीको अगुवाइ स्वागत सत्कार गर्ने अवसर पाउनुभयो । भण्डारीसँगै काठमाडौँ आउनुभयो । मदन भण्डारीको एउटा सल्लाह कि ‘तपाईँ हृदयले राजनीति गर्नुहुन्छ । राजनीतिमा हृदयले होइन दिमागले काम गर्नुपर्छ । लक्षमा पुगेपछि भने हृदयलाई प्रयोगमा ल्याउनुपर्छ’ भण्डारीको यो सल्लाहले भट्टजीको मन छोयो । ०४७ को संविधान जारी भएर ०४८ को चुनावको चटारो प्रारम्भ भइसकेको थियो । चुनाव जिताउने सङ्गठन निर्माण परिचालन सेती अञ्चलको जिम्मेवारी भोजराजले पाउनुभयो । महाकालीको इञ्चार्ज प्रेमसिंह धामी थिए, जो भट्टजीका पुराना परिचित मित्र थिए । ‘प्रेमसिंह धामी र म भएर सेती महाकाली पश्चिमाञ्चल सम्हाल्छौँ । तपाईँ ढुक्कले अन्यत्र ध्यान पुर्याउनुहोस्’ भट्टजीले मदनलाई भन्नुभयो । उम्मेदवारी सन्दर्भमा भण्डारीले भन्नुभयो— ‘यसपटक तपाईँ दुइटा कारणले सङ्गठनमै रहनुहोस् । पहिलो भर्खर काँग्रेसबाट आएको दाग पनि मेटिन्छ । दोश्रो संसदीय राजनीतिमा असली सत्ता संसद् सरकारमा भन्दा संगठनमा निर्णायक हुन्छ’ ।
नभन्दै भोजराज प्रेमसिंह धामीले जिम्मा लिएका सेती–महाकालीका १९ सिट मध्ये १८ ठाउँमा एमालेको जीतको रिजल्ट आउनु मदन भण्डारीका हकमा एउटा चमत्कार नै थियो । ०३७ सालको जनमत सङ्ग्रहमा निर्दलमा भोट हालेका कम्यूनिष्टको जनाधार भनेको ०४६ को आन्दोलनमा काँग्रेससँग संयुक्त मोर्चा भन्ने मात्र थियो । ०४८ सालको बहुदलको चुनावमा सङ्गठनको कुनै खाका वेगर १९ सिटमा १८ सिट जित्नु मदन भण्डारीको कल्पना भन्दा बाहिरको कुरो थियो । एकाएक एमालेको केन्द्रीय नेतृत्वमा भट्टजीको हाइट वामदेव, माधव नेपाल, खड्ग ओलीले आँखा तर्किने मदन भण्डारीका भरोषा र विश्वासका दाहिने हात । भण्डारीपछि एकजना जीवराज आश्रित बाहेक अन्य कोहीलाई पनि आफ्ना तर्फबाट ‘लालसलाम’ को हात उठाउनु पर्दैन थियो । यसैलाई मैले ‘एमालेमा पुरुषार्थ’ भनेको हुँ ।
दुइटा कारणले भोजराज भट्टबारे यहाँ यति विवरण ल्याएँ । (१) एउटा यस विवरणबाट बीपी, गणेशमान, कृष्णप्रषाद, मनमोहन, मदन भण्डारी जस्ता नेताहरू राजनीतिमा प्रभावशाली रहँदासम्म सिद्धान्त र विचारधाराको राजनीति अस्तित्व (जीवित) मा थियो । जब गिरिजा, प्रचण्ड, ओली, देउवा, माधव कुमार, रामचन्द्र जस्ता आदि इत्यादि राजनीतिमा हावी भए त विचार हरायो । सिद्धान्त र विचारधाराको राजनीति समाप्त भयो । यो तथ्य इतिहास राजनीतिका आगामी कदमहरूमा जानकारी हुनु अनिवार्य पाठ्यक्रम हो । (२) दोश्रो यस विवरणबाट आज नेपाल राजनीतिक, आर्थिक रूपले दिवालीया पल्टेर पूर्ण रूपको विदेश निर्भर अराजकताको लुटतन्त्र सार्वभौमिकता नै किचिने हो कि भन्ने अवस्थामा पुग्नुको मूल कारण छर्लङ्ग हुन्छ । विचार हराएका दलहरू प्राण गएको मानिस झैँ कुहेर, गन्हाएर, रोग फैलाउने चरणमा पुगेर देश, जनता र प्रणालीका लागि कोरोना भन्दा खतरनाक क्यान्सर भएका छन् दलहरू । ओली, प्रचण्ड, देउवा, माधव, रामचन्द्र आदि इत्यादि लादिएका ०७२ को संविधानका दलालहरू ।
अन्त्यमा प्रस्तुत आलेखको शीर्षक ‘आजका मतदाता : एक साक्षात्कार’ प्रष्टता (छर्लङ्ग) मा आउँछु । शिवरात्रीको पावन चहलपहल अवसरमा भट्टजीसँग पशुपतिनाथ मृगस्थलीमा भेटघाट भलाकुसारीको अवसर जुर्यो । शिवरात्रीको मूल आराधना साधना साङ्गे भएर सारा साधु सन्त नागाबाबाहरू फर्किसक्नु भएको थियो । रहलपहल तिर्थालुहरूलाई मूर्ख बनाएर ठग्ने उद्देश्यले केही चट्केबाजहरू चटक देखाउन व्यस्त थिए । टाइ सुट धारी वकिल प्रोफेसर जस्ता देखिनेहरू पनि टाउको ठाडो गरीगरी चटक हेर्न भीडको घुइँचोमा झुत्ता खेलिरहेका दृष्य देखाउँदै मैले मृगस्थलीको सिढी ओर्लिदै गर्दा भट्टजीलाई भनेँ— ‘उ हेर्नुहोस् आजका तपाईँका मतदाता । अनि विचार हराएर क्यान्सरमा रूपान्तरण भएका दलहरूका उम्मेदवारहरूलाई चाहिँ चटके ठान्नुहोस् । अनि कल्पना गर्नुहोस्, कस्तो प्रधानमन्त्री पाउँदै हुनुहुन्छ ?’ मेरो यस ठम्याइमा भट्टजी कुरो बुझेको शैलीमा हाँस्नु मात्र भयो । अस्तु ।