काठमाडौं । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले सेवाग्राहीलाई समय सापेक्ष, छिटो र पारदर्शी सेवा उपलब्ध गराउने उद्देश्यका साथ आफ्नो मोबाइल एपको परिमार्जित संस्करण सञ्चालनमा ल्याएको छ । प्रतिष्ठानका अनुसार अद्यावधिक गरिएको बीपीकेआईएचएस एप प्रयोगमा आएपछि सेवाग्राहीहरू प्रत्यक्षरूपमा लाभान्वित हुन थालेका छन् ।
परिमार्जित एपमार्फत सेवाग्राहीहरूले अब जनरल ओपीडीका लागि नयाँ तथा फलोअप दर्ता अनलाइनबाट नै गर्न सक्नेछन् । अनलाइन दर्ता सम्पन्न गरेपछि बिरामीहरू सोझै सम्बन्धित ओपीडी कक्षमा पुगेर चिकित्सकसँग परामर्श लिन सक्ने व्यवस्था मिलाइएको प्रतिष्ठानका प्रवक्ता प्राडा शमशेर श्रेष्ठले जानकारी दिए । उनका अनुसार अनलाइन दर्ता गरेका बिरामीलाई ओपीडी टोकन प्रणाली र बिलिङ सेवामा अग्र प्राथमिकता प्रदान गरिएको छ । एन्ड्रोइड प्रयोगकर्ताले प्ले स्टोरबाट एप डाउनलोड गरी सेवा लिन सक्नेछन् । यस व्यवस्थाले ओपीडी तथा अन्य सेवामा भीड नियन्त्रण र समय व्यवस्थापनमा उल्लेख्य सुधार आएको प्रारम्भिक अनुभवले देखाएको प्रतिष्ठानले जनाएको छ ।
प्रतिष्ठानका प्रवक्ता प्राडा श्रेष्ठका अनुसार हाल प्रारम्भिक चरणमा प्रत्येक विभागका लागि दैनिक २० जना बिरामीको अनलाइन ओपीडी दर्ता सीमा निर्धारण गरिएको छ । सेवाग्राहीको माग, प्रणालीको कार्यक्षमता तथा प्रयोग अनुभवका आधारमा उक्त संख्या क्रमशः वृद्धि गरिने उनले बताए । प्रतिष्ठानले आगामी दिनमा प्रयोगशाला तथा रेडियोलोजी सेवाका रिपोर्ट एपमार्फत हेर्न तथा प्रिन्ट गर्न सकिने सुविधा थप गर्ने तयारी गरेको छ । साथै, पेयिङ्ग ओपीडी दर्ता तथा स्वास्थ्य बीमासम्बन्धी ओपीडी दर्ता सेवा पनि एपमार्फत सञ्चालन गर्ने प्रक्रिया अघि बढाइएको छ । स्वास्थ्य बीमा बोर्डबाट आवश्यक एपीआई स्रोत प्राप्त गर्ने कार्य प्रगतिमा रहेको र प्रक्रिया पूरा भएपछि सो सेवा समेत चरणबद्ध रूपमा सञ्चालनमा ल्याइने प्रतिष्ठानले जानकारी दिएको छ । प्रतिष्ठानले सम्पूर्ण सेवाग्राहीलाई मोबाइल एपको अधिकतम उपयोग गरी उपलब्ध सुविधाबाट लाभ लिन आग्रह गरेको छ ।