काठमाडौं । ग्रान्ड सेन्ट्रल होटल प्रालिअन्तर्गत सञ्चालित रमाडा बाइ विन्धाम इटहरीलाई खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले ‘अति उत्तम’ फुड बिजनेस स्ट्यान्डर्डाइजेसन सर्टिफिकेट प्रदान गरेको छ ।
हालै प्रदान गरिएको ‘अति उत्तम’ रेटिङ नेपालमा खाद्य तथा हस्पिटालिटी व्यवसायलाई दिइने सबैभन्दा उच्चकोटीको प्रमाणीकरण भएको कम्पनीको दाबी छ । विराटनगरस्थित खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयद्वारा जारी गरिएको यो विशिष्ट प्रमाणपत्रले होटलको उच्च खाद्य गुणस्तर, उत्कृष्ट सरसफाइ तथा पाहुनाको सुरक्षाप्रति देखाएको दृढ प्रतिबद्धतालाई प्रतिबिम्बित गर्ने कम्पनीले उल्लेख गरेको छ । हालै सञ्चालनमा आएको यस होटलका सञ्चालक देशबन्धु बस्नेत र महाप्रबन्धक अभिमन्यु कायस्थको नेतृत्वमा रमाडा बाइ विन्धाम इटहरीले छोटो अवधिमै यस क्षेत्रको हस्पिटालिटी क्षेत्रलाई नयाँ उचाइमा पुर्याउने लक्ष्यका साथ सकारात्मक सुरुवात गरेको छ ।
महाप्रबन्धक अभिमन्यु कायस्थले यस उपलब्धिले टोलीको निरन्तर मेहनत र पाहुनालाई उत्कृष्ट सुविधा प्रदान गर्ने बताए । इटहरीको मुटुमा अवस्थित रमाडा बाइ विन्धाम इटहरी एक प्रमुख हस्पिटालिटी गन्तव्य हो । होटलले व्यावसायिक तथा मनोरञ्जन दुवै प्रयोजनका यात्रुहरूका लागि उच्चस्तरीय आवास, भोजन तथा कार्यक्रम स्थलका सुविधाहरू उपलब्ध गराउँदै आएको छ ।