काठमाडौं । गृहमन्त्री ओमप्रकाश अर्यालले राष्ट्रिय समाचार समिति (रासस) लाई प्रभावकारी बनाउन सरकारले सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । भद्रकालीस्थित रासस केन्द्रीय कार्यालयको भ्रमणका क्रममा आइतबार उनले मिडिया सङ्ग्रहालय र समाचार बुलेटिन कक्षको अवलोकन गरेका हुन् ।
सो अवसरमा गृहमन्त्री ओमप्रकाश अर्यालले ‘रासस मिडिया सङ्ग्रहालय र समाचार बुलेटिन कक्ष’ को अवलोकन गर्दै राससको समाचार सङ्कलन, समाचार र तस्बिर सम्पादनलगायतका विषयमा जानकारी लिए । कार्यकारी अध्यक्ष धर्मेन्द्र झाले राससको समग्र वस्तुस्थिति, समाचार सङ्कलन र सम्प्रेषण प्रक्रिया, आर्थिक आयआर्जन, साधन स्रोत र जनशक्तिलगायतका विषयमा उनलाई जानकारी गराए ।
गृहमन्त्री अर्यालले सङ्ग्रहालयको अवलोकनपछि आगन्तुक पुस्तिकमा “यस सङ्ग्रहालयमा रहेका राससका स्थापनाकालदेखिका विभिन्न सामग्री (प्रेस, पत्रपत्रिका, बुलेटिन, टेलिफोन र टाइपराइटर) लगायत सामग्रीका बारेमा गहिरो जानकारी भएको”, उल्लेख गरेका छन् ।