काठमाडौं । निर्वाचन आयोगले निर्वाचन प्रचारप्रसार गर्दा निर्वाचन चिह्नको भौतिक स्वरूप प्रयोग नगर्न–नगराउन राजनीतिक दलहरूलाई सचेत गराएको छ । विशेषगरी पछिल्लो समय राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेताहरूले निर्वाचन चिह्न घण्टी भएकाले वास्तविक घण्टी बजाउँदै चुनावी प्रचार गरिरहेका छन् ।
आइतबार मात्रै अर्को राजनीतिक दल राष्ट्रिय प्रजातन्त्र पार्टीले विज्ञप्ति नै निकालेर घण्टी चिह्न हुनेले बजाउँदा खुकुरी चिह्न हुनेले के गर्ने भन्दै निर्वाचन आयोगले नरोकेकामा विरोध गरेको थियो । त्यसलगत्तै आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले गुनासो प्राप्त भएको भन्दै भौतिक वस्तु लिएर चुनाव प्रचार नगर्न भनेका हुन् ।
‘फागुन २१ को निर्वाचनमा सहभागी कतिपय राजनीतिक दल वा उम्मेदवारले निर्वाचन चिह्नको प्रचारप्रसार गर्दा भौतिक स्वरूपको निर्वाचन चिह्न साथमै बोकी प्रयोग गर्ने र जनसमुदायको समग्र शान्तिमा प्रतिकूल असर पारेका सूचना प्राप्त भएका छन्’, विज्ञप्तिमा भनिएको छ, ‘राजनीतिक दल वा उम्मेदवारले कपडा, तुल, फ्लेक्स वा कागजमा छापी वा प्रिन्ट गरी तोकिएको मापदण्डअनुसार आफ्नो निर्वाचन चिह्नको प्रचारप्रसार गर्न सक्ने तर सोको साटो कुनै धातु, काठ वा अन्य त्यस्तै प्रकृतिका सामग्रीबाट बनेको भौतिक स्वरूपका निर्वाचन चिह्न लिई निर्वाचन प्रचारप्रसार गर्दा सुरक्षा जोखिम बढेको उजुरी प्राप्त भएको छ ।’
प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन २०७४ को दफा ३१ (१) मा निर्वाचनका लागि दल र उम्मेदवारलाई वितरण गर्ने निर्वाचन चिह्न आयोगले निर्धारण गर्ने व्यवस्था रहेको उल्लेख गर्दै आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचन निर्देशिका २०८२ को दफा ४३ को उपदफा (१) मा निर्वाचनका लागि दललाई प्रदान गरिने निर्वाचन चिह्न अनुसूची ३० बमोजिम र स्वतन्त्र उम्मेदवारलाई प्रदान गरिने निर्वाचन चिह्न अनुसूची ३१ अनुसार हुने उल्लेख रहेको सम्झाएको छ ।
उक्त ऐन र निर्देशिका २०८२ को अनुसूची ३० र ३१ मा उल्लिखित निर्वाचन चिह्न प्रदान गर्ने र सोबमोजिम निर्वाचन चिह्न पाएका दल वा उम्मेदवारले प्रयोग गर्ने दलको झण्डा र चुनाव चिह्नको मापदण्ड निर्वाचन आचारसंहिता २०८२ को दफा १३ को खण्ड (ड) मा व्यवस्था रहेको आयोगले जनाएको छ ।
सोही कारण यी व्यवस्थाअनुसार दलको झण्डा र चुनाव चिह्नको माध्यमबाट मात्र निर्वाचन प्रचारप्रसार गर्न गराउन र सोको विपरीत गरेको देखिएमा आचारसंहिता प्रतिकूल हुने आयोगले उल्लेख गरेको छ । आयोगले अप्रत्यक्षरूपमा रास्वपालाई सचेत गराएको हो ।