काठमाडौं । नेपाली बैंकिङ क्षेत्रलाई पारिश्रमिक र अन्य सुविधाका हिसाबले ‘ग्ल्यामरस’ मानिन्छ । एकाधबाहेक धेरैजसो बैंकहरूमा काम गर्ने उच्च तहका कर्मचारीहरूको पारिश्रमिक तथा अन्य सुविधाहरू निकै आकर्षक हुन्छ । त्यही कारण समाजमा उनीहरूको रहनसहन, सामाजिक प्रतिष्ठा र जीवनशैली पनि उच्च नै हुन्छ । यसले गर्दा हुन सक्छ, नेपाली बैंकिङ क्षेत्रमा उच्च तहमा पुग्ने लक्ष्य सबैजसो बैंकरहरूको हुन्छ ।
तर यी सबैको बाबजुत पनि नेपाली बैंकिङ क्षेत्रमा काम गर्ने उच्चतहका धेरैजसो बैंकरहरू ‘पीआर होल्डर’ रहेको देखिएको छ । बैंकमा विभिन्न किसिमबाट रकम आर्जन गर्ने र त्यो रकमलाई विदेशमा लगेर सेटल गर्ने र उतै स्थायी बसोबास गर्ने समेतको नियतका आधारमा बैंकरहरूले विदेशी पीआर लिनेगरेको बुझिएको छ । यहाँ सहज हुँदासम्म यहाँ काम गर्ने र सहज नभएको अवस्थामा विदेश जाने उनीहरूको रणनीति रहेको देखिन्छ ।
सकेसम्म आफैँले पीआर लिने र नभए छोराछोरीलाई अमेरिका, बेलायत, अष्टे«लियालगायतका मुलकमा सेटल गराउने र सबै कुरा मिलेपछि आफू पनि उतै सेटल हुने परिपाटी बैंकिङ क्षेत्रका उच्च तहका कर्मचारीहरूमा देखिन्छ । नाम उल्लेख नगर्ने सर्तमा सरकारी स्वामित्वकै बैंकका एक उच्च तहका कर्मचारी भन्छन्, ‘तालिम र गोष्ठीकै सिलसिलामा धेरै मुलुकहरू घुमेँ । पछिल्लो पटक आफ्नै खर्चमा अमेरिका घुमेँ । परिवार सबै उतै सेटल भइसक्यो । नेपालमा केही छैन, म पनि रिटायरमेन्ट लाइफ अमेरिकामै बिताउँछु ।’
ती कर्मचारीले यसो भनिरहँदा निजी क्षेत्रमा काम गर्ने उच्च तहका धेरै बैंकरहरू पनि यस्तै योजना रहेको बताउँछन् । कोहीले दुबईमा गएर नयाँ बिजनेस सुरु गर्ने भन्छन्, त कोही अष्ट्रेलिया, अमेरिकालगायतका देशहरूमा पुगेर रिटायर्डमेन्ट लाइफ बिताउने बताउँछन् । आखिर बैंकिङ क्षेत्रमा काम गर्ने उच्च तहका धेरैजसो कर्मचारीहरू कसरी विदेशी पीआर होल्डर हुन्छन् त ? यसबारे एक बैंकर भन्छन्, ‘बैंक तथा फाइनान्स कम्पनीहरूले उच्च तहका कर्मचारीहरू छनौट गर्दा विदेशमा उच्च शिक्षा हासिल गरेका, विदेशी बैंकमा काम गरेकाहरूलाई विशेष प्राथमिकता दिने गर्छ । जागिर खाँदा उनीहरूले पीआर लिई नसकेको भए पनि जागिरको दौरान नै पीआर लिन्छन् र केही जागिर छाडेर तत्काल विदेशिन्छन् भने केही बैंकमा नै काम गरिरहन्छन्, जब बैंकमा अप्ठ्यारो देखिन्छ, तब उनीहरू विदेश पलायन हुन्छन् ।’