काठमाडौँ । नेपाल राष्ट्र बैंकको सहभागितामा वित्तीय अपराध, यसका सम्भावित जोखिम र न्यूनीकरणका विषयमा अन्तरक्रिया कार्यक्रम सञ्चालन गरेको छ । न्यायाधीश समाज नेपालले नेपाल राष्ट्र बैंक समेतको सहभागितामा काठमाडौँमा अन्तरक्रिया कार्यक्रम सञ्चालन गरेको हो ।
अन्तरक्रियाका क्रममा कार्यक्रममा उपस्थित वक्ताहरूले नेपालमा प्रत्येक वर्ष बढ्दै गएको प्रविधिको प्रयोगमार्फत हुने गरेको वित्तीय अपराधको बारेमा चिन्ता व्यक्त गर्दै यसलाई रोक्नको लागि अपनाउनुपर्ने सम्भावित रोकथामका बारेमा समेत चर्चा गरेका थिए । वित्तीय अपराध बढ्दा अन्तर्राष्ट्रियरूपमा नेपालको छवि धमिलो हुने र यसले विदेशी ऋण, विदेशी सहायता र अनुदानमा समेतमा प्रभाव पार्न सक्ने वक्ताहरूको भनाइ थियो ।
कार्यक्रममा सहभागी वक्ताहरूले नेपालमा पछिल्लो समय बढ्दै गएको प्रतिबन्धित क्रिप्टो कारोबार र यसलाई रोक्नको लागि राज्य संयन्त्रले गर्नुपर्ने अल्पकालीन तथा दीर्घकालीन कामहरूको बारेमा समेत आफ्नो धारणा व्यक्त गरेका थिए । कार्यक्रममा नेपाल राष्ट्र बैंकका उच्च अधिकारीहरू, सर्वोच्च अदालतका सबैजसो न्यायाधीशहरू, कूटनीतिक नियोग र उद्योगी व्यवसायीका छाता संगठनका प्रतिनिधि, बैंक तथा फाइनान्सका प्रतिनिधिहरू एवं केही सीमित पत्रकारहहरूको उपस्थिति थियो ।