बुडापेस्ट । रुसविरुद्ध युरोपेली संघ (ईयू) को प्रतिबन्धको पछिल्लो प्याकेज रोक्ने हंगेरीले आइतबार चेतावनी दिएको छ । युक्रेनले हंगेरी आपूर्ति गर्ने पेट्रोलियम पदार्थको प्रमुख पाइपलाइन पुनः नखोलेसम्म ईयूको प्रतिबन्धको पछिल्लो प्याकेज रोक्ने हंगेरीका प्रधानमन्त्रीले आइतबार बताएका हुन् ।
‘प्रतिबन्धहरूको लागि हंगेरीको कुनै समर्थन छैन; रूसविरूद्ध ईयूले लगाउने घोषणा गरेको २०औँ प्रतिबन्ध प्याकेज अस्वीकार गरिनेछ’, प्रधानमन्त्री भिक्टर ओर्बानले एक्समा लेखेका छन् । ‘जबसम्म युक्रेनले ड्रुज्बा पाइपलाइनमार्फत हंगेरी र स्लोभाकियामा तेल ट्रान्जिट पुनः सुरु गर्दैन, हामी किएभका लागि महत्वपूर्ण निर्णयहरू अगाडि बढ्न दिनेछैनौँ’, विदेश मन्त्री पिटर सिजार्टोले एक्समा पोस्ट गरेको एक सन्देशमा पनि भनिएको छ । एएफपीका अनुसार स्लोभाकिया र हंगेरीमा रुसी तेल पुर्याउन आफ्नो क्षेत्र पार गर्ने ड्रुज्बा पाइपलाइन जनवरी २७ मा भएको रुसी आक्रमणबाट क्षतिग्रस्त भएको युक्रेनले बताएको छ ।
फेब्रुअरीको सुरूमा ईयूले रूसको विरूद्ध नयाँ प्रतिबन्धहरू प्रस्ताव गरेको थियो । बैंकिङ र ऊर्जा क्षेत्रहरूलाई लक्षित गर्दै सन् २०२२ फेब्रुअरी २४ मा रूसले युक्रेनमा आक्रमण गरेपछिको यो ईयूको २०औँ प्याकेज हो । युरोपेली आयोगले उसको व्यापार प्रतिरक्षा उपकरणलाई पनि सक्रिय गर्न चाहन्छ । यी उत्पादनहरू रूसमा पुनः निर्यात हुने उच्च जोखिम रहेको जनाउँदै ईयूले पहिलो पटक सबै मेसिन उपकरण र रेडियो उपकरणको निर्यातमा प्रतिबन्ध लगाउन चाहेको छ।