काठमाडौं। नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान तथा चर्चित स्ट्राइकर सावित्रा भण्डारी (साम्बा) ले घुँडाको गम्भीर चोटको शल्यक्रियाका लागि आर्थिक सहयोगको अपिल गरेकी छन्। उनले आफ्नो आधिकारिक फेसबुकमार्फत उपचारमा आवश्यक सहयोग जुटाउन समर्थकसमक्ष आग्रह गरेकी हुन्।
साम्बा पछिल्लो सात सातादेखि चोटका कारण मैदानबाहिर छिन्। यसअघि गरिएको एसीएल शल्यक्रियामा हालिएको ग्राफ्ट र एमसिएल दुवैमा पुनः गम्भीर क्षति पुगेको चिकित्सकीय निष्कर्ष आएको उनले बताएकी छन्। अब पुनः जटिल शल्यक्रिया गर्नुपर्ने अवस्था रहेको र त्यसपछि ७–८ महिनासम्म रिह्याब आवश्यक पर्ने जनाइएको छ।
उनका अनुसार अघिल्लो चोटका बेला अखिल नेपाल फुटबल संघ (एन्फा) नेतृत्वको पहलमा उपचारको सम्पूर्ण व्यवस्थापन भएको थियो, जसले गर्दा आर्थिक तथा मानसिक रूपमा सहज भई समयमै मैदान फर्किन सकेकी थिइन्। तर यसपटक एन्फाबाट वाचा गरिएको सहयोगसमेत प्राप्त नभएको उनको गुनासो छ। क्लबको पहलमा शल्यक्रियाको मिति तय भए पनि एन्फाले आफ्नै तर्फबाट प्रक्रिया अघि बढाउने बताएपछि पूर्वतयारी रोकिएको र अन्ततः प्रशासनिक सहयोग नपाइएपछि आफू अन्योलमा परेको उनले उल्लेख गरेकी छन्। एन्फा अध्यक्षले नगद पाँच लाख रुपैयाँसम्म सहयोग गर्ने प्रस्ताव राखे पनि समग्र उपचार खर्चका लागि त्यो अपुग हुने उनको भनाइ छ।
हाल उनी आबद्ध क्लबले न्युजिल्यान्डकै स्थानीय अस्पतालमा उपचार गराउन तयार रहेको बताएको छ। तर पछिल्लो पटक कतारको प्रतिष्ठित Aspetar अस्पतालमा उच्चस्तरीय उपचार गराएकी अनुभवका आधारमा पुनः त्यहीँ उपचार गराउने इच्छा रहेको उनले जनाएकी छन्। क्लबले बीमाबाट प्राप्त रकम उपलब्ध गराउने भए पनि कुल करिब ८० हजार अमेरिकी डलर लाग्ने प्रारम्भिक आँकलन गरिएको उपचार खर्च पूरा नहुने उनले स्पष्ट पारेकी छन्।
सरकारी तहबाट पनि सहयोगका लागि पहल भएको तर प्रक्रिया अपेक्षाअनुसार अघि नबढेकाले शल्यक्रिया थप ढिलाइ गर्न नसकिने अवस्था आएको साम्बाको भनाइ छ। “मेरो करियरकै सबैभन्दा कठिन लडाइँ हो,” उनले लेखेकी छन्, “थाकेको छु, तर हारेको छैन।”
देशका लागि सधैं शतप्रतिशत योगदान दिएको स्मरण गराउँदै उनले इजरायल, फ्रान्सलगायत विभिन्न देशमा खेल्दा पनि नेपालकै पहिचान बोकेको महसुस गरेको उल्लेख गरेकी छन्। पुनः नेपालको जर्सी लगाएर मैदान फर्किने अठोट व्यक्त गर्दै उनले स्वदेश तथा विदेशमा रहेका समर्थकलाई क्यूआर, बैंक तथा अनलाइन लिंकमार्फत सहयोग गर्न अनुरोध गरेकी छन्। साम्बाले सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेको अपिलसँगै नेपाली फुटबल समुदायमा उनको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै सहयोगको आह्वान भइरहेको छ।