झापा। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह ले प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत झापा–५ बाट उम्मेदवार बनेसँगै आफ्नो चुनावी वाचापत्र सार्वजनिक गरेका छन्।शाहले दमकको सभागृह र भ्यु टावरलगायत पूर्वाधार योजनाहरूलाई उच्चतम नागरिक उपयोगितामा आधारित बनाउँदै प्रभावकारी रूपमा सञ्चालनमा ल्याउने प्रतिबद्धता जनाएका छन्। उनले ती संरचनालाई जनताको प्रत्यक्ष लाभसँग जोडेर पारदर्शी व्यवस्थापन गर्ने बताएका छन्। त्यसैगरी दमक–रवि–चिसापानी सडक समयमै सम्पन्न गरी सञ्चालनमा ल्याउने, आदिवासी जनजातिको संस्कृति र इतिहास झल्किने आदिवासी जनजाति रङ्गशाला निर्माण गर्ने तथा दमकलाई पूर्वी नेपालको आईटी हबका रूपमा विकास गर्न आवश्यक पूर्वाधार र नीतिगत व्यवस्था सुनिश्चित गर्ने योजना पनि वाचापत्रमा समेटिएको छ। भूमि व्यवस्थापनसम्बन्धी दीर्घकालीन समस्या समाधानका लागि सय दिनभित्र आयोग गठन गर्ने र एक हजार दिनभित्र समाधानको प्रक्रिया टुंग्याउने प्रतिबद्धता समेत उनले व्यक्त गरेका छन्। शाहले विकासलाई परिणाममुखी, पारदर्शी र जनउत्तरदायी बनाउने अठोट व्यक्त गर्दै झापा–५ लाई पूर्वी नेपालको आर्थिक, प्राविधिक र सांस्कृतिक केन्द्रका रूपमा स्थापित गर्ने लक्ष्य प्रस्तुत गरेका छन्।