काठमाडौं । सरकारले धादिङको बेनीघाट रोराङ गाउँपालिका–५, भैँसीगौडास्थित पृथ्वी लोकमार्गमा भएको यात्रुवाहक बसको दुर्घटनाबारे छानबिन गर्न कार्यदल गठन गरेको छ ।
गृह मन्त्रालयले सोमवार दुर्घटना छानबिनका लागि सहसचिवको नेतृत्वमा पाँच सदस्यीय कार्यदल गठन गरेको हो । गृह मन्त्रालयका प्रवक्ता आनन्द काफ्लेका अनुसार कार्यदललाई बस दुर्घटनाको सम्बन्धमा छानबिन गरी प्रतिवेदन पेस गर्न भनिएको छ । पोखराबाट काठमाडौँतर्फ आउँदै गरेको ग २ ख १४२१ नम्बरको बस सोमबार विहान दुर्घटना हुँदा ४४ जना यात्रुमध्ये १९ जनाको मृत्यु तथा २५ जना घाइते भएका छन् । घटनाको जानकारी प्राप्त हुनासाथ नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपाललगायत स्थानीय बासिन्दाको समन्वयमा घटनास्थलमा उद्धारकार्य तदारुकताका साथ अगाडि बढाइएको मन्त्रालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
गृहमन्त्री ओमप्रकाश अर्यालको अध्यक्षतामा गृहसचिव, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव, सुरक्षा निकायका प्रमुखहरू, यातायात विभागका महानिर्देशक, सडक विभागका महानिर्देशक तथा यातायात व्यवसायी र मजदुर संघलगायत मन्त्रालयका पदाधिकारीहरूको उपस्थितिमा बसेको बैठकले छानविन समिति बनाउने निर्णय गरेको हो ।