काठमाडौं । नेसनल लाइफ इन्स्यारेन्स कम्पनी लि.ले आफ्नो ३९औँ वार्षिकोत्सव सप्ताहव्यापी रुपमा विभिन्न कार्यक्रम गरी सम्पन्न गरेको छ ।
काठमाडौँमा सम्पन्न समारोहको उद्घाटन गर्दै कम्पनी अध्यक्ष प्रेमा राज्यलक्ष्मी सिंंहले कम्पनीलाई अग्रस्थानमा पुर्याउन मुख्य भुमिका खेल्ने कर्मचारी, अभिकर्ता, बीमित वर्गहरू, शुभेच्छुक, सरोकारवालाहरू तथा सवैप्रति हार्दिक आभार व्यक्त गरिन् । उनले सेवाग्राहीहरूलाई उच्चस्तरीय तथा सर्व सुलभ सेवा प्रदान गरी कम्पनीको व्यवसाय प्रवर्द्धन गर्ने उद्देश्य अनुरुप कर्मचारीहरूलाई प्रविधिमा थप दक्ष बनाउने तर्फ कम्पनीले विशेष ध्यान दिँदै आएको र यसै सन्दर्भमा कम्पनीका सम्पूर्ण प्रशासनिक कर्मचारीहरूलाई आर्टिफिसियल इन्टिलिजेन्ससम्बन्धी विस्तृत तालिम प्रदान गरिएको बताइन् । साथै उनले यस प्रकारका तालिमलाई निरन्तरता दिइने पनि बताइन् ।
सो समारोहमा, प्रमुख कार्यकारी अधिकृत सुरेश प्रसाद खत्रीले कर्मचारी, अभिकर्ता बीमित, लगायत सरोकारवाला सबैको प्रत्यक्ष अप्रत्यक्ष साथ र सद्भावले गर्दा कम्पनीले आफ्नो छुट्टै पहिचान बनाउन सफल भएको र भविष्यमा पनि यस प्रकारको साथ सद्भाव प्राप्त रहने विश्वास व्यक्त गरे । साथै उनले नियामक निकायलगायत अन्य सम्बन्धित संस्थाहरूबाट प्राप्त मार्गदर्शन र सहयोगका लागि पनि कृतज्ञता ज्ञापन गरे । सो अवसरमा कम्पनीले सामाजिक उत्तरदायित्व अन्तर्गत मातृ नेपाल बालगृह तारकेश्वरलाई शैक्षिक सामग्री वितरणसहित बालबालिकाहरूलाई खाना खवाउनुका साथै रक्तदान कार्यक्रमसमेत सम्पन्न गरिएको र सोही अवसरमा कम्पनीका देशैभर रहेका प्रदेश तथा शाखा कार्यालयहरूले पनि विभिन्न वृद्धाश्रम, बाल कल्याण संस्था एवं मानव सेवा आश्रम जस्ता संस्थाहरूमा यस प्रकारका कार्यक्रमहरू आयोजना गरीएको बताए ।