जलेश्वर (महोत्तरी) । पन्ध्रदिने माध्यमिकी परिक्रमाअन्तर्गत महोत्तरीको भङ्गाहा नगरपालिका–७ कञ्चनवनमा होली खेलेसँगै मिथिलाञ्चलमा मंगलबारदेखि होली पर्व विधिवत रुपमा सुरु भएको छ ।
पन्ध्रदिने परिक्रमामा आएका साधु, सन्त, महात्मा र जोगी सन्यासीको उपस्थितिमा धार्मिक अनुष्ठान गर्दै आज बिहान भगवान् मिथिलाविहारी (रामचन्द्र)ले किशोरीजी (माता सीता)सँग महोत्तरीको कञ्चनवनमा होली खेलेपछि आजैदेखि सम्पूर्ण मिथिलाञ्चलमा होली पर्वको शुभारम्भ भएको परिक्रमा यात्रामा सहभागी बाबा नवलकिशोर दासले राससलाई बताए । पन्ध्रदिने माध्यमिकी परिक्रमाअन्तर्गत सातौँ दिनको बासस्थान कञ्चनवनमा मंगलबार धार्मिक विधिपूर्वक भगवान् रामचन्द्र तथा माता सीताको डोला र मूर्तिलाई एकापसमा रङ र अबिरले होली खेलाइएको छ भने परिक्रमामा सहभागी हजारौँ साधु, सन्त, महात्मा र गृहस्थ परिवार गरी सम्पूर्ण परिक्रमा यात्रीसमेतले एकापसमा रङ अबिर साटासाट गर्दै होली पर्वको सुरुआत गरेको बाबा नवलकिशोरले बताए ।
मिथिलाञ्चलको गाउँगाउँ तथा घरघरमा पनि रङ अबिरको प्रयोग सुरु भएको छ । त्यसैगरी, होलीको आगमनसँगै प्रत्येक वर्षझैँ यस वर्ष पनि मिथिलाञ्चलको गाउँगाउँमा होलीका गीत, नाचगान, हाँसोठट्टा र व्यङ्ग्यात्मक कविता तथा चुटकिला गाउने, देखाउने र प्रस्तुत गर्ने कार्यको पनि शुभारम्भ भएको सदरमुकाम जलेश्वर नगरपालिका–८ का पण्डित धीरेन्द्र झाले बताए ।
मिथिलाञ्चलका साधुसन्त, महात्मा र गृहस्थ परिवार भगवान्ले वनवास गएको दिनलाई सम्झिँदै १५ दिने परिक्रमा गर्दछन् भने परिक्रममाकै क्रममा मंगलबार भगवान्ले होली खेलेको सम्झिँदै सम्पूर्ण परिक्रमा यात्रीहरूले पनि आज होली पर्व मनाएका छन् । धनुषाको हनुमानगढीमा यही फागुन ४ गते सोमबार परिक्रमाका लागि भगवान् रामचन्द्र र माता सीताको डोला तथा परिक्रमायात्रीहरू जम्मा भई फागुन ५ गते मङ्गलबारदेखि भारतको कलाणेश्वरबाट सुरु भएको परिक्रमा यात्रा १५ दिनमा जनकपुरमा पुगी समाप्त हुनेछ ।
महोत्तरीको कञ्चनवनमा सातौँ दिनको बासा त्याग गरेर आज सम्पूर्ण परिक्रमायात्री भगवान रामचन्द्र र माता सीताको डोला लिएर यात्रालाई अघि बढाउँदै आठौँ दिनको बासका लागि धनुषाको पर्वतातिर लागेका छन् ।