काठमाडौं । निभिक्स फर्मास्युटिकल्सले उत्पादन गर्ने (म्यानुफ्याक्चरिङ) औषधिहरुका लागि पहिलो पटक विश्व स्वास्थ्य संगठन (गुड म्यानुफ्याक्चरिङ प्राक्टिस) प्रमाणपत्र प्राप्त गरेको छ ।
यस प्रमाणपत्र पाएसँगै निभिक्स फर्मास्युटिकल्सको उत्पादन प्रणाली, गुणस्तर नियन्त्रण, कागजी अभिलेख व्यवस्थापन, वातावरणीय नियन्त्रण तथा दक्ष जनशक्ति व्यवस्थापनजस्ता क्षेत्रमा कम्पनीले अन्तर्राष्ट्रियस्तरका मापदण्ड पूरा गरी आफ्नो व्यवसायलाई अझ मजबुत बनाउँदै लगेको छ । निभिक्स फर्मास्युटिकल्सका ६८ भन्दा बढी औषधि उत्पादनहरुले सरकारी खरिद प्रक्रियामा सहभागिता सुदृढ गर्ने र अन्तर्राष्ट्रिय बजारमा निर्यातका अवसरहरू विस्तार गर्ने आधार तयार समेत गरेको छ भने कम्पनीले एक सयभन्दा बढी औषधि उत्पादन गर्नको लागि नियमन निकायबाट स्वीकृति समेत प्राप्त गरिसकेको छ । निभिक्स फर्मास्युटिकल्सलाई सर्वसाधारणसम्म पँहुच पुर्याउने उद्देश्यका साथ सर्वसाधारणहरुको लागि साधारण सेयर बिक्री गर्नको लागि नेपाल धितोपत्र बोर्डसँग आवेदन अनुमति समेत मागेको जनाएको छ ।
कम्पनीले यस उपलब्धिलाई आफ्नो मूल सिद्धान्त ‘नवप्रवर्तन, गुणस्तर र दक्षता’प्रति प्रतिबद्धताको परिणामका रूपमा लिएको छ । सुरक्षित, प्रभावकारी र सर्वसुलभ औषधि उत्पादनमार्फत राष्ट्रिय औषधि उत्पादन क्षमतालाई सुदृढ गर्ने दिशामा यो महत्वपूर्ण कदम भएको कम्पनीका प्रबन्ध निर्देशक इन्द्र बाँनियाले बताए । विश्व स्वास्थ्य संगठनद्वारा निर्धारित डब्लूएचओ–जीएमडी मापदण्डले औषधि उत्पादन प्रक्रिया अन्तर्राष्ट्रिय गुणस्तर, सुरक्षा तथा प्रभावकारिता मापदण्डअनुसार सञ्चालन भएको सुनिश्चित समेत गरेको छ । निभिक्स फर्मास्युटिकल्सले पाएको यो उपलब्धि कम्पनीका साथै नेपालको औषधि उद्योगका लागि महत्वपूर्ण कोशेढुंगा साबित भएको छ ।