काठमाडौं । दक्षिणकाली नगरपालिकाले बेलायतमा मुख्यालय रहेको सूचना प्रविधिसम्बन्धी परामर्शदाता कम्पनी जेनेस सलुशनसँगको सहकार्यमा ‘दक्षिणकाली इनोभेसन सेन्टर’ स्थापना गरेको छ ।
स्थानीय युवाहरुलाई क्लाउड र प्रविधि क्षेत्रमा प्रशिक्षित गर्दै सशक्त बनाउने उद्देश्यसहित यो पहल अघि बढाइएको हो । सेन्टरको उद्घाटन गर्दै दक्षिणकाली नगरपालिकाका नगरप्रमुख मोहन बस्नेतले अहिलेको युग सूचना र प्रविधिको युग हो भन्दै स्थानीय युवालाई आईटी सीप प्रदान गरी रोजगारयोग्य बनाउन दक्षिणकाली नवप्रवर्तन केन्द्र स्थापना गरिएको बताए । उनले भने, ‘यस्ता तालिमहरूले हाम्रा युवालाई भविष्यका लागि तयार कार्यशक्ति मात्र बनाउँदैनन्, राष्ट्र निर्माणमा समेत टेवा पुर्याउँछन् ।’ यस पहलअन्तर्गत जेनेस सलुशन र दक्षिणकाली नवप्रवर्तन केन्द्रले ५० जना स्थानीय युवालाई क्लाउड र प्रविधि विषयक तालिम प्रदान गर्न लागेका छन् । केन्द्रले उद्योगमैत्री तालिम, इन्टर्नसिप अवसर तथा रोजगारी व्यवस्थापन सहयोगमार्फत युवालाई सम्भावनाबाट पेसागत यात्रातर्फ रूपान्तरण गर्न सघाउने लक्ष्य राखेको छ ।
कार्यक्रममा उपनगरप्रमुख शिवमाया डंगोल, जेनेस सलुशनका कार्यकारी निर्देशक तथा नेपाल प्रहरीका पूर्व एआईजीपी भीमप्रसाद ढकाल, जेनेस सलुशनका उपाध्यक्ष (प्रि–सेल्स) अमित जोशी तथा तालिम विभाग प्रमुख दीपकराज सिलवालको पनि उपस्थिति रहेको थियो । जेनेस सलुशनले यसअघि भोजपुर जिल्लास्थित अरुण गाउँपालिका, काठमाडौंस्थित कागेश्वरी मनोहरा नगरपालिका तथा सुर्खेत जिल्लास्थित वीरेन्द्रनगर एवं भेरीगङ्गा नगरपालिकामा पनि यस्तै तालिम, इन्टर्नसिप र रोजगार व्यवस्थापन कार्यक्रम सफलतापूर्वक सञ्चालन गरिसकेको छ । ती कार्यक्रमहरूले स्थानीय युवालाई प्रशिक्षित गरी रोजगारी सिर्जना र डिजिटल सीप विकासमा महत्वपूर्ण योगदान पुर्याएका छन् । नगरपालिकास्तरमै युवा जनशक्तिलाई सीपयुक्त बनाइ दिगो करियर इकोसिस्टम निर्माण गर्ने उद्देश्यले यो पहल गरिएको जेनेस सलुशनले जनाएको छ ।