काठमाडौं । एपोलो हाइड्रोपावर लिमिटेडको साधारण सेयरको बिक्री खुल्ला भएको छ । कम्पनीले फागुन ११ गते सोमबारबाट आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि साधारण सेयरको बिक्री खुल्ला गरेको हो ।
कम्पनीले जारी पुँजी ५७ करोड रुपैयाँको ३० प्रतिशत अर्थात् १४ करोड १० लाख रुपैयाँ बराबरको १४ लाख १० हजार कित्ता सेयर निष्कासन गर्ने अनुमति पाएको थियो । सो मध्ये चार करोड ७० लाख रुपैयाँ बराबरको प्रतिसेयर एक सय रुपैयाँ दरका चार लाख ७० हजार कित्ता साधारण सेयर आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाहरुका लागि निष्कासन गर्न लागेको हो । आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुका लागि निष्कासन गरेको सेयरमध्ये ५० प्रतिशत अर्थात् दुई लाख ३५ हजार कित्ता सेयर उच्च प्रभावित क्षेत्र अर्थात् ओखलढुङ्गा जिल्ला खिजिदेम्बा गाउँपालिका वडा नं. ७ र ८ का स्थानीय बासिन्दाहरुमा बाँडफाँट गरिने छ भने ३० प्रतिशत अर्थात् एक लाख ४१ हजार कित्ता मध्यम प्रभावित क्षेत्र अर्थात् सोलुखुम्बु जिल्ला लिखुपिके गाउँपालिका वडा नं. २ र रामेछाप जिल्ला उमाकुण्ड गाउँपालिका वडा नं. ३ का बासिन्दाहरुका लागि बाँडफाँट गरिने छ । त्यस्तै, बाँकी रहेको २० प्रतिशत अर्थात् ९४ हजार कित्ता सेयर न्यून प्रभावित क्षेत्र रामेछाप जिल्ला उमाकुण्ड गाउँपालिका वडा नं. २ र गोकुलगंगा गाउँपालिका वडा नं. १ का स्थानीय बासिन्दाहरुमा बाँडफाँट गरिने छ । यसका साथै सर्वसाधारण लगानीकर्ताहरुका लागि छुट्याइएको सेयरको १० प्रतिशतले हुन आउने नौँ लाख ४० हजार रुपैयाँ बराबरको प्रतिसेयर एक सय रुपैयाँ अंकित दरका ९४ हजार कित्ता साधारण सेयर नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृती प्राप्त गरी विदेशमा रोजगार गरी रहेका नेपालीहरुका लागि निष्कासन गर्न लागेको हो । यो आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाहरुका लागि निष्कासन बन्द छिटोमा फागुन २५ गते हुनेछ भने ढिलोमा चैत १० गते हुनेछ ।