काठमाडौं । अप्पर लोहोरे खोला हाइड्रोपावर कम्पनी लिमिटेडको हकप्रद सेयर निष्कासनसम्बन्धी कार्य गर्नको लागि एनआईसी एसिया क्यापिटल निष्कासन तथा बिक्री प्रबन्ध नियुक्त भएको छ । कम्पनीले एक सय रुपैयाँ अंकित दरका ५० लाख ९८ हजार ४० कित्ता सेयरले हुन आउने रकम ५० करोड ९८ लाख चार हजार रुपैयाँको १ः१.५ बराबर अर्थात् एक सय रुपैयाँ अंकित दरका ७६ लाख ४७ हजार ६० कित्ता हकप्रद सेयर निष्कासन गर्नको लागि एनआईसी एसिया क्यापिटल लिमिटेड र अप्पर लोहोरे खोला हाइड्रोपावर कम्पनी लिमिटेडबीच निष्कासन तथा बिक्री प्रबन्धक नियुक्तिसम्बन्धी दुई पक्षीय सम्झौता भएको हो ।
सम्झौता पत्रमा अप्पर लोहोरे खोला हाइड्रोपावर कम्पनीको तर्फबाट अख्तियार प्राप्त प्रमुख कार्यकारी अधिकृत सदिच्छा कार्की र निष्कासन तथा बिक्री प्रबन्धकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत रामेन्द्र रायमाझीले हस्ताक्षर गरेका हुन् । एनआईसी एसिया क्यापिटलले निष्कासन तथा बिक्री प्रबन्ध सेवाअन्तर्गत हालसम्म सामूहिक लगानी कोष तथा डिबेन्चर सहित २० वटा कम्पनीको धितोपत्र निष्कासन र ४ वटा कम्पनीको हकप्रद सेयर निष्कासन कार्य सम्पन्न गरेको छ । उक्त निष्कासन तथा बिक्री प्रवन्धक सेवामार्फत हाल सम्म १९ अर्ब ३४ करोड भन्दा बढी रकमसमेत संकलन गरिदिन सफल भएको छ ।