नेपाली कांग्रेसका नवनियुक्त सभापति गगनकुमार थापाको नेतृत्वमा ‘बदल्यौँ कांग्रेस, बदल्छौँ देश’ भन्ने संकल्प सार्वजनिक भएको छ । जनकपुरधाममा आयोजित प्रतिज्ञा सभामार्फत संगठनात्मक रूपान्तरणलाई राष्ट्रिय समृद्धिसँग जोड्ने प्रयास गरिएको छ । सन्देश स्पष्ट छ– पहिले पार्टी सुधार, त्यसपछि देश सुधार । तर नेपाली राजनीतिक इतिहासले देखाएको यथार्थ के हो भने नारा र प्रतिज्ञा पर्याप्त हुँदैनन्, परिणाम नै अन्तिम मापदण्ड हुन्छ । नेपाल अहिले आर्थिक संक्रमणको अवस्थामा छ । रोजगारी अभाव, युवा पलायन, कृषि उत्पादनको गिरावट, आयातमा निर्भरता र राजस्व संकटजस्ता चुनौतीहरू एकसाथ देखिएका छन् । यस्तो अवस्थामा राजनीतिक दलहरूको प्राथमिकता भावनात्मक भाषण होइन, स्पष्ट आर्थिक खाकामा हुनुपर्छ । राष्ट्रिय स्वतन्त्र पार्टीले ‘नागरिक करार’मार्फत पाँचवर्षे लक्ष्य सार्वजनिक गरेको छ । प्रतिव्यक्ति आय तीन हजार डलर पु¥याउने, कुल गार्हस्थ्य उत्पादनको आकार एक सय अर्ब अमेरिकी डलर पु¥याउने र ठूलो संख्यामा १२ लाख रोजगारी सिर्जना गर्ने प्रतिबद्धता आकर्षक सुनिन्छ । अर्थविद्हरूका अनुसार यी प्रतिबद्धता चुनावमुखी भएको तर धेरै महत्वाकांक्षी र सफलता प्राप्ति गर्न असम्भव नभए पनि अति कठिन हुने प्रतिक्रिया दिएका छन् । विकास लक्ष्य निर्धारण गर्दा सम्भाव्यता, स्रोत–साधन, लगानीको प्रवाह र संस्थागत क्षमताको स्पष्ट आधार आवश्यक हुन्छ । अन्यथा प्रतिबद्धता राजनीतिक दस्ताबेजमै सीमित हुन सक्छ ।
नेपाली कांग्रेसले अघि सारेको ‘पेटभरि खुवाउने, देशलाई चिनाउने किसानको नेपाल’ तथा ‘सम्पत्ति र रोजगारी सिर्जनालाई प्रोत्साहन गर्ने नेपाल’जस्ता नाराहरूलाई व्यवहारमा रूपान्तरण गर्न सके कृषि क्षेत्र नै आर्थिक पुनरुत्थानको प्रमुख आधार बन्न सक्छ । नेपालको भौगोलिक विविधता र उर्वर भूमि कृषि विस्तारका लागि अनुकूल छ । तर समस्या भूमि अभावको होइन, व्यवस्थापन र नीति अभावको हो । लाखौँ बिघा जमिन बाँझो वा कम उपयोगमा छन् । कृषिमा संलग्न हुनुपर्ने युवाशक्ति विदेश पलायन भएको छ । आधुनिक प्रविधिको न्यून प्रयोग, उच्च उत्पादन लागत र कमजोर बजार संरचना दीर्घकालीन समस्या बनेका छन् । यदि राजनीतिक प्रतिबद्धतालाई कार्यान्वयनमा बदल्ने हो भने केही आधारभूत सुधार आवश्यक देखिन्छ । पहिलो, उत्पादनदेखि बजारीकरणसम्मको एकीकृत मूल्य शृंखला विकास । किसानलाई केवल उत्पादनमा सीमित नराखी प्रशोधन र बजार पहुँचसम्म जोड्नुपर्छ । उदाहरणको लागि नेपालको कफीलाई लिन सकिन्छ । कफी संस्कृति अत्यधिक मात्रामा मुख्य सहरी क्षेत्रबाहिर समेत बढेको पाइन्छ । नेपाली बजारमा मात्र झण्डै तीन हजार टन कफीको माग छ भने घरेलु उत्पादन खालि पाँच सय टनमा मात्र सीमित भएको हिसाबले नेपालभरका कफी खेती गर्न योग्य भूमिलाई सदुपयोग गर्न सकिन्छ । अन्तर्राष्ट्रिय बजारमा नेपाली कफीको ठूलो माग भएर पनि निर्यात गर्न असमर्थ अवस्थामा बस्नु परेको छ । त्यस्तै तराईको समथर भू–भागमा आधुनिक प्रविधि प्रयोग गरी धानलगायत खेती गर्न सके पेटभरि खान पुग्ने मात्र नभई निर्यात समेत गर्न सक्ने सम्भावना रहेको छ ।
दोस्रो, युवा उद्यमशीलतालाई कृषि–प्रविधि, एग्रो–प्रोसेसिङ र डिजिटल बजार प्रणालीसँग जोड्नुपर्छ । तेस्रो, सहकारी र महिला समूहलाई संगठित उत्पादन तथा सामूहिक व्यवस्थापनमा सक्षम बनाउनु आवश्यक छ । चौथो, चक्लाबन्दी खेती र आधुनिक उपकरणको विस्तारले लागत घटाउन र उत्पादन बढाउन सहयोग पु¥याउन सक्छ । नेपाली कांग्रेसको राजनीतिक संगठनहरूको संरचना बलियो मानिन्छ— एकाइ÷वडादेखि नगर, प्रदेश र संघीय (केन्द्रीय) तहसम्म फैलिएको । राजनीतिक संगठनको आर्थिक रूपान्तरण ः नेपाली कांग्रेसले जसरी आन्दोलन र निर्वाचनमा आफ्नो संरचना परिचालन ग¥यो, त्यही शक्ति उत्पादन र रोजगारी अभियानमा लगाउन सके परिवर्तन सम्भव छ । नेपाली कांग्रेसको खम्बा कहलिएका नेविसंघ र तरुणदलका हजारौँ हजार युवाशक्तिलाई केवल नारा र ¥यालीमा होइन, सहरमुखी नभई गाउँमुखी बनाई गाउँ–गाउँमा उत्पादनतर्फ एकीकृत कृषिमा एकल, चक्लाबन्दी, प्रविधि प्रयोग, बजार व्यवस्थापनमा उतार्न सकिन्छ । नेपाली कांग्रेसका अरु संरचना महिला संघले सहकारीको सशक्तीकरण महिला समूह र सहकारीमार्फत संगठित उत्पादन, प्रशोधन र बजारीकरण गर्न सकिन्छ । त्यस्तै कृषक संगठनमा आबद्ध सदस्यहरू कृषि क्षेत्रमा अगुवा हुन सक्छ भने अरु संरचनाहरू चाहे त्यो भूतपूर्व सैनिक संघ होस् या जनजाति संघको सहभागिता बढाई कृषि क्रान्ति आन्दोलन, उत्पादनमुखी अभियानमा रूपान्तरण गर्न सके ठोस परिणाम सम्भव छ ।तर यसका लागि तीन कुरा अपरिहार्य छन्, समयबद्ध योजना, पारदर्शी अनुगमन र उत्तरदायित्व । प्रगति प्रतिवेदन सार्वजनिक गर्ने, लक्ष्य पूरा नभए कारण स्पष्ट गर्ने र नीतिगत सुधार गर्न तत्पर रहने संस्कार विकास गर्नुपर्नेछ । जनताले अब भाषण होइन, तथ्यांक र परिणाम हेर्न चाहेका छन् । ‘बदल्यौँ कांग्रेस, बदल्छौँ देश’ भन्ने नारा अवसर पनि हो र चुनौती पनि । अवसर यस अर्थमा कि संगठनात्मक ऊर्जा आर्थिक अभियानमा रूपान्तरण गर्न सकियो भने परिवर्तन सम्भव छ । चुनौती यस अर्थमा कि अपेक्षा उच्च छन् र असफलता भएमा विश्वास पुनः प्राप्त गर्न कठिन हुनेछ ।नेपालको राजनीति अब वाचाको प्रतिस्पर्धाबाट परिणामको प्रतिस्पर्धातर्फ जानुपर्ने समय आएको छ । यदि नेपाली कांग्रेसले कृषि, रोजगारी र उत्पादनमुखी अर्थतन्त्रलाई केन्द्रमा राखेर कार्यान्वयनमा प्रतिबद्धता देखाए भने नारा इतिहास बन्न सक्छ । अन्यथा यो पनि अर्को चुनावी दस्ताबेज मात्र बन्ने जोखिम रहन्छ । अब परीक्षणको समय सुरु भएको छ— नाराको होइन, कार्यसम्पादनको ।