काठमाडौं । आईएमई र साउदीको अग्रणी डिजिटल वालेट टीआईक्यूएमओबीच डिजिटल कारोबार विस्तारको लागि सम्झौता भएको छ ।
गत माघ २७ गते साउदी अरबको राजधानी रियादमा एक विशेष कार्यक्रमबीच सम्झौता भएको हो । आईएमईका अध्यक्ष हेमराज ढकाल र टिक्मोका प्रबन्धनिर्देशक अब्दुलअजीज अज्लान अल्अज्लानले हस्ताक्षर गरेका हुन् । कार्यक्रममा साउदीको लागि नेपालको एक्टिङ एम्बेसडर सिर्जना अधिकारी, आईएमईका कार्यकारी अधिकृत दिवाकर पौड्याल तथा आईएमई र टिक्मोका उच्चाधिकारीहरूको उपस्थिति थियो । यो सम्झौता केवल एउटा कानुनी हस्ताक्षरमात्र नभएर दुई राष्ट्रको साझा डिजिटल भविष्यको रहेको दुवै पक्षको भनाइ रहेको छ ।
साउदी अरब हाल आफ्नो भिजन २०३० मार्फत ’नगदरहित’ समाजतर्फ लम्किरहेको छ । अर्कोतर्फ नेपालमा पनि डिजिटल वित्तीय पहुँच अब एउटा लक्ष्यमात्र नभई यथार्थ बन्दै गएको छ । यो सहकार्यले अरबको मरुभूमि र हिमालयको देश नेपालबीचको दूरीलाई थप कम गरेको आईएमईले जनाएको छ । यो साझेदारीले एउटा डिजिटल वित्तीय कोरिडोर निर्माण गरेको जनाउँदै आईएमईले यसले आर्थिक स्थिरता, डिजिटल सशक्तीकरण र सहज आबद्धतालाई प्रस्तुत गरेको छ । यो यात्राले भविष्यमा वित्तीय कारोबारलाई सहज र विश्वासिलो बनाउने लक्ष्य राखेको छ ।
सम्झौता भएसँगै आईएमईले टिक्मोमार्फत आईएमई गरौँ, उपहार जितौँ योजना सार्वजनिक गरेको छ । यही पुस २१ देखि चैत १७ सम्म सञ्चालनमा रहने यो योजनाअन्तर्गत साउदी अरबमा रहेका नेपालीहरूले टिक्मो एप प्रयोग गरेर आईएमईमार्फत पैसा पठाउँदा विभिन्न उपहारहरू जित्ने अवसर रहेको छ ।