काठमाडौँ । दोलखाको बैतेश्वर गाउँपालिकास्थित मतदान केन्द्रको शुक्रबार निरीक्षण गर्दै गृहमन्त्री ओमप्रकाश अर्यालले यही फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचन स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न हुने बताएका छन् ।
निर्धक्कसाथ शान्तिपूर्वक निर्वाचन गराउनेगरी वातावरण बनाउन सम्बद्ध अधिकारीलाई निर्देशन दिएको बताउँदै मन्त्री अर्यालले विगतमा भएका कमजोरीलाई सच्याइ यसपटको निर्वाचन स्वच्छ, निष्पक्ष धाँधलिरहित बनाइने बताए ।
उनले सामाजिक सञ्जालमा चलाइने गलत, मिथ्या र दुष्प्रचारका सूचना तथा खबरहरूबाट सचेत भएर आ–आफ्नो निर्वाचन क्षेत्रको तयारीमा जुट्न सम्बन्धित सबै पक्षलाई आग्रह गरे । शुक्रबार बिहान गृहमन्त्री अर्याल, कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीसहितको टोलीले गाउँपालिकाको मतदान केन्द्रको अनुगमनका साथै निर्वाचन सुरक्षाबारे छलफलसमेत गरेका थिए ।
अनुगमन टोलीमा नेपाली सेनाका बलाधिकृत रथी प्रदिपजङग केसी, सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याल, प्रहरी अतिरिक्त महानिरीक्षक गणेश ठाडा मगर, प्रहरी नायब महानिरीक्षक विष्णु भट्ट, गृह मन्त्रालयका प्रवक्ता आनन्द काफ्ले, सह–प्रवक्ता रमा आचार्य, प्रमुख निर्वाचन अधिकृत रामप्रसाद न्यौपाने, दोलखाका प्रमुख जिल्ला अधिकारी हरिप्रसाद घिमिरे, बैदेश्वर गाउँपालिकाका अध्यक्ष छवि लामालगायत सहभागी थिए ।
सह–प्रवक्ता आचार्यका अनुसार छलफलमा विसं २०७९ को स्थानीय निर्वाचन र प्रतिनिधिसभा निर्वाचनबारे जानकारी लिनुका साथै प्रतिनिधिसभाको निर्वाचन सुरक्षा योजनाबारे जानकारी दिइएको थियो । विगतमा मतदान केन्द्रमा भएको संवेदनशीलता र समस्यालाई ध्यान दिएर हाल विभिन्न नाकामा कडाइ गरिएको जनाइएको छ ।
सो अवसरमा निर्वाचनलाई निष्पक्ष, भयरहित वातावरणमा सम्पन्न गर्न सबै सरोकार भएकाहरूको सक्रिय सहभागिताका लागि कार्यवाहक प्रमुख निर्वाचन आयुक्त भण्डारीले आग्रह गरे । उनले विगत निर्वाचनको संवेदनशीलतालाई ध्यानमा रखेर निर्वाचन तयारी, सम्भावित समस्याको पहिचान गरी निर्वाचनपूर्वका काम सुनिश्चित र निर्वाचन सुरक्षालाई सुनिश्चित गर्न आग्रह गरे ।
निर्वाचनको विद्यमान अवस्थाबारे जानकारी दिँदै प्रमुख निर्वाचन अधिकृत न्यौपानेले सुरक्षा निकायबीच समन्वय भइरहेको र विगतका मतदानमा अवरोध गर्नेमाथि निगरानी बढाइएको बताए । प्रमुख जिल्ला अधिकारी घिमिरेले जिल्लाको निर्वाचन अवस्थाबारे जानकारी गराएका थिए । सशस्त्र प्रहरी महानिरीक्षक थापाले जिल्लाको सुरक्षाबारे जानकारी दिएका थिए ।
बैदेश्वर गाउँपालिकामा आठ मतदानस्थल, २१ मतदान केन्द्र र १८ हजार ४२२ मतदाता सङ्ख्या रहेको सो क्षेत्रमा ९० देखि ९५ प्रतिशत मत खस्ने गरेको छ ।