काठमाडौं, नेपाल सरकारले मध्यपूर्व क्षेत्रमा विकसित हुँदै गएको तनावपूर्ण अवस्थालाई मध्यनजर गर्दै नेपाली नागरिकलाई इजरायल र इरानको यात्रा नगर्न कडाइका साथ आग्रह गरेको छ। परराष्ट्र मन्त्रालयले शनिबार जारी गरेको एडभाइजरीमा दुवै देशको अवस्था सामान्य नहुँदासम्म यात्रा स्थगित गर्न सुझाव दिइएको छ। “इजरायल वा इरान यात्रा गर्ने योजना बनाएका नेपाली नागरिकहरूलाई दुवै देशको अवस्था सामान्य नहुँदासम्म आफ्नो यात्रा स्थगित गर्न कडाइका साथ सुझाव दिइन्छ,” एडभाइजरीमा उल्लेख छ। मन्त्रालयले मध्यपूर्व क्षेत्रमा विकसित अवस्थाको नजिकबाट अनुगमन गरिरहेको जनाएको छ। हाल Israel र Iran मा बसोबास गरिरहेका नेपाली नागरिकहरूलाई उच्च सतर्कता अपनाउन अनुरोध गरिएको छ।“इजरायल र इरानद्वारा जारी गरिएका सुरक्षा परामर्श तथा निर्देशनहरू कडाइका साथ पालना गर्नुहोस्। सकेसम्म घरभित्रै बस्नुहोस्, सतर्क रहनुहोस्, आवश्यक सावधानी अपनाउनुहोस् र आफू रहेको स्थानको नेपाली समुदायसँग नियमित सम्पर्कमा रहनुहोस्,” मन्त्रालयले भनेको छ। साथै, दुवै देशका सम्बन्धित निकायहरूको पूर्वअनुमतिबिना यात्रा नगर्न पनि सरकारको आग्रह छ। सरकारले अवस्था सामान्य नभएसम्म अनावश्यक आवतजावत नगर्न र आधिकारिक सूचनामा मात्र विश्वास गर्न आग्रह गर्दै परिस्थिति निरन्तर अनुगमनमा रहेको जनाएको छ।