काठमाडौं । कुमारी बैंकका अडिटर भरत थापाले आत्महत्या गरेका छन् । स्रोतका अनुसार कुमारी बैंकमा अडिटरको काम गर्दै आएका भुक्तपुरको सूर्यविनायक नगरपालिका कटुञ्जे निवासी थापाले केही दिनअघि अर्थात् बुधबार भक्तपुर जिल्लाकै पाइलट डाँडाको जंगलमा गएर बिष सेवन गरी आत्महत्या गरेका हुन् ।
केही दिन परिवारबाट सम्पर्कविहीन भएका थापाले आफूले नियमितरूपमा चढ्ने गाडी लिएर पाइलट डाँडामा पुगेर गाडी पार्किङ गरी विष सेवन गरेका थिए । सम्र्पकविहीन भएका थापाको बारेमा खोजतलास गर्दा गाडीसँगै विषको बोतल र लास भेटियो, स्रोतले भनेको छ । बैंकमा कार्यरत थापाले यसरी आत्महत्या गरेपछि परिवारजनले बैंकका प्रमुख कार्यकारी अधिकृत रामचन्द्र खनालको नाममा किटानी जाहेरी दिन पुगेका थियो । किटानी जाहेरी दिन विषयमा मृतक थापाका परिवारका सदस्य र प्रहरीबीच केही समय विवाद समेत भएको स्रोतले बताएको छ । प्रहरीले आत्महत्या दुरुस्साहनको लागि बैंकका प्रमुख कार्यकारीविरुद्ध प्रमाण नपुग्ने, कसैले आरोप लगाएकै आधारमा ठूलो र धेरै कर्मचारीहरू भएको बैंकका प्रमुख कार्यकारी अधिकृतविरुद्ध किटानी जाहेरी लिने विषयमा पर्याप्त प्रमाण नभएको भन्दै विष सेवन गरी आत्महत्या गरेको भन्ने विषयमा मात्र किटानी जाहेरी लिएको थियो ।
स्रोतका अनुसार प्रहरीले विष सेवनका विषयमा जाहेरी दर्ता गरे पनि आत्महत्या गर्नुको कारणबारे विस्तृत अनुसन्धान गर्ने सहमति भएपछि उक्त जाहेरी दर्ता गरिएको स्रोतले बताएको छ । जाहेरी दर्ता भएपछि मृतक थापाका परिवारका अन्य सदस्यले थापाको आत्महत्याको कारणका बारेमा बैंकका केही उच्च अधिकारीहरूसँग वादविवाद तथा छलफल गरी पीडित परिवारलाई न्याय दिन आग्रह गरेका थिए । निकै शालिन, सोझो, कर्तव्यनिष्ठ र कुनै पनि कुलतमा (जाँड रक्सी केही नखाने) नफसेका थापा बैंकको अत्यधिक टर्चरकै कारण आत्महत्या गर्न बाध्य भएको भन्दै पीडित परिवारका सदस्यहरूले न्याय र उचित क्षतिपूर्ति दिन बैंकका उच्च अधिकारीहरूसँग माग गरेका थिए । सोहीअनुसार तत्कालको लागि बैंकले मृतक थापाकी छोरीलाई बैंकमा जागिर दिनेलगायतका केही सहमति गरेको स्रोतले बताएको छ । बैंकसँग यसरी सहमति गरेपछि लासको पोस्टमार्टम गरी पशुपति आर्याघाटमा मृतक थापाको दाहासंस्कार गरिएको पारिवारिक स्रोतले बताएको छ ।
यता बैंकका अडिटर थापाको आत्महत्याका बारेमा बैंकका प्रमुख जोखिम अधिकृत रोहित सिंहसंग शनिबार सम्पर्क गर्न खोज्दा सम्पर्क हुन सकेन । उनको अफिसियल मोबाइल स्वीच अफ गरिएको थियो । सोपश्चात् बैंकका गुनासो अधिकृत प्रमुख कुमार उप्रेतीसँग सम्पर्क गर्न खोज्दा उनको अफिसियल मोबाइल पनि स्वीच अफ गरिएको थियो ।