काठमाडौं । ललितपुरको बखुण्डोलमा रहेको समिट होटल समूहको ज्यादतीले सँगै रहेको ४५ वर्ष पुरानो ग्रिनविच भिलेज होटल बन्द भएको छ ।
समिट होटल समूहका सञ्चित कृष्ण श्रेष्ठ, अमृत शाक्यलगायत र उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष तथा आईजे ग्रुपका अध्यक्ष रवीभक्त श्रेष्ठको संयुक्त लगानीमा निमार्णाधीन समिट अपार्टमेन्टको बेसमेन्ट खन्ने क्रममा छिमेकी ग्रिनविच होटलसहित जोशन अमात्य, सुवास पाण्डे, रचना शाही, ऋगध्वज विष्ट र रञ्जनध्वज विष्टको घर भासिएसँगै क्षतिपूर्तिसहित बनाइदिने सम्झौताविपरीत समिट होटल जान थालेपछि ४५ वर्षको इतिहास बोकेको ग्रिनविच होटल बन्द भएको हो ।
४० कोठा रहेको होटलमा विदेशीसहित स्वदेशी पाहुनाहरू सुतिरहेकै समयमा मध्यरात होटल क्षतिग्रस्त भएपछि बिहानै सबै पाहुनाहरूलाई अन्यत्र सारिएको थियो भने त्यसकै भोलिपल्ट समिट होटल समूहसहित भएको वार्तामा क्षतिपूर्तिसहित भवन पुनर्निर्माण गरिदिने समझदारी भएको थियो ।
तर यसबीचमा समझदारी भएको तीन वर्ष पूरा हुन लाग्दा समेत समिट होटलले सो समझदारी कार्यान्वयन नगरेपछि ग्रिनविच होटल ठूलो आर्थिक सङ्कटमा परेको छ ।
समिट अपार्टमेन्टको बेसमेन्ट खन्ने क्रममा बन्दै गरेको घरसहित अन्य घरहरू र होटल नै बन्द हुनेगरी भासिएपछि पीडितहरू वडा हुँदै ललितपुर महानगरपालिकामा क्षतिपूर्तिको मागसहित बन्दै गरेको अपार्टमेन्ट स्थगनको लागि निवेदन लिएर पुगेपछि महानगरपालिकाको उपमेयर मञ्जली शाक्य बज्राचार्यसहितको उपस्थितिमा भएको वार्तामा क्षति निर्धारणको लागि परामर्शदाता नियुक्त गरी अध्ययन गरी त्यसले दिएको प्रतिवेदनअनुसार क्षतिपूर्ति निर्धारण गर्ने समझदारी भए पनि महानगरपालिकाको मिलेमतोमा प्रतिवेदन नै गायब पारी हालसम्म पनि उचित क्षतिपूर्ति प्राप्त नभएको पीडितहरूले बताएका छन् ।
पीडितहरूका अनुसार रविभक्त श्रेष्ठ, संचित कृष्ण श्रेष्ठसहितको समूहले अपार्टमेन्टको बिल्डिङ बनाउने काम लगभग अन्तिम चरणमा पुग्दा समेत राजनीति पहुँच र महानगरपालिकासँगको मिलेमतोमा क्षतिपूर्ति नदिएर झुलाउँदै आएको छ ।
भवन ऐन, २०४४ को दफा १० ले भवन संहिताअनुरूप भवन निर्माण गर्नुपर्ने, दफा ११ अनुसार भवनको डिजाइन तथा नक्सा स्वीकृति लिनुपर्ने व्यवस्था गरेको भए पनि समिट होटल समूहले सरकारी नियम तथा कानुन सबैको धज्जी उठाउँदै निर्माण सुरु गर्दा ललितपुर महानगरपालिकाको सहयोगमा अन्यायमा परेका ग्रिनविच होटलसहितका घरधनीहरूबीच नै गुटबन्दी गराएर घरधनीहरूलाई आफ्नो पकडमा राख्दै इतिहास बोकेको र धेरै नेपालीहरूलाई रोजगारी दिइरहेको ग्रिनविच होटललाई एक्लाएर क्षतिपूर्ति नदिन अनेकौँ प्रयासहरू गर्दै आइरहेको पाइएको छ ।
वातावरण संरक्षण ऐन, २०७६ तथा वातावरण संरक्षण नियमावली, २०७७ ले व्यवस्था गरेअनुसार कुनै पनि प्रस्तावकले कुनै प्रस्ताव वा आयोजना वा परियोजना वा कार्यक्रम सञ्चालन गर्नुपूर्व नियमावलीको नियम ३ को अनुसूची १ मा उल्लिखित प्रस्तावकको हकमा संक्षिप्त वातावरण अध्ययन, अनुसूची २ मा उल्लिखित प्रस्तावकको हकमा प्रारम्भिक वातावरणीय प्रभाव मूल्यांकन गरी, प्रतिवेदन तयार गरी स्वीकृति लिनुपर्ने अनिवार्य व्यवस्था गरेको भए पनि ललितपुर महानगरपालिका र विशेषगरी भवन विभागमा रहेका कर्मचारीहरूको सहयोगमा कानुनले निर्धारण गरेका कुनै पनि मापदण्डहरू पूरा नहुँदै निर्माण थालेर हाल अन्तिम चरणमा पुर्याएको समिट अपार्टमेन्टले आफ्नो अनुकूलको निर्णय महानगरपालिकाबाट गराउँदै आएको समाचार स्रोतले दाबी गरेको छ ।
समाचार स्रोतका अनुसार काठमाडौं उपत्यकाभित्रका नगरपालिकाहरूमा गरिने निर्माणसम्बन्धी मापदण्ड, २०६५ संयुक्त आवासको स्मामित्व ऐन, २०४५ एवं स्थानीय सरकार सञ्चालन ऐन, २०७५ समेतले निर्धारण गरेको कानुनी व्यवस्था र मापदण्डहरू समेत पालना नगरी बनाएपछि स्थानियहरूको विरोधपछि महानगरपालिकाको सहयोगमा कानुनअनुसार चाहिने सबै मापदण्डहरू पूरा गरेको पत्र बनाएको थियो ।
महानगरकै सहयोगमा पटक–पटक क्षतिपूर्ति दिने भन्दै क्षतिपूर्ति अध्ययन र निर्धारण गरी महानगरकै रोहबरमा सम्झौता गरिए पनि लामो समयदेखि क्षतिपूर्ति नपाएपछि ग्रिनविच होटल तीन वर्षदेखि बन्द हुँदै आएको छ ।