विराटनगर । फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्यको निर्वाचनको लागि सुरक्षा संवेदनशीलतालाई ध्यानमा राखेर सामान्य रूपमा होली मनाउन जिल्ला प्रशासन कार्यालय मोरङले आग्रह गरेको छ ।
विगतका वर्षहरूमा मनाए जस्तो यसवर्ष धुमधामका साथ होली नमनाउन जिल्ला प्रशासन कार्यालय मोरङले आग्रह गरेको हो । प्रतिनिधिसभा निर्वाचन नजिकिएकाले होलीको दिन सार्वजनिक रूपमा भेला, जमघट तथा सांगीतिक कार्यक्रम गर्न नपाइने जिल्ला प्रशासन कार्यालय मोरङले जनाएको छ । जिल्ला प्रशासन कार्यलयले विज्ञेप्ती जारी गरी सर्वसाधारणलाई घरमै सीमित भएर पर्व मनाउन आग्रह गरेको छ । जिल्ला प्रशासन कार्यालय मोरङका सहायक प्रमुख जिल्ला अधिकारी सरोज कोइरालाले यसवर्षको होली निर्वाचनको मौन अवधिसँग जुधेकाले कुनै पनि किसिमको सभा, भेला वा सार्वजनिक कार्यक्रम गर्न नपाइने भएकाले सबै मोरङबासीलाई आग्रह गरेको जानकारी दिए ।
होलीका दिन टोल–टोलमा हुने सामूहिक जमघट, नृत्य कार्यक्रम, डीजे बजाउने लगायतका गतिविधि पनि नगर्न जिल्ला प्रशासन कार्यालय मोरङले आग्रह गरेको उनको भनाइ छ । हाल देशमा हुुन गइरहेको निर्वाचन पनि एक प्रकारको राष्ट्रिय पर्व नै भएकाले यसपटक सबै जिल्लाबासीले घरमै सुरक्षित र मर्यादित रूपमा होली मनाउने अपेक्षा गरेको सहायक प्रमुुख जिल्ला अधिकारी कोइरालाले बताए । उनका अनुसार फागुन १८ गते राति १२ बजेदेखि मौन अवधि सुरु हुने भएकाले त्यस अवधिमा कुनै पनि प्रकारका भेला, सभा वा प्रचारात्मक गतिविधि गर्न पाइँदैन । तसर्थ मौन अवधिमा आचारसंहिता विपरीत गतिविधि गरे कानुन अनुसार कारबाही गर्ने तयारी जिल्ला प्रशासनले गरेको उनले बताए । प्रशासनले होलीका अवसरमा मादक पदार्थ, लागुऔषध सेवन तथा झैझगडा जस्ता अवाञ्छित गतिविधि नगर्न पनि आग्रह गरेको छ । सुरक्षा दृष्टिकोणबाट संवेदनशील समय भएकाले चौक–चौराहामा नाचगान, डीजे तथा भीडभाड नगर्न विशेष अनुरोध गरिएको उनले जानकारी दिए ।
यस वर्ष पहाडी क्षेत्रमा फागुन १८ गते होली परेको छ भने त्यसैदिनबाट मौन अवधि सुरु हुँदैछ । निर्वाचन भन्दा ७२ घण्टा अघि मौन अवधि लागू हुने व्यवस्था छ । प्रतिनिधिसभा निर्वाचन भने फागुन २१ गते हुँदैछ । निर्वाचनका कारण होली जस्तो महत्वपूर्ण पर्वमा केही असुविधा हुन गएको प्रति प्रशासनले क्षमायाचना समेत व्यक्त गर्दै सबै जिल्लाबासीलाई नियम पालना गरी निर्वाचन सफल बनाउन सहयोग गर्नका लार्गि विशेष आग्रह गरेको छ ।