२१ फागुन ०८२ को प्रायोजित चुनाव मिति आइपुग्न मात्र दुई साता १४ दिन अगाडि राजा ज्ञानेन्द्र वीर विक्रम शाहदेव (‘राष्ट्रपिता‘ ‘प्रजातन्त्र पिता‘ का लिगेसी उत्तराधिकार) बाट ‘राष्ट्रिय सहमति वेगर चुनाव भए त्यसले राष्ट्रिय अस्तित्व (जीवन) लाई इतिहासकै सबैभन्दा दुःखद् दर्दनाक संकट निम्तिने‘ जुन चेतावनीपूर्ण सम्बोधन आयो । त्यसले आसन्न चुनावको औचित्य र उपयोगिता पूर्णरुपमा समाप्त भएको छ ।
राजा ज्ञानेन्द्रको ७ फागुनको सम्बोधनबाट यतिखेर जस्ताप्रकारले ‘चुनाव नभए यसै असान्ती अराजकता, चुनाव भए महासमस्या‘ भन्ने स्थिति देखिन्छ, यस्तै स्थिति संविधानसभा चुनावका वखत पनि देखिएको थियो । ‘संविधानसभाको चुनाव नभए यसै समस्या भए महासमस्या‘ भन्ने त्यसबखत देखिएको परिस्थितिमा चुनावहुँदाको महासमस्या आखिर अक्षरस चरितार्थ भयो नै । ०७२ को संविधान जारी भएको विगत दस वर्ष अवधिमा परिणाम राजा ज्ञानेन्द्रको भाषामा ‘इतिहासकै दुःखद् दर्दनाक गहिरो संकट‘ आजको हालतबाट छर्लङ्ग छँदैछ ।
आजको ‘महासमस्या‘ दुइटा ‘अनावश्यक‘ संविधानसभा चुनाव भएबाट नै प्रासम्भ भएको हो । जब ८० प्रतिशत जनताले संघियता (देश टुक्र्याउने) र ९० प्रतिशत जनताले धर्म निरपेक्षता (गणतन्त्र) चाहिदैन भनेको राज्यस्तरको मत सर्वेक्षण अभिमतलाई बोरामा कुहाएर ७२ को संघीय गणतन्त्रको संविधान लादियो त त्यतिखेर नै राष्ट्रिय शक्तिमा विदेशी शक्ति हावी भएको प्रष्ट कित्ताकाट भएको थियो । कस्तो हाकाहकी डाकजनी शैलीमा विदेशी शक्ति (रअ, सिआईए, युरोपियन युनियन) राज्यशक्तिमा हावी भैदिए भने प्रधानमन्त्री रहेका सुशील कोइरालाले भने– ‘संविधानमा धर्मनिरपेक्षता घुसाएको मलाई थाहै दिइएन‘ । कुरो उठ्यो प्रधानमन्त्री सुशील कोइरालालाई झुक्याएर आँखामा छारो हाल्न सक्ने व्यक्ति को ? भन्दा गिरिजाले क्रेनले तानेर गृहमन्त्री बनाएका कृष्णप्रसाद सिटौला । आखिर सुशील कोइरालाको पनि षड्यन्त्रपूर्वक मृत्यु भएर हाहा हिहि हाँसोमै डाकजनी शैलीको राष्ट्रघात फासफुस आम जनमतसम्म सामान्नीकरण भएर प्रमाण हराएर गयो । सुडान घोटाला मात्र बाँकी रह्यो । अर्को रिसर्च समाचार आयो संविधानमा धर्मनिरपेक्षता घुसाउन सभामुख सुवास नेम्वाङले युरोपियन युनियनबाट १४ करोड पारिश्रमिक लिएको भौचर भेटियो । खर्बौं राष्ट्रिय ढुकुटी स्वाहा भएर संविधानसभाका सांसदहरू मात्र कठपुतली भएका त्यो त देउवा समर्थित ओली सरकारको पालाको ‘कुलिङ पिरियड‘ प्रकरणमा पनि प्रमाणित भएका थिए ।
यसरी ७२ को जारी संविधान पूर्णरुपमा लादिएको र त्यसबाट देश, जनता, प्रणालीका लागि घातक र नासक छ भन्ने प्रमाणित हुँदाहुँदै पनि अहिलेसम्म सुवास नेम्वाङका छोराले बाबुको नाममा चुनाव जित्ने र कृष्ण सिटौलाले प्रत्यक्षतर्फ चुनाव हार्दा पनि राष्ट्रियसभामा तानिनुपर्ने । यहाँनेरी समस्याको मूल जरो हाकाहाकी देशी विदेशी कित्ताकाटको आम जागरण हुर्किन नपाउनु प्रष्ट हुन्छ । आम जागरणमा नवजागरण हुर्किन नपाउँनुको परिणाम नै देश बेच्ने (लिपुलेक, लिपियाधुरा, कालापानी भारतको नक्शाभित्र) मानव तस्करीमा संलग्न अपराधी जमात जत्था (बेचन झा प्रकरणबाट ओली देउवा सरकार) ले राज्यसंस्थामा हालीमुहाली लुटतन्त्र (७५ लाख जनताका सहकारीमा वचत रकम ठगी लुट) मच्चाइरहेका धेरै विवरण सबै छर्लङ्ग भइसकेर यहाँ थप विवरण आवश्यक परेन ।
जब अनसनकारी नन्दप्रसाद अधिकारीको लास दाहसंस्कार सद्गत हुन नसकेको १२ वर्ष पार गर्यो त प्रेत जागेर रातभरी सपनामा १७ हजारभन्दा बढी भूत पिशाचले कपाल लुछेर निद्रा हराउने र दिनभरी विपनामा ३ करोड नेपालीले धारेहात लगाएर सरापीरहने अवस्थामा पुगेका छन् कांग्रेस, एमाले, माओवादी आदि इत्यादि दलहरूका नेतृत्व देउवा, ओली, प्रचण्ड आदि इत्यादिहरू । जब नक्कली भुटानी शरणार्थी मानव तस्करी काण्डको फाइल खुल्यो त महाकाली सन्धी (वि.सं.२०५३)मा लिपुलेक, लिपियाधुरा, कालापानी बेचेदेखिका अर्बौं खर्बौं घोटालाका फाइलहरू पनि धमाधम छताछुल्ल हुन थाले । त्यसबखत देखि नै मैले बोल्दै लेख्दै आएको थिएँ कि ‘जनआक्रोश र विद्रोह सुकेको दाउराको थुप्रोमा मट्टितेल खनाएको जस्तो अवस्थामा पुगेको छ । माओत्सेतुङले भन्नुभएको जस्तो कतैबाट एउटा सलाइको काटी सल्किएर आगो दन्किन थाल्यो भने तिमिहरू देउवा, ओली, प्रचण्ड आदि इत्यादि पाँचतारे महलका छतमा उत्तानो परेर आकाशतिर हातखुट्टा उफारिरहेका मोजमस्ती मुलगेटसम्म आइपुगेर भाग्न पनि भ्याउने छैनौ ।‘ घटनाक्रममा आखिर ठिक त्यस्तै भयो पनि । प्रधानमन्त्री रहेका खड्गप्रसाद ओली ‘सेनाले बचाउन पाँच मिनट ढिलो भएको भए मारिने थिए‘ भन्दै हेलिकोप्टरमा झुण्डिएर हेटौंडा व्यारेक पुगेर बाँचेका, प्रचण्ड आफैँ ‘भारतीय दुतावासमा शरण लिएर बाँचेको‘ भन्दै बौलाएर गाउँ पसेका अहिले रुकुम पुगेर काम जरो शान्त पार्न सिटामलको भर परेका छन् । देउवाको कुरो त गरेर झन् साध्य छैन । पाँच पटक प्रधानमन्त्री भएर गिरिजा लिगेसी कांग्रेसको दुई पटक सभापति भएर देउवा कांग्रेसको सर्वसत्तावाद चलाएका अहिले देउवा कांग्रेसकै एआई उत्तराधिकारहरूले विशेष महाधिवेशन पार्टी क्याप्चर गरेर मुख देखाएर उभिन नसक्ने अवस्थामा पुर्याइदिएका छन् ।
यसरी १२ बुँदे दिल्ली सम्झौताबाट लादिएको ७२ को संविधानका माता पिता नायक, पालनहार बनेका ओली, प्रचण्ड, देउवा ढलेपछि स्वतः प्राकृतिक रुपमै चालु संघिय गणतन्त्र पनि विगत १२ वर्षदेखि सद्गत हुन नपाएको नन्दप्रसाद अधिकारीको लासमा रुपान्तरण हुन पुगेको छ । सुशीला कार्कीको सरकार जीवित छ भन्नु नन्दप्रसाद अधिकारीको लासमा भेन्टिलेसन जोडेको जस्तो मात्र हो । नेपाली मन मष्तिस्क हृदयबाट ७२ को संविधान मरिसकेको छ । मात्र नन्दप्रसाद अधिकारीको लास बोकेर मालामी घाटसम्म पुग्न बाँकी छ । आफ्ना नागरिकको एउटा लास १२ वर्षसम्म सद्गत गर्न नसक्ने राज्यसत्तालाई दुनीयाँमा कसैले पनि जीवित अस्तित्वको ठान्न मान्न मिल्दैन । आफ्नो सन्तानको १२ वर्षसम्म लास कुरेर दिग्दार हैरान हुनुपरेको नेपाल आमाको सकस कष्टबाट द्रवित भएर भोलेबाबा पशुपतिनाथले नन्दप्रसाद अधिकारीको लासमाथि टेकेर ताण्डव नृत्य प्रारम्भ गर्नुभएको छ । सो ताण्डव नृत्यबाट छुटेका अस्त्र (तिर) स्वरुप राजा ज्ञानेन्द्रको झापा दुर्गा प्रसाइँको मञ्चबाट ‘देश बचाउन नेपाली जनता गुहार‘ मार्च प्रारम्भ भएको हो । त्यो मार्च जुम्लासम्म पुगेर २५ फागुन ०८१ पोखराबाट राजधानी आउँदा समर्थन र स्वागतको जुन जनसागर उर्लेको सडकमा आएका देखियो, तथ्यमा त्यसै दिन गणतन्त्रको प्राणान्त भइसकेको हो । त्यस तथ्यलाई ढाकछोप गर्न एकथरी डलर किसान भारु खेतीका प्राडा राजनीतिक विष्लेशकहरूले जनमतसंग्रहको हल्ला फैलाएर गणतन्त्रको लास ढाकछोप गर्ने प्रयास भएको पनि हो । झण्डै दुर्गा प्रसाईं पनि त्यस जनमतसंग्रहको ढाकछोप लास कुराइमा न अलमलिएका ? तर समयका अगाडि कुनै अलमल काम लाग्दैन ।
राजा ज्ञानेन्द्रले २१ फागुनको चुनाव भयो भने इतिहासकै सबैभन्दा दुःखद् दर्दनाक गहिरो संकट दुर्गति निम्तिने जुन चेतावनी दिएका छन् यस अर्थमा आसन्न चुनाव गणतन्त्रको लास बोकेर मलामी पुग्ने घाट हो । र पञ्चायत जानुअघि उदाएकी नानीमैया दाहाल जस्तै उदाएका जति पनि प्रधानमन्त्रीका दावेदार उम्मेदवारहरू छन् । तिनीहरू चाहिँ मलामीले बोकेका लास हुन् । चहल पहल गाना बजाना (थरिथरिका चुनाव प्रचार) लास घाट नपुगुन्जेलसम्म मात्र हो । चीन फ्याक्टरले रुसले साथ दिँदासम्म भारतले नै अमरिकी सेना नेपालमा क्याम्प खडा गर्न दिन्न । जुन काम भारतले विगतमा १९ वर्ष दुई दशकसम्म ‘नेपालको सार्वभौमिकता‘ कुल्चेको नेहरू डक्ट्रिन कोर्स करेक्सन गर्न आफैँ बाध्य छ । नेपाल सिध्याउन खोज्ने आफैँ सिध्दिने पक्का छ ।
प्रस्तुत आलेखको शिर्षकमा ‘राजाको सम्बोधन‘ सन्दर्भ आएको हुनाले त्यसको अन्तर्य तात्पर्य संक्षिप्त रेखांकनका लागि मात्र यति विवरण ल्याएको हुँ । होइन भने यस्ता विवरणहरू आज भोलि त हात हातका मोबाइलमा उपलब्ध हुन्छन् । यस आलेखमा मैंले उठाउन खोजेको मुल विषय चाहिँ राजाको सम्बोधनमा भेटिएका ‘दुइटा त्रुटि‘लाई लिएर हो । राष्ट्रपिता, प्रजातन्त्र पिताको लिगेसी बोकेको राजसंस्थाको उत्तराधिकारले यसखालको ऐतिहासिक तथ्य प्रतिको अज्ञानता प्रगट गर्नु हुन्न भन्ने मान्यताले ‘त्रुटि‘ औल्याउन अग्रसर भएको हुँ ।
(१) पहिलो त्रुटि
राजा ज्ञानेन्द्रको सम्बोधनमा श्री ५ त्रिभूवनलाई ‘राष्ट्रपिता‘ भन्ने परेको छ । ऐतिहासिक तथ्यमा श्री ५ त्रिभूवनलाई ‘प्रजातन्त्रका पिता‘ भन्ने गरिएको छ । ‘राष्ट्रपिता‘ त नेपाल निर्माता श्री ५ बडामहाराज पृथ्वीनारायण शाह हुनुहुन्छ । श्री ५ त्रिभूवनलाई ‘राष्ट्रपिता‘ भन्न थाल्दा त्यस उताको पृथ्वीनारायण शाहको इतिहास मेटिन्छ । जुन पृथ्वीनारायण शाहको सालिक ढाल्नेहरूका लागि चाहेको जस्तो भएको छ । यस्ता गम्भीर त्रुटि हुनबाट राजाको सम्बोधन जोगिनु पर्छ ।
(२) दोश्रो त्रुटि
‘०७ साल फागुन ७ गते ७५ वर्ष अघि प्रजातन्त्रको मिर्मिरे उज्यालो‘ भन्ने जुन भाष्य राजाको सम्बोधनमा परेको छ, त्यो प्रमाणिक रुपमै ऐतिहासिक तथ्य होइन । तथ्य अर्कै छ । तथ्य चाहिँ त्यो प्रजातन्त्र दिवस नभएर ‘भारत तन्त्र दिवस‘ हो । ‘राणाको जेलबाट नेहरू (तत्कालिन भारतीय प्रधानमन्त्री) को जेलमा आइपुगेको छु‘ त्यसवखतको श्री ५ त्रिभूवनको यस कथनबाट पनि त्यो प्रजातन्त्रको मिर्मिरे उज्यालो नभएर भारततन्त्रको कालो बालद थियो भन्ने प्रमाण पुग्छ । अझ अर्को ठूलो प्रमाण भारत (नेहरू)ले बीपीलाई खाल्डोमा जाकेर मात्रिकाप्रसाद कोइराला (बीपीका सौतेला दाजु)लाई प्रधानमन्त्री बनाएर नेपालका १५ पहाडी जिल्लाका १८ ठाउँ (चीनसँग सीमाक्षेत्र)मा भारतीय सैनिक क्याम्प (पोस्ट) किलो गाडेर (नेपाल आमाको छाति) चीनतिर बन्दुक तेस्र्याएर परेड खेलेको पाएर माओत्सेतुङले राजा महेन्द्रलाई भारतको प्रान्ताध्यक्ष सम्बोधन गरेपछि मात्र ०२७ सालमा आइपुगेर ति क्याम्प उखेलिए । यसरी नेपालको सार्वभौमिकता १९ वर्षसम्म भारतको बन्दगी परेको यो तथ्य इतिहासलाई ढाकछोप गरेर ७ फागुन ०७ साललाई प्रजातन्त्रको मिर्मिरे उज्यालो भट्याइरहनु दास मानसिकता (नेहरू डक्ट्रिनको) या कवीलायी चेतना हो ।
भातरले नेपाल आमाका छातिमा गाडेका ती सैनिक क्याम्प उखेल्न सैनिक बलले सम्भव थिएन । ज्यानको बाजी थापेर कुटनितिक चातुर्यता चीनसँग युद्धमा भारत हारेको मौका छोपेर माओत्सेतुङको आडमा राजा महेन्द्र एकै छमेलामा १७ क्याम्प उखेल्न सफल भए । कालापानी त्यतिखेर उखेल्न छुटेको अहिले त भारतको नक्शा भित्र पुगिसकेको छ । ज्यानको बाजी थापेर भनेको त्यसको वर्षदिन पनि पूरा हुन नपाउँदै राजा महेन्द्रको अल्पायुमै हत्या भएको अब त पोख्ता प्रमाणसहित प्रशस्त पाठ्यक्रम उपलब्ध छ ।
यसैकारण हामीलाई प्रजातन्त्रको मिर्मिरे उज्यालो भन्नै परेको छ भने ७ साललाई होइन २७ साललाई भन्नथालौँ भन्ने मेरो प्रस्तावना हो । १९ वर्षसम्म नेपालआमा बन्दगी (मुट्ठीको माखो) परेको यो इतिहास हरेक नेपालीले आमाको गर्भदेखि नै आत्मामा पुग्न महशुस गर्न पाउनु पर्छ भन्ने मात्र पंक्तिकारको अपेक्षा हो । अस्तु ।