काठमाडौं । नेपालमा गुगल वर्कस्पेस अधिकृत प्रत्यक्ष रिसेलर रहेको टेलि डिजिटल सर्भिसेस प्रालिले अनधिकृत गुगल वर्कस्पेस सदस्यतासँग सम्बन्धित खाता निलम्बनका घटनाहरू बढ्दै गएपछि देशभरका संस्थाहरूलाई तत्काल सतर्कता अपनाउन आग्रह गरेको छ ।
गुगलको अधिकृत रिसेलर संरचनाबाहिर सञ्चालन गर्ने विक्रेतामार्फत अनजानेमा सदस्यता खरिद गरेका व्यवसायहरूले अचानक सेवा अवरोध, इमेल तथा साझा ड्राइभमा पहुँच प्रतिबन्ध, र गम्भीर सञ्चालन अवरोधको सामना गरिरहेका छन् । केही अवस्थामा संस्थाभित्र पूर्व जानकारी नै नभई कारबाही प्रक्रिया अघि बढेको देखिएको छ । नेपालका लागि गुगल वर्कस्पेसको आधिकारिक सूचीबद्ध दरप्रति प्रयोगकर्ता प्रतिमहिना अमेरिकी डलर सात हो । प्रतिप्रयोगकर्ताप्रति महिना अमेरिकी डलर सातभन्दा कम मूल्यमा उपलब्ध गराइने सदस्यतालाई गम्भीर चेतावनी संकेतका रूपमा लिनुपर्छ । यस्तो मूल्य निर्धारणले सदस्यता गुगलको स्वीकृत लाइसेन्स तथा वितरण संरचनाअन्तर्गत नहुन सक्ने संकेत गर्ने जनाइएको छ । केही अवस्थामा शिक्षा प्रयोजनका लागि मात्र मान्य ईडीयू योजनाहरू गैरशैक्षिक संस्थाहरूलाई छुट दरमा उपलब्ध गराइएको पाइएको छ ।
गुगल क्लाउडका सेवा सर्तहरूको उल्लंघन भएमा खाता निलम्बन र सम्भावित डाटा गुम्ने जोखिम उत्पन्न हुन सक्नेछ । टेलि डिजिटल सर्भिसेस प्रालिका व्यवसाय तथा मार्केटिङ प्रमुख निखिल खेराडीले नेपालका हरेक संस्थालाई आफ्नो वर्कस्पेस सदस्यता तुरुन्त परीक्षण गर्न दृढ आग्रह गरे । टेलि डिजिटल सर्भिसेसले आफू नेपालमा गुगल वर्कस्पेस सदस्यता बिक्री, स्थापना तथा प्राविधिक सहयोग प्रदान गर्न आधिकारिकरूपमा प्रमाणित संस्था भएकोबताए । कम्पनीले वित्तीय सेवा, शिक्षा, स्वास्थ्य सेवा, खुद्रा व्यापार तथा व्यावसायिक सेवा क्षेत्रका ६० भन्दा बढी ग्राहकहरूलाई सेवा प्रदान गरिसकेको छ, जसमा नियमअनुरूप कार्यान्वयन तथा दीर्घकालीन खाता व्यवस्थापन समावेश छ ।
कम्पनीले हाल प्रतिप्रयोगकर्ता प्रतिमहिना अमेरिकी डलर सातभन्दा कम दरमा गुगल वर्कस्पेस सदस्यता प्रयोग गरिरहेका वा आफ्नो सदस्यताको स्रोतबारे अनिश्चित रहेका संस्थाहरूलाई व्यवसाय निरन्तरता सुरक्षित राख्न ढिलाइ नगरी सत्यापन गर्न सिफारिस गरेको छ ।